“हजुरबा, दर्शन गरेँ,” उमेशले हजुरबालाई अभिवादन गर्यो ।
“भाग्यमानी भएस्,” हजुरबाले आशीर्वाद दिए ।
उसले काँधमा बोकेको झोला बिसायो । जुत्ता र मोजा खोल्यो । धारामा गएर हातखुट्टा धोयो ।
आएर हजुरबाको छेउमा बस्यो । झोलाबाट एउटा प्याकेट निकालेर खोल्यो र हजुरबालाई पेडा खुवायो ।
दसैँमा मात्र आउने नाति अहिले कुनै पर्व नभएको समयमा आएको देखेर हजुरबाले सोधे, “सधैँ चाडबाडमा मात्र आउने तँलाई अहिले पनि फुर्सद मिलेछ ! केको खुसी हो ? पढाइ सक्कियो ?”
हजुरबाको मुखमा मिठो पेडा अझै सकिएको थिएन ।
“मेरो अमेरिकाको भिसा लाग्यो । अर्को हप्ता उड्ने हो । जाने बेला हजुरलाई भेट्न आएको,” उमेशले जवाफ दियो ।
मुखको पेडामा गुलियोपना आउन छाड्यो । मन खिन्न भयो हजुबाको ।
“तँ पनि जाने भइस् !,” हजुरबाले भने ।
“भाग्यले साथ दियो भनौँ हजुरबा । पहिलो प्रयास नै सफल भयो,” उमेशले भन्यो ।
“यतै केही गरेर बसेको भए पनि हुने,” हजुरबाको मुखबाट निस्कियो ।
“के गर्नु यहाँ बसेर ? पढाइअनुसार केही काम गर्न पाइँदैन,” उमेशले आफ्नो बाध्यता जाहेर गर्यो ।
“उता अमेरिकामा पढाइअनुसारको जागिर पाइने रहेछ ?,” हजुरबाले सोधे ।
“अमेरिका गएपछि त जे काम गरे’नि भयो नि !,” उमेशले भन्यो ।
“नेपालमै बसेर पनि जे काम पाइन्छ, त्यही गरे हुँदैन ?,” हजुरबाले प्रश्न गरे ।