
काठमाडौं । दोस्रो राष्ट्रिय नाटक महोत्सवमा आयोजक अक्षरा स्कुल, काष्ठमण्डप विद्यालय र क्रिएटीभ एकेडेमी स्कुलले नाटक प्रस्तुत गरेका छन् । अक्षरा स्कुलकै आयोजना र लालाबालाको सहकार्यमा भइरहेको नाटक महोत्सवको दोस्रो दिन मंगलबार (भदौ ३) अक्षरा स्कुलले टंक चौलागाईं निर्देशित ‘मोक्षको मार्ग’, काष्ठमण्डप विद्यालयले चन्दा खनालको ‘द इन्टरनेट इज अ डिष्ट्रिक(ओ लुक, अ किटेन १’ र क्रिएटीभ एकेडेमी स्कुलले निर्मल साउदको ‘सपनासँगको शून्यता’ नाटक प्रस्तुत गरेका हुन् ।
काठमाडौंको पिंगलास्थानस्थित ‘स्टुडियो थिएटर’मा भइरहेको महोत्सव भदौ ६ गतेसम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवमा ‘थिएटर इन एजुकेसन कार्यक्रम’अन्तर्गत नाट्य विधा अध्ययन गराउने देशभरका गरी विभिन्न १७ वटा स्कुलका १७ वटा नाटकसहित विद्यार्थीहरू सहभागी भइरहेका छन् ।
महोत्सवको पहिलो दिन सोमबार रामबाबु रेग्मीको लेखन तथा निर्देशनमा भ्याली भ्यु स्कुलका विद्यार्थीले ‘इच्छा भर्सेस समय’ नाटक प्रस्तुत गरेका थिए । ग्ल्याडस्टोन एकेडेमीको ‘गीता’ र आकाशगंगा इन्टरनेसनल एकेडेमीको ‘बैमानी काल’ नाटक पनि मञ्चन गरिएको छ ।
आयोजक अक्षरा स्कुलकी संस्थापक निर्देशक अन्जु भट्टराईले यस्ता राष्ट्रियस्तरका कार्यक्रमले विद्यार्थीमा थप हौसला प्रदान गर्ने बताइन् । "महोत्सवमा प्रस्तुत नाटकहरू केवल मनोरञ्जनका लागि मात्र नभएर सामाजिक जीवनका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा विद्यार्थीलाई सोच्न प्रेरित गर्ने उद्देश्यले तयार गरिएको हो । विद्यार्थीहरूले अभिनयमार्फत समाजका गहिरा सवालहरू उठाउन सकून् भन्ने हाम्रो चाहना हो," उनले भनिन्, "नाटकहरूका माध्यमबाट विद्यार्थीलाई सिप सिकाइका साथै सही र गलत छुट्ट्याउँदै जीवनका विकल्पहरूबारे चिन्तनमनन गर्न उन्मुख गराउँछ ।"
उनले विद्यार्थीलाई सीपमूलक र संस्कारयुक्त शिक्षाका साथै अभिनयात्मक प्रस्तुतिका लागि थिएटरलाई समावेश गरेर विद्यार्थीहरूलाई अभिनय कला सिकारहेको समेत जानकारी दिइन् ।
विद्यार्थीमा नाट्यकला र शिक्षाको संयोजनमार्फत् आत्मविश्वास, सिर्जनशीलता, संवादकला र सामूहिक काम गर्ने क्षमता विकास होस् भन्ने उद्देश्यले दोस्रो अन्तर्राष्ट्रिय महोत्सवको आयोजना आफूले गरेको निर्देशक भट्टराईको भनाइ छ । उनले साहित्य, संगीत र कला शिक्षाको अविभाज्य अंग भएकाले सिकाइका क्षेत्रमा साहित्य, संगीत र कला झल्काउने प्रतियोगितात्मक कार्यमा विद्यालयहरूबीच सहकार्य आवश्यक रहेको बताइन् ।
आयोजकका अनुसार भदौ ४ गते बुधबार रोजबड स्कुलले शिवराम अर्यालको ‘परदेशको स्कुल’, कान्जिरोवा राष्ट्रिय माध्यमिक विद्यालयले प्रतीक दुलाल निर्देशित ‘दुःखी राजकुमारी’ र द जोय हाउस कलेक्टिव स्कुलले बंसरी पाण्डेको ‘द जोय माछाको रंगीन सपना’ नाटक प्रस्तुत गर्ने भएका छन् ।
त्यस्तै, भदौ ५ गते ग्लोबल पब्लिक स्कुलको मञ्जु गिरी निर्देशित ‘द टेल अफ इन्द्रजात्रा’, निस्ट स्कुलको पुष्पराज अवस्थीद्वारा निर्देशित ‘पार्वती’ र हिमालयन ह्वाइट हाउस स्कुलले ‘द ग्रिक म्याथोलेजी ओलम्पिगांजा’ र टाइम्स इलिमेन्ट्रि स्कुलको प्रतीक दुलालद्वारा लिखित तथा सुरज तमूद्वारा निर्देशित ‘दुःखी राजकुमारी’ मञ्चन हुनेछन् ।
भदौ ६ गते लिटिल एन्जल्स स्कुलले दीपा बस्नेत निर्देशित ‘भिरमा फुलेका फूल’, पवन प्रकृति स्कुलले प्रकाश दाहालको ‘पिता...??’, पिक प्वाइन्ट एडुकेसन नेटवर्कले राम केसी निर्देशित ‘यशस्वी भवः’ र काठमाडौं प्रज्ञा कुञ्ज स्कुलले टंक चौलागाईंको ‘समीर नाचेको दिन’ नाटक प्रस्तुत गर्नेछन् ।