
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशले सम्पादन गरेका मुद्दा बढी विवादरहीत रहेको बताएका छन् । शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले न्याय सम्पादनमा आएका कमजोरी पुनः सच्याइएको उदाहरण रहेको स्मरण गर्दै न्याय सम्पादन सधैँ सही नहुने बताए ।
मन्त्री गिरीले महिला न्यायाधीशहरूले गरेका न्याय सम्पादन न्यायको मर्मको गहिराइसम्म पुगेर न्याय दिनसक्ने ल्याकतसहितको हुने गरेको विगतबाट देखिएको बताए । उनले कानुनको अध्ययन गर्ने महिलाहरूको संख्या पनि उल्लेख्य रहेको बताए ।
अध्ययन समयदेखि नै महिलालाई न्यायको क्षेत्रमा लाग्नुपर्ने प्रेरणा दिन आवश्यक रहेकोमा उनको जोड छ ।
मन्त्री गिरीले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशहरूलाई निश्चित रूपमा कार्यान्वयन गर्न र कानन निर्माणका लागि सरकारले प्राथमिकता दिएर काम गरिरहेको बताए । उनले महिला न्यायाधीशहरूको वृद्धि विकास र क्षमता अभिवृद्धिका लागि गर्नुपर्ने कार्यक्रममा सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।