पहिलो जनआन्दोलनको उद्घोष गणेशमान सिंहको यही घर भएको चाक्सीबारीबाट भएको हो ।
२०४६ मा ५० दिने आन्दोलनले मुलुकमा निरंकुश पञ्चायती व्यवस्था पतन गराएको हो । २०४६ को माघ ५–७ को ‘चाक्सीबारी सम्मेलन’ले आन्दोलनको माहोल बनाएको हो । त्यो आन्दोलन घोषणा हुनुपूर्वको पञ्चायती पृष्ठभूमि बुझ्नु पनि उत्तिकै जरुरी छ ।
राजा महेन्द्रले २०१७ पुुस १ मा निर्वाचित निर्वाचित संसद् विघटन र सरकार अपदस्थ गरे । बीपी, गणेशमान, किसुनजी, देवानसिंह राई, योगेन्द्रमान शेरचन, रामनारायण मिश्रलगायत नेता/कार्यकर्ताले लामै समय जेलमा बस्नुपर्यो । कतिपय भारतमा प्रवास जीवन जिउन बाध्य भए । नेताहरू २०२५ सालमा मुक्त हुनुभयो । त्यसपछि ८ वर्ष प्रवासमा जानुभयो ।
२०३३ साल पुस १६ मा मेलमिलापको नीति लिँदै नेपाल आउनुभएको हो । २०३६ मा जनमत संग्रह भयो । त्यतिबेला सबै पार्टीहरू प्रतिबन्धित थिए । ‘प्रतिबन्धित’ नेपाली कांग्रेस भनेर प्रचार प्रसार भएको थियो ।
मलाई याद छ । मनमोहन अधिकारी आन्दोलनमा जान चाहनु हुन्थ्यो । तर उहाँको पार्टी नेकपा मार्क्सवादीको संगठन राम्रो थिएन । कांग्रेसले नै ठाउँ–ठाउँमा आफैँले मिलाइदिनु परेको मलाई सम्झना छ ।
जनमत संग्रहको परिणाम सबैलाई थाहा छ । गणेशमान सिंहको पहिला नै एउटा सर्त थियो । तर बीपी सर्त राख्नुहुँदैन भन्ने पक्षमा हुनुहुन्थ्यो । पहिला सर्त राख्ने, पालना भयो भने जनमत संग्रहमा जाने नभए जान हुन्न भन्ने गणेशमान सिंहको तर्क थियो । उहाँको भनाइ थियो, ‘सर्त नराखी जाने हो भने पञ्चले धाँधली गर्छन् ।’
तर यसको आ–आफ्नै तरिकाले व्याख्या गर्छन् । अन्ततः पञ्चायतले जनमत संग्रह जित्यो । बीपीको भनाइ के थियो भने समर्पण नगर्ने, ठूला आन्दोलन पनि नगर्ने भन्ने उहाँको तर्क थियो ।
दक्षिण एसियाको राजनीति अलि तरल भएको हुनाले नेपालमा अलि–कति अवस्था हेरेरमात्रै चल्नुपर्छ भन्ने बीपीको तर्क थियो । नेपालको राष्ट्रियता र प्रजातन्त्र जोगाएर बुद्धिमतापूर्ण तरिकाले अघि बढ्नुपर्छ भन्ने बीपीको धारणा थियो ।
खासमा कम्युनिष्टहरूसँग बीपीको संगत थिएन र कम्युनिष्ट सहकार्य मामलामा पनि उहाँको रुचि थिएन । २०३९ सालमा बीपी कोइरालाको देहान्त भयो । त्यसपछि गणेशमानजीले अब यसरी हुँदैन र आन्दोलनमै जानुपर्छ भन्ने नीति लिनुभयो ।
अब कम्युनिष्टहरूसँग हामीले कुनै न कुनै किसिमबाट काम सुरु गर्नुपर्छ भन्ने निष्कर्ष निकाल्नुभयो । गणेशमानले बीपीको देहान्तपछि अब पञ्चायत समाप्त पार्न कम्युनिष्टसँग पनि कार्यगत सहकार्य गर्ने रणनीति लिनुभयो ।
एउटा ठूलै मुभमेन्ट लिन पहिला जिल्ला भ्रमण गर्नुभयो । त्यसपछि उहाँ पञ्चायतविरुद्ध एउटा सलाईको काँटी भए पनि आगो सल्काउन सकिन्छ भन्ने निष्कर्षमा उहाँ पुग्नुभएको थियो । उहाँले यो आन्दोलनमै लैजानुपर्छ भन्ने निष्कर्ष निकाल्नुभयो । आन्दोलनकै तयारीमा क्रममा २०४२ सालमो सत्याग्रह गर्ने भन्ने कुरा चल्यो ।
त्यसलगत्तै आउटपोस्ट कब्जाको कुरा आयो । सत्याग्रहको तयारी गर्न पार्टी जिल्ला भ्रमण भएको थियो । म पनि सत्याग्रहको तयारीमा म गणेशमान सिंहसँगै जिल्ला जिल्लामा गए ।
सत्याग्रहको समयमा म भद्रगोल जेलमा बसे । मेरो बुबा गणेशमान सिंह १९९७ सालमा त्यही जेलमा बस्नुभएको थियो । उहाँ २००१ सालमा हाम फालेर जानुभयो । त्यसको ४१ वर्षपछि म पनि त्यही जेलमा बस्नुप¥यो । कारण, ‘प्रजातन्त्रका लागि ।’
सत्याग्रहको तयारी गर्दा निकै गाह्रो थियो । पञ्चको दबदबा थियो । पञ्चायती शासकहरू भन्थे ‘मुठ्ठीभरका कांग्रेस ।’
कांग्रेसमा ‘सत्याग्रह’ कि ‘विकल्पको खोजी’ भन्ने बहस भएको थियो । पार्टीभित्र पनि साथीहरू अलमलमा थिए । किसुनजी सत्याग्रहमै होमिनुपर्छ भन्नुभयो । कांग्रेसले सत्याग्रहमा जानुपर्छ भन्ने निर्णय भयो ।
देशव्यापीरुपमा सत्याग्रहमा नेताहरू धरपकड भएपछि पञ्चायतका दिनगन्ती सुरु भयो भन्ने भयो । जेलबाट छुट्न नपाउँदै गणेशमान सिंहले अब ‘वार कि पार’को राजनीतिमा जानुपर्छ भन्न थाल्नुभयो । सत्याग्रहमा बम पड्किएपछि कांग्रेसले सत्याग्रह रोक्ने निर्णय लियो ।
जेल बसेर बाहिर आएको छैन गणेशमानले फेरि आन्दोलनको कुरा गर्नुहुन्छ भन्ने कुरा पनि नभएको होइन । त्यसबेला राति ११, १२, १ बजेसम्म बुइँगल बुइँगल पसेर संगठन गर्नुभयो । धेरैले प्रजातन्त्र सजिलै आएको हो भन्छन् । त्यसो होइन ।
त्यसबेला संगठन गर्न निकै गाह्रो थियो । मान्छे भेला हुन नै दिँदैनथ्यो । उहाँले जनआन्दोलनको माहोल तयार पार्न घर–घरका बुइँगलमा कुराकानी गर्दै माहौल तयार गर्नुभएको हो । तयारीका बेला निकै दुःख पाउनुभयो ।
पञ्चायतविरोधीहरुसँग कार्यगत एकता गरी आन्दोलनमा लाग्नुपर्छ भन्नेमा उहाँ पुग्नुभयो । कार्यगत एकताको आधारमा भनेर उहाँले पञ्चायतविरुद्ध लड्ने भन्ने थियो ।
कतिले उक्त आन्दोलनलाई कांग्रेस–कम्युनिष्टको संयुक्त आन्दोलन भन्छन् । तर संयुक्त र कार्यगत एकतामा फरक छ । यहाँ संयुक्त भनिएको छ, त्यो आन्दोलन संयुक्त होइन । कार्यगत एकताका आधारमा कम्युनिष्ट जोडिन आएकामात्रै हुन् ।
कम्युनिष्टको ‘प्रोपोगान्डा मेसिन’ले ०४६ को आन्दोलनलाई संयुक्त भन्ने बनाए, त्यो होइन । त्यो संयुक्त होइन, कांग्रेसको आह्वान, गणेशमान सिंहको सर्वोच्च कमान्डरमा भएको आन्दोलन थियो ।
त्यसबेला कम्युनिष्ट अनगिन्ती चिरामा थिए । तिनका मुख्य–मुख्य नेतालाई एक दिन गणेशमान सिंहले यही घरमा बोलाउनुभयो । उहाँले भन्नुभयो, “हामी कांग्रेस अब वारपारको लडाइँमा जान तयार भयौँ । तपाईंहरू जाने हो कि होइन ? तपाईंहरू जाने हो भने चिरा–चिरामा भएका तपाईंहरूमध्ये कोसँग कुरा गर्ने हो । तपाईंहरूले एउटा मोर्चा बनाउनुस् । अनि आन्दोलनमा आउनुस् ।”
उनीहरूले भने, “तपाईंले नेतृत्व गर्ने हो भने हामी पनि आउछौँ ।”
त्यसपछि सहाना प्रधानको नेतृत्वमा वाममोर्चा बनाउँदै आएका हुन् । त्यसपछि माघ ५ देखि ७ सम्म भएको भेलामा पनि बोलाएको हो । कार्यगत एकताको आधारमा भएको आन्दोलनलाई संयुक्त आन्दोलन भन्न मिल्दैन । यो ऐतिहासिकता बंग्याउने काम कम्युनिष्टहरूबाट भएको छ ।
त्यो कारणले गर्दा मलाई लागेको के हो भने मलाई धेरैले गफ गर्यो पनि भन्लान् । हाम्रो घर नजिकबाट मान्छे हिँड्न डराउँथे, ०४६ सालअघि । हाम्रो गेटमा सरकारले सुराकी राखिदिएको थियो । को–को आउँछन् भनी तर्साएर राखेको थियो ।
प्रतिबन्धित कांग्रेसले जब राष्ट्रिय सम्मेलन गर्ने निर्णय लियो । सरकारले सार्वजनिक ठाउँमा कतै पनि कार्यक्रम गर्न दिएन ।
त्यसपछि गणेशमानजीले एकदिन भन्नुभयो– “मेरै घरको वरिपरि सफा गरी यहीँ सम्मेलन गरौँ ।”
त्यसपछि कांग्रेस कार्यकर्ता, नेवि संघलगायतले सरसफाई गरी सम्मेलनस्थल बनाएको हो । पञ्चायत व्यवस्थाविरुद्धमा कार्यक्रम गर्न लागेपछि निरंकुश पञ्चायती व्यवस्थाको सरकारले किन दिन्थ्यो र ? सरकारी नियन्त्रण–निगरानी र सुराकीबीच २०४६ माघ ५ देखि ७ गतेसम्म कार्यक्रम भयो ।
भारतबाट त्यहाँका राजनीतिका दलका नेताहरू चन्द्रशेखर, हरिकिशन सिंह सुरजित, डा. सुब्रह्म्रण्यम स्वामी, एमजे अकबर लगायतका नेताहरुको उपस्थिति थियो । नेपालका कम्युनिस्ट पार्टीका नेताहरू मनमोहन अधिकारी, साहना प्रधान लगायतका नेताहरू उपस्थित हुँदै बोलेका थिए ।
भारतीय समाजवादी नेता चन्द्रशेखरको भाषण नेपालमा चर्चित बनेको थियो, त्यो बेला । उनले भनेका थिए, ‘नेपालमा प्रजातन्त्र मेरो बलमा वा भारतको सिमानाबाट आउने होइन । प्रजातन्त्र नेपालबाटै आउँछ । जनजवानहरूको आकांक्षाको शक्तिले आउँछ । उनीहरूको मनमा जुन पीडा छ, त्यसको औषधि हुन सकेन भने याद राख्नोस्, “मानिसको मनबाट निस्कने चीत्कारले ठूलाभन्दा ठूला तानाशाहलाई पनि धूलोमा मिलाइदिएको छ ।”
त्यसबेला जनआन्दोलनको औचित्य खुलाउँदै बलिदानी निम्ति तत्पर रहन आग्रह गर्नुभएको थियो ।
गणेशमानजीको आग्रह थियो, “नेपालमा प्रजातन्त्र प्राप्तिको ठूलो आन्दोलन हुँदै छ । त्यो आन्दोलनमा पूर्ण र दृढ ढंगले सहभागी हुन सकौँ । आन्दोलन र देशले बलिदान माग्यो भने म बलिदान गर्न तयार छु भन्ने आशिर्वाद मागेर आउनुहोला । हामी पूर्ण प्रतिवद्धतासाथ आन्दोलनमा जाँदै छौँ, यो आन्दोलन कुनै पनि हालतमा रोकिनेवाला छैन । अबको बिहानी प्रजातन्त्रको बिहानी हुनेछ ।”
उक्त सम्मेलनमा धेरै नेताहरूले बोल्नुभएको थियो । मैले काठमाडौं जिल्लाका तर्फबाट ऐतिहासिक सम्मेलनमा बोल्ने अवसर पाएका थिए ।
यतिखेर जस्तो सामाजिक सन्जालको जमाना थिएन । अलिअलि भिडियो क्यासेट र अडियो क्यासेटको चलन थियो । नेताहरूका भाषण भिडियो र अडियो बनाउँदै जिल्ला जिल्लामा पठायौँ । अझ जिल्ला जिल्लामा लैजाने क्रममा बसमै खानतलासी गरियो । त्यहीँ पक्राउ गरियो ।
चाक्सीबारी सम्मेलनबाटै पञ्चायतविरुद्ध आन्दोलनको माहौल बन्यो । त्यही सम्मेलनबाट अब हामी पञ्चायतविरुद्ध टाउकोमा कफन बाँधेर उत्रने दृढता व्यक्त भएसँगै आमनागरिकलाई आन्दोलनमा होमिन उत्साह र उत्प्रेरणा मिलेको हो । उतिखेर कांग्रेसका नेता/कार्यकर्तामा बलिदानी भावना थियो, जेल–नेलको त कुनै प्रवाह नै थिएन ।
२०४६ फागुन ७ बाट जनआन्दोलन सुरु भयो । आन्दोलन परिचालन निम्ति हामी भूमिगत थियौँ । सुरक्षाकर्मी र सुराकीको एकदमै बिगबिगी भएको बेला भूमिगत रहेर आन्दोलनमा खटिएको थियो । जनआन्दोलनको बीचतिर यो आफैँ तुहिने हो कि भन्ने डर भइसकेको थियो ।
त्यो आन्दोलनले चैत लाग्दै गर्दा उत्कर्षतिर अघि बढ्दै गयो । चैतको दोस्रो हप्तादेखि त्यो निकै बढ्यो । त्यसपछि आन्दोलन तितर–बितर पार्न कर्फयू लाग्यो भने सुरक्षाकर्मी परिचालन बाक्लो बाक्लो थियो । अझ चैत २४ का दिन त आन्दोलन नारायणहिटीतिरै अघि बढ्दै महेन्द्र शालिक तोडफोड हुन थालेपछि अश्रु ग्यास र गोलीको वर्षा भयो ।
महिलाहरूले थाल ठटाउँदै पञ्चायतको सातो लिए । सहरमा ‘ब्ल्याकआउट’ भयो । २०४६ सालको चैत २६ मा गणेशमान सिंह वीर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।
अन्ततः कर्फयूबीच नै २०४६ चैत २६ को रातमा दलमाथि प्रतिबन्ध हट्दै मुलुकमा बहुदलीय व्यवस्थाको पुन:स्थापना भयो । २०१७ सालमा गुमेको अधिकार तीस वर्षपछि फिर्ता ल्याएका थियौँ । जनताको हित प्रजातन्त्रमा मात्रै हुन्छ । २०४६ सम्मका कार्यकर्ता जुनसुकै पार्टीका किन नहुन् अधिकारका लागि लडेका हुन् ।
हामी गुमेको अधिकार प्राप्त गर्न ज्यानै दिने पुस्ता हौँ । गुमेको अधिकार ल्याएको हुनाले सबैले सम्मान पाएका छन् । चैत २६ रात गुमेको अधिकार फेरि बहालीको त्यो ऐतिहासिक क्षण हो । दलमाथिको प्रतिबन्ध हटेसँगै तत्कालीन राजाले गणेशमान सिंहलाई बोलाउँदै प्रधानमन्त्रीको अफर गर्नुभयो । उहाँले भन्नुभयो, “मैले जिन्दगीभर गरेको संघर्ष आफैँ प्रधानमन्त्री हुन होइन ।”
तर गणेशमान सिंहको अर्काे सन्देश के थियो भने, “प्रधानमन्त्री अब राजाले होइन, जनताको छोराले छान्छ भनी किसुनजीको नाम प्रस्ताव गर्नुभएको हो ।”
यो सांकेतिक सन्देश थियो । उहाँ नै प्रधानमन्त्री भएको भए के हुन्थ्यो भन्ने कुरा पनि आएका छन् । ती इतिहासका कुरा भए । किसुनजीले सपथ लिएपछि गणेशमानजीलाई सिंहदरबारमा बोलाउँदै अब मन्त्रिपरिषद्लाई तपाईंको निर्देशन चाहियो भन्नुभयो ।
गणेशमानले भन्नुभयो, “एक वर्षभित्रमा लोकतान्त्रिक संविधान जारी गर्ने, आमनिर्वाचन गराउनुपर्ने दायित्व पूरा गर्नुपर्छ । तेस्रो भ्रष्टाचारको अन्त्य र महंगी नियन्त्रण हुनुपर्छ ।” किसुनजीले समयमा तीनै कुरा सम्पन्न गराउनुभयो । आम निर्वाचन गराउनुभयो, तर प्रधानमन्त्री भएको व्यक्ति चुनावमा हार्नुभयो ।
प्रजातन्त्रपछि लाखौँ लाखमा केही नेता भ्रष्ट भए होलान् तर सिंगो कांग्रेस त्यस्तो छ त ? कांग्रेस तीस वर्षसम्म प्रजातन्त्रका लागि लड्यो । त्यतिखेरको पुस्ताले सत्ता होइन, प्रजातन्त्र भनेको थियो । ‘प्रजातन्त्र’ प्राप्तिका लागि गरेको क्षणहरू आज पनि सम्झनुपर्छ, कांग्रेसीजन, आन्दोलनमा सहभागी दलका नेता/कार्यकर्ता र आमनागरिकले पनि ।
(कांग्रेसका सर्वाेच्च नेता गणेशमान सिंहका छोरा तथा कांग्रेस नेता प्रकाशमान सिंहसँग बाह्रखरीले गरेको कुराकानीमा आधारित ।)