site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

देशको विकासको गति मापन गर्न राष्ट्रिय गौरवका आयोजनाका दुरावस्था हेरे पुग्छ । पाँच–दश वर्षमा सक्ने लक्ष्य राख्दै थालिएका राष्ट्रिय गौरवका आयोजना पटक–पटक म्याद थपिने शृंखलामा पर्छन् । आयोजना कछुवाको गतिमा अघि बढ्दा लागत बढेको बढ्यै छ । राज्यमाथि व्ययभार थपिएको थपियै छ ।

राष्ट्रिय गौरवका आयोजनाका हबिगतसँगै सरकारको नेतृत्वकर्ता र आयोजनाका अधिकारीलाई लाज लाग्नुपर्ने हो । तर, यहाँ त ‘लाज’ नै ‘लजाए’ झैँ प्रतीत हुन्छ । सरकार र आयोजनासम्बद्ध अधिकारीलाई कुनै असर गरेको छैन ।

ठूला आयोजना समयमै पूरा गरी अर्थतन्त्रलाई चलायमान बनाउनुभन्दा सरोकारवाला आयोजना लम्ब्याउँदा आफू, बिचौलिया, ठेकेदार र कमिसन एजेन्टलाई प्राप्त नाफाको जोडघटाउमा केन्द्रित भएको हो कि भन्ने आमआशंका छ । यसले सरकार चलाउनेलाई व्यक्तिगत रूपमा फाइदा त भएको होला, तर देशको विकासलाई दशकौँ पछाडि धेकेलेको छ ।

Dabur Nepal
NIC Asia

केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धकै नमानी राष्ट्रियसभाको बैठकमा राष्ट्रिय गौरवका आयोजनाका प्रगति विवरण प्रस्तुत गरेका थिए । तेस्रोपटक प्रधानमन्त्री हुँदा उनले राष्ट्रियसभामा प्रस्तुत गरेका तथ्यांक उनी पहिलोपटक देशको प्रधानमन्त्री हुँदाको बेलाभन्दा खासै फरक छैनन् ।

बबई सिँचाइ आयोजना सुरु भएको ३५ वर्ष पूरा भएको छ । आयोजनाको उद्देश्य बर्दिया जिल्लाको करिब ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने थियो । तर, साढे तीन दशक बित्दा पनि आयोजना पूरा हुन सकेको छैन । हालसम्म आयोजनाको भौतिक प्रगति ७२.२२ प्रतिशत र वित्तीय प्रगति ६९.३४ प्रतिशत छ ।

३५ वर्षअघि आयोजना सुरु गर्दा यसको लागत दुई अर्ब ८७ करोड ३९ लाख रुपैयाँ थियो । समयमै कार्य सम्पन्न नहुँदा लागत बढेर १८ अर्ब ९६ करोड ३० लाख रुपैयाँ पुगेको छ । यसअवधिमा लागत ५६१ प्रतिशतले बढेको छ ।

सरकारले चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको जिम्मा २०७४ वैशाखमा नेपाली सेनालाई दिएको थियो । माघ मसान्तसम्म द्रुतमार्गको भौतिक प्रगति ३०.९६ प्रतिशत र वित्तीय प्रगति ३१.५७ प्रतिशत छ ।

सुरुका चार वर्षमा द्रुतमार्गको काम नसकिएपछि यसको म्याद २०८१ मंसिरसम्म थपिएको थियो । यो अवधिमा पनि काम नसकिने पक्का भएपछि म्याद सकिनु १८ महिनाअगावै गएको वैशाख ५ गतेको मन्त्रिपरिषद् बैठकबाट द्रुतमार्ग निर्माणको म्याद २०८३ चैत मसान्तसम्म थपिएको छ ।

सुरुमा द्रुतमार्गको लागत अनुमान ९८ अर्ब रुपैयाँ थियो । त्यसपछि एक खर्ब १६ अर्ब रुपैयाँ हुँदै एक खर्ब ७५ अर्ब रुपैयाँ पुग्यो । डीपीआर संशोधन गरेपछि लागत दुई खर्ब ११ अर्ब नौ करोड ५३ लाख रुपैयाँ कायम गरिएको छ । सडक निर्माणमा ढिलाइ हुँदा लागत एक खर्ब १३ अर्बभन्दा बढी थपिएको छ ।

तराई/मधेसका २१ जिल्लालाई समेट्ने गरी पूर्व–पश्चिम जोड्न हुलाकी सडक आयोजना आर्थिक वर्ष २०६६/६७ बाट अघि बढाइएको थियो । यो आयोजना आर्थिक वर्ष २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य थियो । अनेक कारणले काममा ढिलासुस्ती हुँदा निर्माण सम्पन्न गर्ने मिति आर्थिक वर्ष २०८३/८४ सम्म सारिएको छ । यही गतिमा काम भए उक्त मितिमा पनि हुलाकी सडक निर्माणले पूर्णता पाउने देखिँदैन ।

सुरु गर्दा हुलाकी राजमार्गको लागत ३५ अर्ब २० करोड रुपैयाँ तय गरिएको थियो । समयमा काम नहुँदा यसको लागत बढ्दै गएको छ । आर्थिक वर्ष २०८३/८४ सम्म सम्पन्न गर्ने गरी हुलाकी राजमार्गको संशोधित लागत एक खर्ब एक अर्ब ९२ करोड ९० लाख रुपैयाँ कायम गरिएको छ । लागत १८९.५७ प्रतिशतले वृद्धि भएको छ । यी केही प्रतिनिधि आयोजना मात्र हुन् । अरू आयोजनाको अवस्था पनि यस्तै छ ।

सरकारले आर्थिक वर्ष २०६८/६९ मा आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक तथा मानव विकासका हिसाबले महत्त्वपूर्ण देखिएका आयोजना पहिचान गरी राष्ट्रिय गौरवका आयोजनाका रूपमा कार्यान्वयनमा ल्याउन सुरु गरेको हो । उक्त निर्णयपछि त्यसअघि सुरु गरिएका आयोजनालाई पनि राष्ट्रिय गौरवका आयोजनामा समेटिएको थियो ।

आर्थिक, सामाजिक, सांस्कृतिक तथा मानव विकासमा सकारात्मक प्रभाव पर्ने, राष्ट्रिय सुरक्षा, सामाजिक, सांस्कृतिक एकीकरण र संरचनात्मक आर्थिक रूपान्तरणका हिसाबले रणनीतिक महत्त्व राख्ने आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा राख्ने गरिएको छ ।

राष्ट्रिय गौरवका आयोजनाले अनेकन् प्रकृतिका समस्या झेल्नुपरेको छ, जसका कारण काम द्रुत रूपमा अघि बढ्न सकेको छैन । जग्गा अधिग्रहण, पर्याप्त बजेट, मुआब्जा विवाद, राष्ट्रिय निकुञ्जभित्रको जग्गा लिन र रुख कटान गर्न सकसलगायत समस्याले राष्ट्रिय गौरवका आयोजनालाई अल्झाउँदै आएको छ ।

नीतिगत तथा कानुनी प्रबन्धको कमी, पूर्वतयारीको कमी, व्यवस्थापकीय दक्षताको कमी, वन तथा सडक क्षेत्रको व्यवस्थापनमा समस्या, स्रोत व्यवस्थापनमा समस्या, नियमन र समन्वयको कमीजस्ता समस्या आयोजना कार्यान्वयमा देखिएका छन् ।

राष्ट्रिय गौरव तथा रूपान्तरणकारी आयोजनाको पहिचान, छनोट, घोषणा र कार्यान्वयनसम्बन्धी छुट्टै र स्पष्ट नीतिगत तथा कानुनी व्यवस्था छैन । राष्ट्रिय गौरवका आयोजनाको घोषणापश्चात् अरू आयोजनाभन्दा प्राथमिकताका साथ कसरी परिणाममुखी हुने गरी कार्यान्वयन गर्ने भन्ने स्पष्टता छैन ।

आयोजना निर्माणस्थलमा स्वामित्व नभएका तर जग्गा हकभोग गरिरहेका परिवारको घरजग्गालगायत क्षतिपूर्ति निर्धारणमा समस्या जहाँतहीँ देखिएको छ । स्थानीयले माग्ने र आयोजनाले दिने मुआब्जामा ठूलो भिन्नता हुँदा लामो समय जग्गा विवादमा समय बित्ने गरेको छ । मुआब्जाको सम्बन्धमा सरकार र दातृनिकायबाट सञ्चालन हुने आयोजनामा फरक–फरक व्यवस्था हुँदा थप जटिलता थपिएको छ । 

कतिपय आयोजनाको लगानीको स्रोत र कार्यान्वयन विधि तय नभएका कारण त्यस्ता आयोजना कार्यान्वयनमा सुस्तता आएको छ । पश्चिम सेती जलविद्युत् आयोजना, विद्युत् प्रसारण आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले यसैकारण गति लिन सकेका छैनन् ।

पुँजीगत खर्च कम, आयोजनामा आवश्यक पर्ने नदीजन्य एवम् खानीजन्य निर्माण सामग्रीको नियमित आपूर्ति र उपलब्धतामा समस्या छन् । आयोजनाको ‘साइट क्लियरेन्स’ नहुँदै ठेक्कापट्टाको कार्य अघि बढाइँदा समस्या आएको देखिन्छ ।

राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमै सक्नुपर्छ, नत्र यस्ता आयोजना घोषणा गर्नुको कुनै औचित्य हुँदैन । यस्ता ठूलो आयोजनाको काम द्रुत गतिमा भए देशभित्रै रोजगारी सिर्जना हुनेछ । यसले रोजगारी खोज्दै विदेशिने केही युवालाई रोक्न सक्नेछ र देशभित्रको अर्थतन्त्र चलायमान बनाउनेछ ।

यदि, अहिलेकै जसरी राष्ट्रिय गौरवका आयोजना कछुवा गतिमा अघि बढाए यसले राज्यको खर्च मात्र बढाउँछ । त्यसैले यस्ता आयोजना नियमन गर्ने संयन्त्र बलियो बनाई देखिएका समस्यालाई छिटो सम्बोधन गरी कामलाई तीव्रता दिनु अत्यन्त आवश्यक छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro