site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पर्यटक आगमनले उत्साह र आशा थपेको वर्ष

काठमाडौं । भूकम्प र कोरोना महामारी र आर्थिक मन्दीका मारमा परेको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किने क्रममा छ । वर्ष–२०८० पर्यटक आगमनको हिसाबले आश लाग्दो वर्ष रह्यो ।

कोरोना महामारी त नेपालमात्र नभएर विश्वमै पर्यटन ठप्प बन्न पुग्यो । बिस्तारै महामारी अन्त्यसँगै पर्यटन क्षेत्र पुरानै लयमा फर्किँदै छ । कोरोना प्रवेश हुुनु अघिल्लो वर्ष नेपालमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका थिए ।

कोरोनापछिको बितेको वर्ष सबैभन्दा धेरै पर्यटक नेपालमा भित्रिए । अध्यागमन विभागको सहकार्यमा नेपाल पर्यटन बोर्डद्वारा सार्वजनिक तथ्यांकले पनि पुष्टि गर्छ । 

बितेको वर्षको फागुनसम्म करिब १० लाख पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् ।  जबकि गएको वर्ष २०७९ सालमा ७ लाख पाँच हजार पर्यटक नेपाल आएका थिए ।  तर, सडकमार्गबाट कति पर्यटक भित्रिए भन्ने एकीकृत तथ्यांक हाम्रा निकायसँग छैन ।

तर, पर्यटन व्यवसायीहरू खर्चालु पर्यटक भने भित्र्याउन नसकेको गुनासो गर्छन् । अर्कातिर सरकारले निजी क्षेत्रको आत्मविश्वास बढाउन सकेको छैन । 

Global Ime bank

कुन महिनामा कति पर्यटक भित्रिए ?

पर्यटन बोर्डको तथ्यांकअनुसार, २०८० को वैशाख, जेठ, असारमा दुई लाख २८ हजार २०३, साउनमा ६६ हजार २५५ भदौमा ७३ हजार ९४२ पर्यटक नेपाल भित्रिए । यस्तै, असोजमा एक लाख आठ हजार ४०, कात्तिकमा एक लाख १३ हजार १५२, मंसिरमा एक लख ५८४, पुसमा ८० हजार १३५, माघमा ८२ हजार १९२, फागुनमा एक लाख ११ हजार २२० पर्यटक नेपाल भित्रिएका छन् ।

संख्यात्मक हिसाबले पर्यटक आगमन बढेपनि गुणस्तरीय पर्यटक भित्रिन नसकेको व्यवसायीहरूको बताउँदै आएका छन् । गणस्तरीय पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्र सहकार्य र समन्वय आवश्यक रहेको पर्यटन व्यवसायी बसन्त मिश्र बताउँछन् ।

“सन् २०११ मा राखेको १० पर्यटक २०२४ मा पुग्दा हामी खुसी हुने कि नहुने ?,” मिश्र प्रश्न गर्छन्, “त्यो अर्काे कुरा पनि छ ।”

हामीकहाँ ३० लाख पर्यटकलाई सेवा सुविधा दिन सक्ने क्षमता छ । १० लाख पर्यटक भित्र्याएर लगानी सुरक्षित गर्न सकिन्छ ? यस विषयमा सबैले सोच्न जरुर रहेको उनको भनाई छ ।

“तर पनि गएको वर्षहरूमा भन्दा यो वर्षमा धेरै राम्रो भयो । थप काम गर्नुपर्छ, तर यतिकैमा चित्त बुझाउनु हुन्न” उनले भने । 

शिथिल पर्यटन बोर्ड

पुरानो उखान छ, 'बोल्नेको पीठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन ।' 

विश्व बजारमा नेपाली पर्यटनको प्रचार–प्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको पर्यटन बोर्ड यसपालि शिथिल जस्तै बनेको छ । पर्यटन बोर्डभित्रका आन्तरिक राजनीतिक किँचलोको कारण चामल पनि बिकाउन नसक्ने अवस्थमा पर्यटन बोर्ड पुगेको एक व्यवसायी बताउँछन् । 

ती व्यवसायी भन्छन्, “जुन उद्देश्यका लागि बोर्ड स्थापना भएको हो, त्यही मर्मअनुरुप काम भने हुन सकेन ।”

यतिबेला बोर्ड दुई महिनादेखि बोर्ड प्रमुख कार्यकारी अधिकृतबिहीन बनेको छ । त्यतिमात्र होइन, बजेट कार्यविधि स्वीकृत नहुँदा अन्तर्राष्ट्रिय क्षेत्रमा हुने पर्यटन प्रवद्र्धन र प्रचार–प्रसारका काम ठप्प छ । नेपालले लामो समयदेखि सहभागिता जनाउँदै आएको अन्तर्राष्ट्रियस्तरका कार्यक्रममा सहभागिता जनाउन सकेको छैन ।

बोर्ड राजनीतिक अखडा जस्तै बनेको छ । कर्मचारीले पनि दायित्व पूरा गर्न नसकेको जिकिर पूर्वप्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी गर्छन् । उनको जिकिरमा, ‘‘कर्मचारीमा विदेश घुम्ने र भत्ता खाने प्रवृत्ति मात्र हाबी छ ।’’

विगतका कमजोरीबाट पाठ सिकेर अबका दिनमा अघि बढ्नुपर्ने व्यवसायी मिश्र बताउँछन् । उनी भन्छन्, “अब गएको वर्षलाई सम्झेर पछुताउनुभन्दा पनि पाठ सिकेर आउने वर्षमा आक्रामक रुपमा मार्केटिङ प्लान बनाउँदै अघि बढ्नुपर्छ ।”

यस्तै, होटेल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाह पर्यटक आगमन लयमा फर्किए पनि होटेलको कुल क्षमताको एक तिहाइमात्र उपयोग भइरहेको बताउँछन् । उनी भन्छन्, ‘‘पर्यटन आगमन बढ्न त बढ्यो । तर, होटेल क्षेत्रमा लगानी अनुसार बढ्न सकेन । जसले गर्दा सञ्चालन खर्च उठाउनसमेत मुस्किल छ ।’’

तर, पर्यटकको संख्या बढेसँगै खुसी थपेको भए पनि आर्थिक हिसाबमा भने सन्तुष्ट हुने अवस्था नभएको जिकिर उनको छ । उनी भन्छन्, “पर्यटकको संख्या बढ्यो । यसमा खुसी हुनुपर्छ । तर, होटेलमा भएको लगानी अनुसार पर्यटक आगमन हुन सकिरहेको छैन । अब, सरकारले पर्यटक कसरी भित्र्याउने भन्नेमा ध्यान दिनुपर्छ ।”

नयाँ गन्तव्य खोज्दैन सरकार

वर्ष २०८० मा सरकारको ध्यान नयाँ पर्यटकीय गन्तव्य पहिचानमा देखिँदैन । नेपाल घुम्न आउने पर्यटकका लागि गन्तव्य सीमित छ । ती हुन्, पोखरा, चितवन, लुम्बिनी मनाङ, मुस्ताङ, पशुपति आदि गन्तव्यमा विदेशीको रोजाइमा पर्छ ।

त्यसबाहेक पूर्वदेखि पश्चिममा समेत सुन्दर गन्तव्य छन् । तर, सरकारले नयाँ गन्तव्यको पहिचान र प्रचार–प्रसार गर्न नसक्दा ओझेलमा परेका छन् । 

सरकारले सन् २०२३ देखि २०३२ लाई भ्रमण दशक मनाउने भनी घोषणा गरेको थियो । तर, पहिलो वर्ष बितिसक्दा पनि कुनै कार्यविधि बनेको छैन । यस्तै, स्न २०२५ लाई भ्रमण वर्षको रुपमा मनाउने तयारी गरेको छ । 

नेपाल एसोसिएसन अफ र्‍याफिट्ङ एजेन्सिज् (नारा)का अध्यक्ष शिव अधिकारी भन्छन्, “सरकारले भ्रमण दशक र भ्रमण वर्ष घोषणा त गर्यो, तर अझै कार्यान्वयन गरिएन ।’’

र्‍याफ्टिङ घट्दै गएको र राज्यले र्‍याफ्टिङ व्यवसायमाथि सहयोग नगरेको गुनासो उनको छ ।
 
जति सक्यो, त्यति धेरै पर्यटक ल्याउन ‘कनेक्टिभिटी’मा जोड दिन जरुरी देखिन्छ । तर, अझै युरोपेली मुलुकमा नेपालको उड्डयन क्षेत्रलाई कालोसूचीमा राखेको छ । जसले गर्दा युरोपेली मुलुकमा नेपालको सिधा हवाई उडान छैन । कालोसूचीबाट हटाउन सकेमा नेपाली पर्यटन क्षेत्रमा थप सहयोग पुग्ने व्यवसायीहरूको भनाई छ ।

यसैगरी सडक पूर्वाधारले गर्दा पर्यटकलाई मात्र नभएर सर्वसाधारण समेत मारमा परेका छन् । सडक पूर्वाधारमा निर्माण गर्दा होस् वा स्तरउन्नति गर्दा किन न होस् ? समयमा काम हुँदैनन्, त्यसले पनि पर्यटन क्षेत्रलाई मार पारेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu