काठमाडौं । नेपाली सिनेमा उद्योगमा नयाँ कलाकारको प्रवेश नभएको कति भयो ? कलाकार आउने र हराउने क्रम त चलिरहन्छ/चलिरहेको पनि छ । तर, दयाहाङ राई, विपीन कार्की, सौगात मल्ल, अनमोल केसी, प्रदीप खड्कालगायत कलाकारलाई टक्कर दिने अरू आएका छैनन् ।
दयाहाङ, सौगात र विपीनलाई रिप्लेस गर्ने कलाकार थिएटरबाट आएको देखिएको छैन । गुड लुकिङ हिरोतर्फ पनि अनमोल र प्रदीपको विकल्प दिने गरी कोही आएको छैन । अनमोल र प्रदीप नेपाली चलचित्र उद्योगमा आएको एक दशक नाघिसकेको छ । उनीहरूलाई रिप्लेस त के, प्रतिस्पर्धामा उत्रने कलाकार पनि कोही आउन सकेको छैन ।
गएको शुक्रबार सन्तोष सेनले समीर भट्ट फिर्चड आफ्नो सिनेमा ‘बलिदान’को पोस्टर सार्वजनिक गर्दै लेखे– आमदर्शकलाई पूर्ण रूपमा हिरो गुणको अभाव पूर्ति गर्ने योद्धा, हामीले उठाएको विषयवस्तुमा मुख्यपात्रका रूपमा जीवन्त भूमिका निर्वाह गर्न सक्ने कलाकारको खोजी हामीलाई आइसल्यान्डमा सर्प खोज्नुजस्तो भइरहेको थियो । तँ चिता म पुर्याउँछु भनेजस्तै हामी चिताइरह्यौँ र एक दिन भेट्टायौँ । कलाकारिताको एकान्तमा गहन तपस्या गरिरहेका एक युवा । भगीरथ कठिन तपस्याले एक दिन गंगा पृथ्वीमा अवतरण भइन् । तर, गंगालाई सम्हाल्न पृथ्वीलाई गाह्रो भएको थियो । यी युवा नेपाली सिनेमाका भगीरथ बन्ने स्पष्ट संकेत छ । हामीले यिनलाई पगाल्न कुनै कसर बाँकी राख्ने छैनौँ ।
सन्तोषले भगीरथ प्रयास गरेपछि भेट्टाएका युवक अरू कोही नभएर बिराज भट्टका छोरा समीर हुन् । उनलाई बिराज भट्टले यसअघि नै सार्वजनिक गरिसकेका थिए । आफ्नो सिनेमा ‘१२ गाउँ’ चलचित्रको मुख्य भूमिकामा खेलाउने बताएका थिए । उनै समीरलाई आफूले नेपाली सिनेमा उद्योगको युगपुरुषका रूपमा देखेको सन्तोषले बताए ।
दशकौँ बिते पनि सम्भावना बोकेका कलाकार नआउनुमा मेकर र कलाकार दुवै बराबरको हिस्सेदार रहेको स्वयं मेकर बताउँछन् । भइरहेकालाई नै लिएर सिनेमा बनाउँछु भन्ने मेकरको मानसिकता र आफूलाई परिपक्व नबनाई चलचित्रमा आउने गरेका कारण नयाँ कलाकारको ‘धमाकेदार इन्ट्री’ हुन नसकेको निर्माता तथा निर्देशक सन्तोस सेन बताउँछन् ।
“यसमा जो सिनेमामा आउने हो उसले पनि आफूलाई पर्याप्त तयारी नगरी आएको देखिन्छ,” सन्तोष अगाडि थप्छन्, “हामी मेकरले पनि नयाँ कलाकार जसरी पनि ल्याउँछु भनेर मिहिनेत नगरेको होला भन्ने लाग्छ ।”
सिंगो चलचित्रलाई बोकेर हिँड्न सक्ने क्षमता आफूमा रहेको भनेर मेकरलाई विश्वास दिलाउन सक्ने परिपक्व कलाकार नआएको उनको जिकिर छ । केही कलाकार आएको तर तिनले दर्शक र मेकर दुवैको मन जित्न नसकेको उनको बुझाइ छ ।
अहिले भइरहेका कलाकारलाई पछि पार्ने ल्याकत राख्ने गरी नयाँ पुस्ता आउनुपर्नेमा सन्तोष जोड दिन्छन् । क्यारेक्टर आर्टिस्टमा केही कलाकार आए पनि उनीहरूले मेन क्यरेक्टरमा आफूलाई स्थापित गर्न नसकेको उनी बताउँछन् ।
“क्यारेक्टर आर्टिस्टका रूपमा केही कलाकार आए । तर, उनीहरूले सिंगो चलचित्र काँधमा बोकेर हिँड्न सक्ने मेकरलाई विश्वास दिलाउन सकेनन्,” सन्तोष अगाडि थप्छन्, “राम्रो अभिनय गरेर मात्रै नहुने रहेछ । दर्शकको मनमा पनि बस्न सक्नुपर्ने रहेछ । स्टारडम कायम गर्न सक्नुपर्छ ।”
मेकरले लगातार प्रयास गरेको खण्डमा कोही कलाकारलाई सुपरस्टार बनाउन सकिने सन्तोषको अनुभव छ । यस्तो प्रयास धेरैले नगर्ने उनी सुनाउँछन् । ठूला ब्यानरले चाहेको खण्डमा र अनवरत प्रयास गरे कुनै पनि व्यक्तिलाई स्थापित गराउन सकिने उनको विश्वास छ ।
भइरहेका कलाकारकै तुलनामा करिब–करिब उत्तिकै क्षमतावान् व्यक्ति आएको खण्डमा भने कुनै मेकरले नयाँ अनुहारमा रिस्क नलिने उनको भनाइ छ । उसका निम्ति निर्माता पनि लगानी गर्न तयार नहुने उनी बताउँछन् ।
“हामीले नयाँ कलाकार लिएर उसबाट निकाल्न सकिनेजति काम निचोरेर निकाल्न नसकेको वा नचाहेको पनि हुनसक्छ,” उनी आफ्नो कमजोरी स्वीकार गर्छन्, “तर, अहिले सिनेमा उद्योगमा रहेका भन्दा अब्बल क्षमता भएका व्यक्ति आएनन् भने भइरहेकै कलाकार छँदै छन् भन्ने मानसिकताले काम गरिरहेको छ ।”
प्रतिभा भएका व्यक्ति खुम्चिएर बस्नु नपर्ने उनको टिप्पणी छ । विभिन्न डिजिटल प्लेटफर्म रहेको र त्यसबाट मेकरलाई प्रभावित पार्दै आफ्नो क्षमता प्रदर्शन गर्न सक्ने अवस्था रहेको सन्तोष बताउँछन् । व्यक्ति स्वयंले आफ्नो ब्रान्डिङ नगरे धेरै नयाँ अनुहारले प्रभुत्व जमाउन नसक्ने र भइरहेकै कलाकार हाबी भइरहने उनको आकलन छ ।
केही कलाकार नआएका होइनन्, तर उनीहरूले आफूलाई अब्बल स्थापित गर्दै भइरहेकालाई चुनौती दिन सकेनन् । सुशील श्रेष्ठ, धीरज मगर, सलिनमान बानियाँ, अरुण क्षेत्रीलगायत केही कलाकार आए । उनीहरूले पनि अनमोल र प्रदीपलाई टक्कर दिन सकेनन् ।
यहीबीचमा आर्ट हाउस मुभीमार्फत केही कलाकार आए । महेश त्रिपाठी, दिव्य देवलगायत कलाकार आर्ट हाउस मुभीमा आए पनि दयाहाङ, सौगात र विपीनको विकल्प बन्न सकेनन् ।
निर्देशक दीपेन्द्र लामा अभिनयमा अब्बल व्यक्तिको खाँचो नरहेको बताउँछन् । अवसरको मात्र खाँचो उनी औँल्याउँछन् । अवसर पाए भइरहेका कलाकारलाई टक्कर दिन सक्ने व्यक्ति आउने उनको विश्वास छ ।
नयाँ अब्बल कलाकार लामो समयदेखि नआउनुको मुख्य कारण निर्देशक नै रहेको दीपेन्द्रको ठहर छ । नेपालमा हिट सिनेमा मेकर कम्तीमा १० जना मात्र भए बर्सेनि धेरै नयाँ कलाकार आउने उनी जिकिर गर्छन् ।
“जुन सिनेमा बनाए पनि हिट हुने निर्देशक नेपाली फिल्म इन्डस्ट्रीमा १० जना मात्रै हुने हो भने वर्षमै थुप्रै त्यस्ता कलाकार आउने थिए, जसले नेपाली सिनेमा उद्योगलाई नै हाँक्न सकोस्,” दीपेन्द्र अगाडि थप्छन्, “आफैँ कमजोर भएपछि निर्देशकले नयाँ कलाकारलाई ब्रेक दिन सक्दैन ।”
निर्देशक बलियो भएको अवस्थामा उसका सिनेमा हिट हुने र कलाकार स्थापित हुने सम्भावना उच्च हुने उनको भनाइ छ । निर्देशक कमजोर भएपछि कथा र निर्देशनमा भन्दा कलाकारको भर पर्नुपर्ने अहिलेको बाध्यता रहेको दीपेन्द्र सुनाउँछन् ।
“अहिले म आफैँले दयाहाङ, सौगात, विपीनलाई नलिई अरू कलाकार लिन्छु भन्ने हो भने मलाई कुनै पनि प्रोडुसरले लगानी गर्दैन,” दीपेन्द्र निर्देशकको बाध्यता सुनाउँछन्, “यदि, मैले बनाएका सिनेमा हिट हुने निश्चित हुने हो भने प्रोडुसरले तपाईं जुनसुकै कलाकार लिए पनि हुन्छ भन्ने अवस्था हुन्छ ।” उनी यसमा बलिउडका राजकुमार हिरानीको उदाहरण दिन्छन् ।
अहिले निर्देशक र कथाभन्दा पनि निर्मातालाई कलाकारप्रति बढी विश्वास रहेको उनी स्पष्ट पार्छन् । निर्देशकमा भन्दा कलाकारमा लगानी भइरहेको उनको ठहर छ । यो निर्माताको पनि बाध्यता रहेको उनी बताउँछन् ।
निर्देशकको ब्रान्ड नबनेसम्म यस्तो अवस्था कायम रहने दीपेन्द्रको धारणा छ । निर्देशकका रूपमा तत्कालीन समयमा तुलसी घिमिरेको ब्रान्ड रहेको र उनले धेरै नयाँ कलाकारलाई अवसर दिएर स्थापित गराएको दीपेन्द्र स्मरण गर्छन् ।उनले त्यस बेला चलेका राजेश हमाललाई दुईवटा सिनेमामा मात्रै लिएको उनी बताउँछन् । घिमिरेले नयाँ–नयाँ कलाकारलाई अवसर दिएको दीपेन्द्र सम्झिन्छन् । नयाँ र कमजोर निर्देशकहरु हमालका पछि लागेको तर घिमिरे उनको पछि नलागेको उनको भनाइ छ ।
“तुलसी घिमिरेले त्यसरी अवसर दिएका धेरै कलाकार नेपाली चलचित्र उद्योगमा स्थापित भएका छन्,” दीपेन्द्र भन्छन्, “त्यस्तै ब्रान्ड अहिले निर्देशकले बनाएको खण्डमा प्रतिस्पर्धी कलाकार आउँछन् ।” कलाकार स्थापित हुने/नहुनेमा व्यक्ति स्वयंभन्दा निर्देशक र ब्यानर बढी जिम्मेवार हुने उनको भनाइ छ ।