site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१० वर्षपछि विश्वकपमा छनोट, पहिलोपटक भारत–पाकिस्तानसँग खेल्ने अवसर 
SkywellSkywell

काठमाडौं । वर्ष २०८० मा नेपाली खेलकुदमा सबैभन्दा सफल खेलमध्येको एक बन्यो, क्रिकेट ।  गएको वर्ष नेपाली क्रिकेटले कीर्तिमानी प्रदर्शनसहित विश्वका क्रिकेट हस्ती राष्ट्रसामु चुनौती प्रस्तुत गर्ने अवसरसमेत पायो । 

यही वर्ष नेपालले एक दशक लामो पर्खाइलाई पूर्णविराम लगाउँदै ट्वान्टी–२० विश्वकपमा छनोट भयो । पहिलो पटक एसिया कपमा भारत र पाकिस्तानजस्ता विश्वकप विजेताको प्रतिद्वन्दी बन्यो । 

यही वर्ष नेपाल क्रिकेट संघ (क्यान) कार्यसमितिको नयाँ निर्वाचनबाट पूर्वकप्तान पारस खड्का सचिवमा निर्वाचित भए ।

KFC Island Ad
NIC Asia

यस्तो रह्यो क्रिकेटको एक वर्ष 

एसीसी प्रिमियर कप च्याम्पियन (नेपाल)

Royal Enfield Island Ad

acc-primier-cup-senior-team-1712894938.jpg
 

नेपालले वैशाख ५ गतेदेखि १९ गतेसम्म घरेलु मैदानमा आयोजित एसीसी प्रिमियर कप खेल्यो । 

कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा भएको प्रतियोगितामा नेपालसहित कूल १० टोलीको सहभागिता थियो । विजेता टिम एसिया कप छनोट हुने प्रावधानसहित सुरु भएको यस प्रतियोगिताको उपाधिसहित नेपालले एसिया कपमा स्थान बनायो । 

नेपालले फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराउँदै एसिया कप यात्रा तय गरेको थियो ।  प्रतियोगितामा नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले र दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । 

साउदी अरेबियाविरुद्धको तेस्रो खेल वर्षाका कारण रद्द हुँदा नेपालले समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले हराएको थियो । 

समूह ‘ए’ विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपालले कुवेतको चुनौती पन्छाउँदै फाइनलमा स्थान बनाएको थियो ।

एकदिवसीय विश्वकप छनोट (जिम्बाब्वे)

odi-world-cup-qualifiers-1712894965.jpg
 

जिम्बाब्वेमा असार ३ गतेदेखि २४ गतेसम्म आयोजना भएको आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले कुल ६ खेल खेल्यो । 

प्रतियोगिताको दुई खेलमा मात्र जित निकाले पनि नेपालले यहाँ जिम्बाब्वे, वेस्ट इन्डिज र आयरल्यान्ड गरी तीन टेस्ट राष्ट्रसँग खेल्ने अवसर पाएको थियो । प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । 

दोस्रो खेलमा अमेरिकाविरुद्ध ६ विकेटको जित दर्ता गरेको नेपालले तेस्रो र चौथो खेलमा भने वेस्ट इन्डिज र नेदरल्यान्ड्ससँग क्रमशः १०१ र सात विकेटको पराजय बेहोरेको थियो । यस्तै, नेपालले सातौँ स्थान प्लेअफको सेमिफाइनलमा यूएईलाई तीन विकेटले हराए पनि फाइनल आयरल्यान्डसँग दुई विकेटले पराजित हुँदा समग्रमा आठौँ स्थान पाएको थियो ।

घरमै ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिता आयोजना र विश्वकपमा छनोट 

t-20-world-cup-1712894990.jpg
 

घरेलु मैदानमै सम्पन्न ट्वान्टी–२० विश्वकप छनोटबाट १० वर्षपछि विश्वकपको यात्रा तय गर्नु नेपाली क्रिकेटले गत वर्ष पाएको सबैभन्दा ठूलो उपलब्धिमध्येको एक बन्यो । यस प्रतियोगितामा नेपालसँगै कुल आठ टिमको सहभागिता थियो । 

समूह ‘ए’ मा रहेको नेपालले फाइनलसम्मको यात्रा तय गरेपछि प्रतियोगिताबाट दुई टिम छनोट हुने प्रावधानअनुरुप घरेलु टिम र ओमानले विश्वकपको यात्रा तय गरेका हुन् । 

समूह चरणको खेलमा नेपालले सिंगापुरविरुद्ध आठ विकेटको जित निकालेको थियो ।  दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकाल्दा र तेस्रो खेलमा भने नेपालले ओमानसँग पाँच रनको हार बेहोरेको थियो । 

समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपालले त्यहाँ यूएईविरुद्ध आठ विकेटको जितसहित फाइनल यात्रा तय गरेको थियो । 

फाइनलमा सुपर ओभरमा ओमानसँगै पराजित भए पनि उपविजेताको रुपमा नेपालले विश्वकपमा स्थान बनाएको हो ।  विश्वकपको मञ्चमा दोस्रो पटक उक्लिएको नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलेको थियो । 

बंगलादेशमा भएको विश्वकपको उक्त संस्करणमा नेपालले समूह चरणका तीनमध्ये दुई खेलमा जित निकालेको थियो ।

यू–१९ प्रिमियर कप च्याम्पियन 

u-19-acc-primier-cup-1712895012.jpg
 

मलेसियामा भएको एसीसी यू–१९ प्रिमियर कपको उपाधि जितेपछि नेपाली युवा टिमले पनि गत वर्ष एसिया कपमा प्रतिस्पर्धा गर्यो । 

फाइनलमा यूएईविरुद्ध १९ रनको जितपछि नेपालले युवा एसिया कपमा स्थान बनाएको थियो । मलेसियाको बायुमस ओभलमा भएको फाइनलमा नेपालले कप्तान देव खनालको शतकमा २८० रन बनाएपछि यूएईले २८१ रनको विशाल लक्ष्य पाएको थियो । तर, वर्षाका कारण यूएईले २७ ओभरमा १९८ रन बनाउनुपर्ने नयाँ लक्ष्य पाएको थियो । 

दोस्रो इनिङमा यूएईले २६.५ ओभरमा सबै विकेट गुमाएर १७८ रनमात्र बनाएपछि नेपालले युवा एसिया कपमा स्थान निश्चित गरेको थियो ।  त्यसअघि समूह ‘ए’ मा रहेको नेपालले अपराजित रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो । 

अन्तिम चारको खेलमा भने नेपालले जापानविरुद्ध डीएलएस पद्दतिमा १४३ रनको फराकिलो जित निकालेको थियो ।  यस प्रतियोगिताबाट नेपालसँगै उपविजेता यूएई र तेस्रो भएको जापानले एसिया कपमा स्थान बनाएका थिए ।

यू–१९ एसिया कप 

asian-cup-1712895032.jpg
 

प्रिमियर कपको उपाधिसहित एसिया कपमा छनोट भएको नेपाली युवा टिमले एसियाका टेस्ट राष्ट्रविरुद्ध भने उल्लेखनीय प्रदर्शन देखाउन सकेन । 

पाकिस्तानमा हुने तालिका रहे पनि पछि यूएईमा सरेको प्रतियोगितामा नेपाल भारत र पाकिस्तानसँगै समूह ‘ए’ मा थियो ।  प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग नेपाल सात विकेटले पराजित भएको थियो । 

दोस्रो खेलमा अफगानिस्तानविरुद्ध ७३ रनको हार बेहोरेको नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग १० विकेटको फराकिलो हार बेहोरेको थियो ।

यू–१९ विश्वकप 

u-19-world-cup-1712895051.jpg
 

नेपाली यूवा टिमले वर्ष २०८० मा आठ वर्षपछि यू–१९ क्रिकेट विश्वकपमा चुनौती प्रस्तुत गर्‍यो । 

विश्वकप छनोटको फाइनलमा यूएईविरुद्ध सात रनको नाटकीय जित निकालेपछि नेपाल सन् २०१६ पछि युवा विश्वकपको मञ्चमा उक्लिएको थियो ।  उक्त फाइनलमा यूएईलाई जितका लागि ११ रन आवश्यक हुँदा नेपालका दीपेश कंडेलले ह्याट्रिक लिँदै नेपाललाई सनसनीपूर्ण जित दिलाएका थिए । 

दक्षिण अफ्रिकामा भएको विश्वकपमा नेपालले सुपर सिक्ससम्मको यात्रा तय गर्‍यो ।  प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपालले तीन खेलमध्ये एक खेलमा जित निकाल्दै सुपर सिक्सको यात्रा तय गरेको थियो । 

पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा भने अफगानिस्तानलाई एक विकेटले हराएको थियो । 

तर, सुपर सिक्समा भने नेपालले कुनै पनि खेलमा जित निकाल्न सकेन ।  सुपर सिक्समा भने नेपाल बंगलादेशसँग पाँच विकेटले र दोस्रो खेलमा भारतविरुद्ध १३२ रनले पराजित भएको थियो ।

महिला टिम एसिया कपमा छनोट 

women-asia-cup-1712895128.jpg
 

महिला क्रिकेटले पनि यस वर्ष केही उल्लेखनीय सफलता हात पारे ।  त्यही सफलतामध्यको एक हो, एसिया कपमा छनोट ।  एसीसीले मलेसियामा माघ २७ गतेदेखि फागुन ६ गतेसम्म भएको एसीसी वुमन्स प्रिमियर कपको फाइनल पुग्ने दुई टोली एसिया कपमा छनोट हुने प्रवाधान राखेको थियो । 

प्रतियोगितामा सेमिफाइनलमा घरेलु टिमसँग पराजित भएपछि नेपालले एसिया कपमा छनोट हुने अवसर गुमाएको थियो ।  उक्त प्रतियोगिताको फाइनलमा प्रवेश गरेका मलेसिया र युनाइटेड अरब इमिरेट्स (यूएई) ले सोझै एसिया कपमा स्थान बनाएका थिए । 

तर, चैत १३ गते एसीसीले एसिया कपमा प्रतिस्पर्धा गर्ने टिमको संख्या आठ पुर्‍याएपछि प्रिमियर कपको सेमिफाइनल पुगेका नेपाल र थाइल्यान्ड एसिया कपमा भएका हुन् । 

प्रिमियर कपको सेमिफाइनलमा नेपाललाई मलेसियाले हराउँदा यूएईले थाइल्यान्डलाई हराएको थियो ।  महिला एसिया कपको नवौँ संस्करण श्रीलंकामा हुने तय भएको छ ।  प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र यूएई समूह ‘ए’ मा छन् । यस्तै, समूह ‘बी’ मा मलेसिया, बंगलादेश, श्रीलंका र थाइल्यान्ड छन् । 

महिला प्रिमियर कपमा नेपालले माल्दिभ्सविरुद्ध नेपालले कीर्तिमानी जित निकालेको थियो ।  मलेसियाको बांगीमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२७ रन बनाएको थियो । 

जवाफी ब्याटिङका क्रममा माल्दिभ्स १३ रनमै समेटिएपछि नेपालले २१४ रनको कीर्तिमानी जित निकालेको थियो ।  अन्तर्राष्ट्रिय ट्वान्टी–२० महिला क्रिकेटमा यो नै सबैभन्दा फराकिलो रनअन्तरको जित हो ।

यस्तै, नेपाली महिला टिमले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर पनि यही हो ।  नेपालले सन् २०२१ मा कतारविरुद्ध बनाएको १६४ रनको योगफलको कीर्तिमान तोडेको थियो । 

एसियन गेम्समा कीर्तिमान 

asian-cup-1712895160.jpg
 

चीनको हाङझाउ सहरमा सम्पन्न एसियाली खेलकुदको क्रिकेटतर्फ नेपाली राष्ट्रिय क्रिकेट टिमले कीर्तिमानी प्रदर्शनसहित क्वार्टरफाइनलसम्मको यात्रा तय ग¥यो । 

ट्वान्टी–२० संरचनामा भएको प्रतियोगितामा नेपालले पहिलो खेलमै मंगोलियाविरुद्ध ३१४ रनको योगफल बनाउँदै अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनायो । 

नेपालले मंगोलियाविरुद्ध बनाएको यो स्कोर ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मको सबैभन्दा ठूलो योगफल हो ।  यस खेलमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नौ बलमा अर्धशतक बनाउँदै अर्को कीर्तिमान बनाए । 

दीपेन्द्र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने क्रिकेटर बने ।  यस्तै, यही खेलमा नेपालका कुशल मल्ल ३४ बलमा शतकसहित सबैभन्दा छिटो शतक बनाउने क्रिकेटर बनेका थिए । 

तर, पछि नामिबियाका लोफ्टी इटोनले नेपालविरुद्ध ३३ बलमा शतक बनाउँदै कुशलको यो कीर्तिमान तोडे ।

एसियाली खेलकुदमा नेपालले मंगोलियाविरुद्ध २७३ रनको अर्को कीर्तिमानी जित निकाल्यो । ट्वान्टी–२० क्रिकेटमा यो नै अहिलेसम्मको सबैभन्दा फराकिलो (रनआधारमा) जित हो ।

क्यानको कार्यसमितिमा पारस खड्काको आगमन 

Paras-Khadka-1695475838-1712895182.jpg
 

असोज ६ गते काठमाडौंको एभरेष्ट होटलमा भएको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय निर्वाचनबाट नेपाली क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका पारस खड्का सचिव पदमा निर्वाचित भए । 

पारस काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य हुँदै केन्द्रिय सचिवमा निर्वाचित भएका हुन् ।  यस निर्वाचनबाट अध्यक्षमा चतुरबहादुर चन्दले निरन्तरता पाँउदा उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र सचिवमा पारस निर्वाचित भएका थिए ।

विवाद र नयाँ अध्याय 

सचिवमा पदमा निर्वाचित भएको केही समयपछि नै पारस विवादमा तानिए ।  पारसले क्यानको जनरल म्यानेजरमा निजी स्वार्थमा आफू आवद्ध पूर्व संस्थाका व्यक्ति नियुक्त गरेको भन्दै जीएमका आवेदकको एक समूहले असन्तुष्ट जनाए । 

आवेदकको उक्त समूहले क्यानलाई निर्णय नसच्याए अदालतमा रिट दायर गर्ने ७२ घण्टे अल्टिमेटम समेत दिएका थिए ।  तर, हालसम्म सर्वोच्चमा पारस र क्यानविरुद्ध जीएम नियुक्तका बारेमा रिट भने परेको छैन । 

क्यानले गएको वर्ष इतिहासमै पहिलो पटक वार्षिक क्यालेन्डरसमेत सार्वजनिक गर्दै नेपाली क्रिकेटमा नयाँ अध्यायको सुरुआत गरेको थियो ।

पहिलो पटक ‘ए’ टिम, पहिलो शृंखला क्यानडा–११ विरुद्ध

nepal-a-1712895217.jpg
 

गएको वर्ष नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक नेपाल ‘ए’ टिमको घोषणा भयो । विनोद भण्डारीको कप्तानीमा घोषित नेपाल ‘ए’ ले पहिलो पटक क्यानडा–११ विरुद्ध तीन खेलको ऐतिहासिक क्रिकेट शृंखला समेत खेल्यो ।क्यानाडा–११ विरुद्धको उक्त शृंखला नेपालले २–१ ले गुमाएको थियो । 

अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो चार दशकदेखि प्रतिस्पर्धा गरिरहेको नेपालले त्यसअघि ‘ए’ टिम बनाएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro