गजल — १
नमेटिने रै’छ आखिर रहर हजुर
कहाँ होला दिल बिसाउने सहर हजुर !
आँदै छोपी डुलिरहन्छन् अतीतका यादहरू
याद हो कि, मन्दमन्द जहर हजुर !
छुटे कति जिन्दगीका तितामिठा पलहरू
भेटूँ क्यारी ती छुटेका प्रहर हजुर !
आफ्नाले नै छातीमा लात हानी गएपछि
लाग्दो रै’छ बिरानो आफ्नै घर हजुर !
आफ्नै मनले यो प्यासीको भर काटिगयो
साँच्चै कसको मान्नु र खै, भर हजुर !
कहाँ होला दिल बिसाउने सहर हजुर
नमेटिने रै’छ आखिर रहर हजुर !
गजल – २
आमा छोरो पठाउँछिन् ऊ बाकस पठाउँछ
विधाताले पनि किन मेरै देश सताउँछ !
चुँडिँदै जोड्दै गरेको एकजोर चप्पल छ साथमा
जीप नलाग्ने झोलाबाट उसको गरिबी चियाउँछ
किन सक्दैन कोही स्वदेशमै केही गर्न ?
दोष एकापसमा लाउँछ र पो दिमाग तताउँछ
सहास जुटाऊ, धैर्य बन हामी सँगै छौँ साथी
कमिलाले पनि एक दिन पहाड उठाउँछ
यस्तो होस् अबको साल शुभकामना सबैलाई
आमा सामान पठाउँछिन् ऊ पैसा पठाउँछ
आमा छोरो पठाउँछिन् ऊ बाकस पठाउँछ
विधाताले पनि किन मेरै देश सताउँछ !
(चन्द्रागिरि–३, थानकोट)