site stats
बाह्रखरी :: Baahrakhari
खेल
टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा, मधेस र वाग्मती विजयी

विराटनगर । मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोसी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको बिहीबार सम्पन्न अन्तिम खेलसँगै सेमिफाइनलको समीकरण पूरा भएको छ ।

पहिलो खेलमा मधेस प्रदेशले एपीएफ र वाग्मती प्रदेशले नेपाल पुलिसलाई पराजित गरेको छ । बिहीबारको खेल अगावै समूह 'ए'बाट आर्मी आठ अंकका साथ शीर्ष स्थानमा रहँदै समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीसँगै समूह 'ए'बाट कर्णाली समूह उपविजेता भएको छ । 

त्यस्तै, समूह 'बी'बाट लुम्बिनी ६ अंकका साथ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले पनि ६ अंकका साथ उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । लुम्बिनीको नेट रनरेटको आधारमा समूह विजेता बनेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो खेलमा मधेस प्रदेशले एपीएफलाई २१ रनले पराजित गरेको छ । यो खेलमा मधेसले एपीएफलाई ८३ रनले पराजित गरेको भए मधेस सेमिफाइनलमा पुग्ने थियो भने एपीएफले ८.३ बलमा मधेसमाथि जित हात पारेको भए सेमिफाइनलको यात्रा तय गर्ने थियो ।

टस हारेर ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १४३ रनको योगफल तयार पारेको थियो । मधेसका लागि प्लेयर अफ द म्याच विशाल सुस्लिङले ३३ बलमा ४ छक्का र ४ चौका प्रहार गरी अविजित ५४ रन बनाउँदा पवन सराफले २५ रन र अविशेक तिवारीले १९ रनको योगदान दिए ।

एपीएफका कप्तान भुवन कार्कीले ३ विकेट लिँदा पूरन विकले पनि ३ विकेट लिए ।

जवाफमा १४४ रनको लक्ष्य पछ्याएको एपीएफले पूरै ओभर खैल्दै ८ विकेटको क्षतिमा १२२ रनमा सीमित भयो । एपीएफका सुमित महर्जनले २९ बलमा १ छक्का र ९ चौका प्रहार गरी ५२ रन बनाउँदा कप्तान भुवन कार्कीले अविजित १२ रन र आयुष्मान बमले पनि १२ रन बनाए ।

मधेसका राजेश यादवले ३ विके लिँदा अरनिको यादवले २ विकेट लिए ।

ISHAN-PANDEY=-Bagmati-1710431327.JPG
 

दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिसलाई वाग्मती प्रदेशले ३३ रनले पराजित गरेको छ । हारपछि पुलिस प्रतियोगिताबाट बाहिरिएको छ । पुलिसले १२.५ बलमा वाग्मतीलाई पराजित गरेको भए नेटरन रेटमा समूह उपविजेता हुँदै सेमिफाइनको यात्रा तय गर्ने थियो ।

टस हारेर ब्याटिङ गरेको वाग्मतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १७३ रनको स्कोर बनाएको थियो । वाग्मतीका लागि प्लेयर अफ द म्याच इसान पाण्डेले ५० बलमा २ छक्का र ७ चौका प्रहार गरी अविजित ७४ रन बनाउँदा रविन जोशीले २७ रन, शुभ कन्साकरले २६ रनको योगदान दिए ।

पुलिसका अविशेक कार्की २ विकेट लिँदा दिपक सेरलाले पनि २ विकेट लिए ।

जवाफमा १७४ रनको लक्ष्य पाएको पुलिसले १२ ओभरमा सबै विकेट १४० रनमा सीमित भयो  । पुलिसका रोहन बिकले २४ बलमा एक छक्का र सात चौका प्रहार गरी ४३ रनको पारी खेले भने शंकर रानाले २७ रन बनाउँदा सुनिल दौल्यारले अविजित २६ बनाए । वाग्मतीका कृजन गुरुङले ४ विकेट लिँदा तिलक भण्डारी र इसान पाण्डेले २–२ विकेट लिए ।

बिहीबारको पहिलो सेमिफाइनल खेल आर्मी र सुदूरपश्चिम तथा दोस्रो सेमिफाइनल खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच खेल हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद सादबाबु कुरैसीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  २१:३४
प्रतिक्रिया दिनुहोस्