site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इलाम–२ मा मतदाता फकाउँदै उमेदवार, यी चारमा विशेष नजर

इलाम । इलाम क्षेत्र नम्बर–२ मा आउँदो वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका निम्ति हुन लागेको उपनिर्वाचनमा उमेदवारहरूले सक्रियता बढाएका छन् । उमेदवारहरू विभिन्न मुद्दा लिएर मतदाताका घरघरसम्म पुगेका छन् । उपनिर्वाचन नजिकिएसँगै उमेदवार प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

यस निर्वाचन क्षेत्रमा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ उमेदवार चुनावी मैदानमा छन् । उनीहरू विभिन्न आश्वासन बाँड्दै मतदातामाझ पुगिरहेका छन् । उनीहरूले मतदाता तान्न विभिन्न भेला, गोष्ठी, सभा र घरदैलो गरिरहेका छन् ।

भौगोलिक रूपमा विकट भएपनि उमेदवारहरू घरघरमा आइपुगेको देख्दा मतदाता मक्ख छन् । उमेदवार टोलटोलमा आफ्नो घोषणापत्र र प्रतिबद्धतापत्र बाँडिरहेका छन् ।

वि.सं. २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उमेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । गत भदौ २६ गते उनको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

एक मात्र क्षेत्रमा निर्वाचन हुन लागे पनि देशभरका राजनीतिक सरोकारवालाको ध्यान यति बेला इलाम–२ मा खिचिएको छ । यो उपनिर्वाचन पुराना र नयाँ दलहरूको शक्ति परीक्षणको प्रयोगशाला बन्ने भएकाले निकै चासोका साथ हेरिएको छ ।

Global Ime bank

इलाम–२ मा ठूलासाना दल र स्वतन्त्रबाट १९ उमेदवार रहे पनि एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बू र स्वतन्त्र उमेदवार डकेन्द्रसिंह लिम्बू थेगिमको चर्चा चुलिएको छ ।

एमालेका नेम्वाङलाई सत्ता गठबन्धनमा रहेका दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नेपाल परिवार दलको समर्थन छ । राम्रो संगठन र जनाधार भएकाले एमाले निकै बलियो मानिन्छ ।

नेम्वाङ आफू एमालेको मात्र नभई चार दलको साझा उमेदवार भएकाले विजय निश्चित रहेको जिकिर गर्छन् । “म एक्लै चुनाव लडिरहेको छैन, चार दल र साथमा यहाँका जनताको पनि साथ छ,” उनले भने, “मेरो बाबु स्वर्गीय सुवासचन्द्र नेम्वाङको अधुरो कामलाई पूरा गराउनका लागि पनि यहाँका जनताले जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु ।”

उनले गाउँगाउँका मतदातामाझ पुगेर आफ्ना आवश्यकता, समस्या, चाहनालाई आफू र पार्टीले पूरा गर्नुपर्ने जिम्मेवारी कागजमा टिपाइदिन अपिल समेत गर्दै आएका छन् ।

सो क्षेत्रमा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । सो निर्वाचनमा समानुपातिकमा एमालेले २६ हजार ५६२ र माओवादी केन्द्रले पाँच हजार १५३ मत प्राप्त गरेका थिए ।

०७९ को निर्वाचनमा एमाले उमेदवार नेम्वाङसँग ११४ मतको झिनो अन्तरले पराजित कांग्रेस जिल्ला सभापति समेत रहेका खड्का यसपटक जितको खोजीमा छन् । उनी कार्यकर्ता भेटघाट, अन्तरक्रिया र घरदैलोमा व्यस्त छन् ।

“विगत लामो समयदेखि यस क्षेत्रमा एकैजनाले मात्र जित्नुभयो । यस क्षेत्रको विकास गर्न मैले जित्नैपर्छ,” खड्काले भने, “म यहाँको प्रतिनिधि नभए पनि यस क्षेत्रका गरिब, असहाय, वृद्धवृद्धा तथा युवाहरूका लागि थुप्रै राम्रा कामहरू गरेको छु । त्यसैले यहाँका मतदातासँग मेरो पनि गठबन्धन छ । यसपटक यहाँका जनताले चुनाव जिताउनुहुन्छ भन्नेमा म ढुक्क छु ।”

नेम्वाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार ९०० मत प्राप्त गरेका थिए । तर, सो मत कांग्रेस एक्लैको नभएर तत्कालीन गठबन्धन दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समेत थियो । कांग्रेसले त्यति बेला समानुपातिकमा २२ हजार ३३३ मत पाएको थियो ।

यस्तै, पत्रकारिता छाडेर राजनीतिक दलमा आबद्ध भई निर्वाचनमा होमिएका रास्वपाका उमेदवार लिम्बूले पनि चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । आफूलाई इलामको ‘अर्ग्यानिक’ उमेदवारका रूपमा प्रचारप्रचार गर्दै आएका लिम्बू यसपटक चामत्कारिक तरिकाले मत परिवर्तन गरिने जिकिर गर्छन् ।

“अधिकतर मतादाता हाम्रो अभियानमा जोडिरहनुभएको छ,” उनले भने, “यसपटकको उपनिर्वाचनमा इलामेली मतदाताले चमत्कार गर्दै छन् । धेरैलाई विश्वास छैन, तर हाम्रो झन्डा फहरिनेछ ।”

रास्वपाले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट प्रत्यक्षमा एक हजार ३८० र समानुपातिकमा चार हजार ६८६ मत पाएको थियो ।

पहिचानवादी ४१ घटकका उमेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले समेत आफ्नो प्रचारप्रसार तीव्र बनाएका छन् । संघीयतालाई बलियो बनाउँदै पहिचान, समान अधिकार, शान्ति र दिगो विकासको एजेन्डा लिएर थेगिम मतदातामाझ पुगिरहेका छन् ।

“पहिचान पक्षधर उमेदवार पनि भएकाले यसपटक मतदाताहरू उत्साही भएको पाइएको छ,” उनले भने, “विगतमा पहिचान पक्षधरलाई दलहरूले धोका दिएका छन्, यसपटक आफ्नै उमेदवार भएपछि उहाँहरू खुसी हुनुहुन्छ ।”

मुढा चुनाव चिह्न पाएका उनलाई सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा)सहित पहिचानवादी दलहरू राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा किरात याक्थुङ चम्लुङ, किरात राई यायोख्खालगायत सामाजिक संघसंस्था र किरात धर्मगुरु आत्मानन्द लिङदेनको समेत समर्थन छ ।

बलिया मानिएका यी चारै उमेदवार एकार्कालाई रोकेर आफू प्रतिनिधिसभामा प्रवेश गर्ने रणनीतिमा छन् । यीबाहेक सो क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मीनबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली समेत चुनावी प्रचारमा लागेका छन् ।

यस्तै, स्वतन्त्र उमेदवारहरू डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल र उनीहरूको टोली अहिले मत माग्दै गाउँगाउँमा पुगिरहेका छन् ।

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पूरै र इलाम नगरपालिका (१० नम्बर वडाबाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा गरी ४२ वडा समेटिएका छन् ।

निर्वाचन आयोगले उमेदवारहरूलाई गत चैत २८ देखि वैशाख १२ गते सम्मका निम्ति चुनावी प्रचारप्रसारको अवधि तोकिदिएको छ । यस क्षेत्रमा एक लाख १५ हजार ३४२ मतदाता छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  २०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu