काठमाडौं । वर्ष २०८० मा नेपाली सिनेमाघरमा जम्मा १३९ चलचित्र रिलिज गरिए । नेपाली र विदेशी भाषाका गरी यो वर्ष १३९ सिनेमा रिलिज गरिएको चलचित्र विकास बोर्डले जनाएको छ । बोर्डको तथ्यांकानुसार यीमध्ये नेपाली चलचित्रको संख्या ५१ छ । ८८ विदेशी भाषाका चलचित्र रिलिज गरिए ।
चलचित्र ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ चैत ३० गतेबाट रिलिज हुँदै छन् । यी चलचित्र ०८० मा रिलिजको गणनामा परे पनि बक्सअफिस रिपोर्ट अर्को वर्ष आउनेछ । यी दुईलाई जोड्दा यो वर्ष रिलिज हुने नेपाली चलचित्रको संख्या ५३ पुग्छ ।
५१ नेपाली सिनेमा रिलिज हुँदा अधिकांशले लगानी उठाउन सकेनन् । केही चलचित्र राम्रै नाफामा गए, तर यो संख्या निकै सानो रह्यो । केहीले मुस्किलले लगानी मात्र उठाए, यो संख्या पनि निकै न्यून रह्यो ।
चलचित्र ‘जारी’, ‘परदेशी–२’, ‘पशुपतिप्रसाद–२ : भष्मे डन’, ‘महाजात्रा’ले राम्रै नाफा कमाए । यीबाहेक ‘बगान’, ‘नांगो गाउँ’, ‘दिमाग खराब’ले मुस्किलले लगानी उठाए । बाँकी चलचित्र बक्सअफिसमा असफल रहे ।
यो वर्ष नेपाली चलचित्र उद्योगमा ५३ सिनेमा रिलिज हुँदा एउटामा औसतमा दुई करोड रुपैयाँलाई आधार मान्दा एक अर्बभन्दा धेरै लगानी भयो । तर, लगानी उठाउने चलचित्र एक दर्जन पनि नहुँदा धेरै रकम खेर गयो ।
यो वर्ष ‘जारी’ सर्वाधिक कमाउने चलचित्रको सूचीमा एक नम्बरमा रह्यो । यो सिनेमाले करिब सवा १७ करोड रुपैयाँ ग्रस कलेक्सन गर्यो । यसपछि ‘महाजात्रा’, ‘परदेशी–२’, ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ले आकर्षक कलेक्सन गरे । यो वर्ष करिब ६० करोड रुपैयाँको हाराहारीमा नेपाली सिनेमाले यहाँको बजारबाट कलेक्सन गरे ।
‘एनिमल’ले नेपालमा आक्रामक कलेक्सन गर्दा यसलाई ‘जवान’ले पछ्यायो । ‘बार्बी’ र ‘ओपनहाइमर’ले पनि नेपालबाट ठूलो रकम आफ्नो देश लगे । नेपाली सिनेमाकै हाराहारीमा यो वर्ष विदेशी चलचित्रले कलेक्सन गरे ।
यो वर्ष नेपाली चलचित्र उद्योगमा स्टारडम चलेन । कथा र पटकथा चले । यसको उदाहरणका रूपमा ‘जारी’लाई लिन सकिन्छ । त्यसो त यसमा अहिलेका स्टार मानिएका अभिनेता दयाहाङ राई नै मुख्य भूमिकामा थिए । तर, यो सिनेमा दयाहाङको स्टारडमले चलेको होइन । बलियो स्क्रिप्टको जगमा दर्शकले मन पराएको चलचित्र थियो यो । यसलाई पुष्टि गर्छ, उनकै सिनेमा ‘बिहे पास’ले । ‘जारी’ रिलिज भएकै दिन ‘बिहे पास’ पनि प्रदर्शनमा आएको थियो । त्यसको मुख्य भूमिकामा दयाहाङ स्वयं थिए । चलचित्र जुधेकाले नचलेको हो कि भनेर ‘बिहे पास’ दोस्रोपटक रि–लिज गरिँदा पनि दर्शकको ध्यान खिच्न सकेन । यसले पनि सिनेमा कलाकारले होइन, बलियो कथाले चल्छ भन्ने पुष्टि गर्छ ।
नेपाली चलचित्र उद्योगका अहिले रोजाइका कलाकार दयाहाङ, सौगात मल्ल, विपीन कार्की, अनमोल केसी, प्रदीप खड्का हुन् । तर, उनीहरूका सबै चलचित्र चलेका छैनन् ।
सौगातको ‘अगस्त्य’, दयाहाङको ‘रंगेली’ र ‘दयारानी’, दयाहाङ र सौगातकै ‘हात्तीछाप’, विपीनको ‘प्रसाद–२’ रिलिज भए । यी चलचित्र बक्सअफिमा चलेनन् । जति चलचित्रले राम्रो कमाइ गरे र लगानी उठाए ती कथाकै भरमा चलेका हुन् ।
कमर्सियल हिरो भनिने अनमोल केसी र प्रदीप खड्काका सिनेमा यो वर्ष रिलिज भएन । गत वर्ष नै ‘छड्के–२’ को बजार र दर्शकको प्रतिक्रिया देखेर डराएका अनमोलले राम्रो स्क्रिप्ट नआएसम्म सिनेमा नखेल्ने बताएका थिए । त्यसैले स्क्रिप्ट छान्न थालेका उनका यो वर्ष सिनेमा नै आएन । प्रदीप खड्काले पनि इन्डियन प्रोडुसरसँगको सम्झौताका कारण यो वर्ष सिनेमा दिन सकेनन् । ‘प्रेम गीत–३’ पछि प्रदीपको कुनै सिनेमा रिलिज भएन ।
अहिले यी दुवैका हातमा थुप्रै सिनेमा रहेकाले आउँदो वर्ष प्रदीप र अनमोलका चलचित्र आउने पक्का भइसकेको छ । रिलिज डेट समेत लिइसकेका छन् ।
हरेक वर्ष एउटा सिनेमा रिलिज गर्दै आएको दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले पनि यो वर्ष स्किप गर्यो । प्राय तिहार अथवा नयाँ वर्षको छेको पारेर कमेडी जानरामा सिनेमा लिएर आउने र ब्लकबस्टर बक्सअफिस कलेक्सन गर्ने यो टिमले यस वर्ष सिनेमा निर्माण गरेन ।
यो वर्ष नेपाली चलचित्र उद्योगमा नयाँ ट्रेन्ड सुरु भयो, त्यो हो, ‘स्क्रिप्ट डक्टरिङ’ । ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ले कथा र पटकथालाई बलियो बनाउन स्क्रिप्ट डक्टरिङ सुरु गर्यो । यसपछि ‘दिमाग खराब’, ‘महाजात्रा’ले पनि स्क्रिप्ट डक्टरिङ गराए । ‘बलिदान’, ‘ऐरी’, ‘रेशम फिलिली–२’लगायत अरू केही चलचित्रले पनि स्क्रिप्ट डक्टरिङ गराएका छन् । स्टारडममा विश्वास गर्ने निर्माता र निर्देशकले पनि स्क्रिप्ट डक्टरिङ गराउनु भनेको कथा नै सिनेमाको हिरो हो भन्ने तथ्यलाई स्वीकार गर्नु हो । अशोक शर्मा, भुवन केसीले पनि स्क्रिप्ट डक्टरिङमा चासो देखाएर आवश्यकता महसुस गर्नुले सिनेमाको स्तरलाई उकास्न मद्दत गर्नेछ ।
यो वर्षको अर्को सकारात्मक पक्ष नेपाली सिनेमाको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल यात्रा पनि हो । ‘सम्बाला’, ‘गाउँ आएको बाटो’, ‘हल्कारा’, ‘गुराँस’, ‘महानगर’, ‘द रेड सुटकेस’ले इन्टरनेसनल फिल्म फेस्टिभलको फन्को मारे । यीमध्ये ‘साम्बाला’, ‘गाउँ आएको बाटो’ र ‘द रेड सुटकेस’ले विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभलमा अब्बल उपस्थिति जनाए ।
माघ तेस्रो साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको चलचित्र जाँचसम्बन्धी कार्यविधि, २०८० को मस्यौदाका विषयमा सिनेकर्मी असन्तुष्ट सुनिए । मन्त्रालयले तयार गरेको कार्यविधि हुबहु जारी भए सिनेमा नै बनाउन नसकिने भन्दै चलचित्रकर्मीले सरकारले आफ्नो विरोध सुन्न र हेर्न नचाहेको आरोप लगाए । भइरहेकै कार्यविधिलाई थप खुकुलो बनाउनुपर्ने माग गरिरहेका बेला मन्त्रालयले थप कस्ने प्रयोजनसहित मस्यौदा तयार गरेको आरोप चलचित्रकर्मीले लगाएका थिए ।
मन्त्रालयले कार्यविधिमा कुनै व्यक्तिविशेष, पेसा, व्यवसायी तथा संस्थाप्रति मानमर्दन हुने, बालबालिकामाथि भएका वा गरेका हिंसा, जघन्य अत्याचार र निर्दयी व्यवहार झल्कने खालका दृश्य तथा संवाद भएका, शारीरिक वा मानसिक रूपमा अशक्तता भएकाहरूलाई होच्याइएको, खिसी गरिएको, हिंसा गरिएको, निर्दयीपूर्ण व्यवहार गरिएको दृश्य तथा संवाद सिनेमामा प्रयोग गर्न नपाइनेलगायत उल्लेख थियो ।
मानवीय संवेदना गुम्ने किसिमका नग्नता, बलात्कारका दृश्य सम्भोगरत दृश्य, व्यवहार तथा नैतिकता प्रतिकूल हुने गरी प्रस्तुत गरिएका दृश्य तथा संवाद भएका तथा यौन उत्तेजना बढाउने गरी पाँच सेकेन्डभन्दा बढी गरिएको भद्दा चुम्बन, यौनजन्य अस्वाभाविक क्रियाकलाप एवं व्यवहार, पुरुष या स्त्री जनेन्द्रीय प्रत्यक्ष वा पारदर्शी पोसाकबाट देखिने र त्यसलाई प्रयोग गरी यौन उत्तेजना बढाउने दृश्य तथा संवाद भएका सिनेमा बनाउन नपाइने कार्यविधिमा उल्लेख थियो । मस्यौदाको चौतर्फी विरोध भएपछि मन्त्रालयले चलचित्रकर्मीका केही प्रतिनिधिलाई छलफलमा बोलाएर लिखित सुझाव नै मागेको थियो ।