
भोजपुर । धरानबाट भोजपुरको घोरेटारतर्फ आउँदो गरेको यात्रीवाहक जीप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो । धरानमा उपचारका क्रममा थप एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सुदीपराज पाठकका अनुसार, मृतक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका–२ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, ६ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी–५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी–५ का ४२ वर्षीय किशन राई रहेका डीएसपी पाठकले जानकारी दिए । उपचारका क्रममा किशन राईको मृत्यु भएको हो ।
साथै, दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उद्धार गरी उपचारका निम्ति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
इलाका प्रहरी कार्यालय घोरेटारबाट सात र हसनपुरबाट पाँच गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको व्यवस्था मिलाइएको डीएसपी पाठकले जानकारी दिए । घाइतेको पनि विवरण लिने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
धरानबाट भोजपुरको दक्षिणतर्फ आउँदै गरेको को१ज २५९३ नम्बरको जीप बिहीबार बिहान १०ः३० बजेतिर उदयपुरको बेलका नगरपालिका–७, मैनामैनीमा दुर्घटना भएको थियो । जीपमा क्षमताभन्दा बढी यात्री सवार रहेकाले दुर्घटना भएको देखिएको प्रहरीको प्रारम्भिक अनुमान छ । रासस