site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्रीको राजीनामा होइन, समिति मागेका हौँ : कांग्रेस 

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्रीको राजीनामा नमागेको स्पष्ट पार्दै संसदीय छानबिन समितिमात्रै माग गरेको बताएको छ ।

कांग्रेसका महामन्त्री गगन थापाले एक भिडियो सन्देशमार्फत् आफूहरुले अहिले गृहमन्त्रीको राजीनामा माग नगरेको स्पष्ट पार्दै संसदीय छानबिन चारवटा कारणले आवश्यक रहेको बताएका छन् ।

उनले यसअघि बनेका समितिका बारेमा पनि जानकारी गराउँदै भनेका छन्, “छानबिन समिति बनाउनुपर्ने कुरामा आपत्ति किन छ ? हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौँ, संसदीय छानबिन समिति बनाउन माग गरेका हौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले छानबिन समितिमा कांग्रेस, एमाले, रास्वपालगायत सबै दलका प्रतिनिधि रहने बताउँदै यसमा आपत्ति जनाउन नपर्ने बताएका छन् ।

उनले कांग्रेसले गलत कुरा उठाएको हास्यास्पद तर्क अघि सारिरहेको बताएका छन् ।

“अहिले राजीनामा दिनुपर्दैन, विष्णु पौडेल वा जनार्दन शर्माको छानबिन गरेजस्तो पनि होइन,” उनले भनेका छन्, “मनमा पाप छैन भने डराउनुपर्दैन ।”

अस्तिसम्म राम्रो भनेका सहकारी एकाएक डुबिरहेको बताउँदै भनेका छन्, “एक्कासि डुब्यो भनेर आउँछन् । अर्बौँ डुब्यो भनेर आउँछन् । जुन निकायले अनुसन्धान गर्नुपर्ने हो त्यसले गरेन कि । संसदीय छानबिन समितिले यो सबै हेर्छ ।”

सूर्यदर्शन, सहारा, हाम्रो नयाँ कृषिलगायतमा समस्या देखिएको छ । सञ्चालक भागेको अवस्था रहेको थापाले बताएका छन् ।

“यसमा कुन निकायले अनुसन्धान गरिरहेको छ । जसले कानुन विपरीत काम गरेका छन्,” उनले भनेका छन्, “सहकारीमा डिपोजिट गरेजस्तै गैरकानुनी ढंगले कसले किन र कति लगेको हो ? भन्ने विषयमा अनुसन्धान कसरी भइरहेको छ ? ठगी गर्नेमा राजनीतिक शक्तिशाली जो भए पनि किन अनुसन्धानमा आएन ? यसको बारेमा संसदीय छानबिन समितिले हेर्छ ।”

दर्जनौं सहकारी संस्थामा लाखौं मानिसको डिपोजिट रहेको र उनीहरु अहिले सडकमा आइपुगेको बताउँदै उनीहरुका समस्या पनि समितिले सुन्ने धारणा राखेका छन् ।

“अहिलेको अनुसन्धानबाट मात्रै पैसा फिर्ता हुँदैन । जसरी पनि डिपोजिटरको पैसा फिर्ता गराउनुपर्छ । यसको निर्क्योल निकाल्छ,” उनले भने, “थुप्रै आयोग बनेका छन् । यी अध्ययनलाई पनि सँगै राखेर हेरेर कुन कानुन आवश्यक छ । यसको पनि अध्ययन गर्न आवश्यक छ । जसले दुरुपयोग गरेको छ, त्यो डराउँछ । नगरेको डराउनै पर्दैन । व्यक्ति वा पात्रलाई केन्द्रमा राखेका होइनौँ ।” 
 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०९:०८
प्रतिक्रिया दिनुहोस्