site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधानलाई कुरूप बनाइयो, पुनरवलोकन नगरे सहज ढंगले ०८४ मा पुगिन्न 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

सत्ताको गठबन्धन हेरफेर हुँदा प्राकृतिक हो या अप्राकृतिक छ भन्ने सवालमा म धेर चिरफार गर्न चाहन्न । त्यो त सबैले देखेकै छन्, बुझेकै छन् । चुनावका बेला एउटा गठबन्धन थियो । तिनले गठबन्धनकै नाममा मत मागे । तर, प्रतिनिधिसभा प्रवेश गरिसकेपछि सरकार बनाउँदा त्यो गठबन्धन रहेन । 

संसारमा के देखिन्छ भने चुनावपूर्वकै गठबन्धन सही गठबन्धन मानिन्छ । त्यसरी मत माग्नु नै सही चुनावी धर्म हो । कम्तीमा मतदातालाई यी पार्टीहरू मिलेर चुनाव लड्दैछन्, तिनका संयुक्त घोषणापत्र या प्रतिवद्धता यो छ भन्ने बुझेर अनुमोदित गरेको अवस्था हुन्छ ।

हामी कहाँ पनि चुनावपूर्व गठबन्धन त बन्यो, तर सरकार बन्दा त्यो कायम रहेन । एउटा गठबन्धनले चुनाव लड्यो, सरकार बनाउँदाका बखतसम्म त्यो तितर–वितर बन्यो । अर्थात्, चुनावी गठबन्धन टुट्यो, फुट्यो र भत्कियो । अर्काे दलीय गठबन्धनमा सरकार बनेकै हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

चुनावका बेला एकले अर्कालाई गाली गर्दै थिए, प्रतिनिधिसभामा पस्नासाथ गला मिलाउन पुगेकै हुन् ।

त्यो गठबन्धनले पनि दुई महिना पार गर्न पाएन । अनि फेरि ‘चुनावी गठबन्धन’वालाबीच नै गठबन्धन बन्यो । यतिखेर त्यो गठबन्धन पनि भत्किएको छ, नयाँ गठबन्धन बनेको छ । यस्तो परिस्थिति बन्नु भनेको राजनीति बेइमानी हुनु हो । तर, यस्तो परिस्थिति के कारणले देखापर्‍यो त ? यो हाम्रो संविधानमा देखिएको परिस्थिति र छिद्रले दियो । 

Royal Enfield Island Ad

यो वास्तवमा जनताको मतको दुरुपयोग हो । अब सरकार निम्ति गठबन्धन हेरफेर हुनु कुन प्राकृतिक र कुन अप्राकृतिक भन्ने नै रहेन ।  हामी कहाँ गठबन्धनको अर्काे विकृति के छ भने कुनै पनि पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्री सरकार चलाउन गइरहेको हुँदैनन् कि ऊ पार्टी चलाउन गइरहेका हुन्छन् । 

गठबन्धन सामेल मन्त्रीको जवाफदेहिता पार्टी नेतृत्वप्रति बढी हुने रहेछ, प्रधानमन्त्रीप्रति होइन ।  अनि के पनि देखियो भने मन्त्रीले प्रधानमन्त्रीलाई नटेर्ने प्रवृत्ति विगतमा पनि देखिन्थ्यो, गएकै सरकारमा पनि हामीले त्यो देखेकै हो ।

कतिपय मन्त्री त प्रधानमन्त्रीलाई हेप्ने, होच्याउँथे । उनीहरूको बफादारिता प्रधानमन्त्रीप्रति देखिँदै देखिँदैन थियो, तिनीहरू आफ्नै पार्टी नेतृत्वप्रति मात्र बफादार देखिन्थे । यसो हुनुमा हामी कहाँ अझैसम्म गठबन्धनको संस्कार विकसित नहुुनु पनि हो । 

सरकार परिवर्तन गर्न जसरी जसरी गठबन्धनमा फेरबदल भइरहेका छन्, यसको मूल विषय केलाउनुपर्ने म देख्छु । किनभने हामीले अपनाएको निर्वाचन प्रणालीको उपज हो, सत्ता गठबन्धनका दल हेरफेर हुनुमा ।

जबसम्म मिश्रित निर्वाचन प्रणाली रहन्छ, यस्ता असंगति हाम्रा शासकीय राजनीतिको नियति बन्छ । यथार्थमा भन्ने हो भने यस्ता दृश्य देखिनुमा प्रणालीको मात्रै दोष नभएर हाम्रो संस्कार–संस्कृतिको दोष हो ।

समानुपातिक पद्धति ती देशहरूमा सफल भएका छन्, गठबन्धन संस्कृति–संस्कार स्थापित भइसकेको छ या विकसित भइसकेको छ । हामी त्यो संस्कार स्थापित गर्न सक्ने अवस्थामा छैनौं भने विकसित निकै परको सवाल हो ।

हामीकहाँ राजनीतिक सहकार्यको संस्कृति–संस्कारकै अभाव छ । हुन त, समानुपातिक पद्धति आकर्षक शैलीमा प्रवेश गराइएको हो । जसको प्रतिनिधित्व हुन सकेको छैन, तिनलाई प्रवेश दिलाउन यो पद्धति प्रवेश गराइएको हो ।

तर, त्यो पद्धतिको असल प्रयोग गर्नुभन्दा हरेकजसो राजनीतिक दलहरू दुरुपयोग गर्न नै उद्यत छन् । त्यो पद्धतिमा संसद्मा आफ्ना मान्छे, परिवारका मान्छे, नजिकका मान्छेलाई प्रवेश गराइयो ।  अनि बचेखुचेको पद धनीमानीकहाँ लिलामी पठाइयो, अर्थात् बिक्रीमा पठाइयो । सांसद पद धनाढ्य व्यापारी–व्यवसायी, ठेकेदार लगायतलाई बेचियो ।

समानुपातिक चुनाव पद्धतिले एउटा कुरुपता प्राप्त गरिसक्यो । यद्यपि त्यो समानुपातिक प्रणालीको दोष भन्दा पनि हाम्रो राजनीतिक नेतृत्वकर्ताहरूको दोष हो ।  त्यो पद्धतिले राजनीतिक दलका नेतृत्व वृत्तलाई ठाउँ दियो, तिनले यो पद्धतिलाई कुरुप बनाए । 

मिश्रित निर्वाचन प्रणालीकै कारण कसैको पनि बहुमत नपुग्ने अवस्थाको असंगति हाम्रो राजनीतिको नियति बनेको छ ।  यही निर्वाचन पद्धति रहने हो भने अनेक किसिमका विकृति–विसंगति देख्नुपर्नेछ, भोग्नुपर्ने छ । यही पद्धति रहने हो भने कसैले कल्पना नगरे हुन्छ, कुनै पनि पार्टीको बहुमत प्राप्त जवाफदेही सरकार बन्नेछ ।

त्यहीकारण अब प्रस्टसाथ भन्नुपर्छ कि हामीले संविधानको पुनरवलोकन गरेनौं भने सहज ढंगले २०८४ को चुनावसम्म पुग्न सकिन्न । अब संविधान संशोधन गरी शुद्धीकरण र स्थिरताका निम्ति समृद्ध–संविधान बनाउनुपर्छ । त्यहीकारण मैले संविधानको पुनरवलोकन हुनुपछ भनेको हुँ ।

म यतिखेर के–के विषय संशोधन गर्नुपर्छ भन्न चाहन्न । तर, स्पष्ट भन्न के चाहन्छु भने संविधानको पुनरवलोकन गर्ने बेला भइसक्यो । आगामी चुनावअगावै त्यो पुनरावलोकन भइसक्नुपर्छ ।

यद्यपि ठूला तीन दलको क्रियाकलापले पनि आमनागरिकमा निराशाका भाव मडारिएको छ । उनीहरूको विश्वसनीयता समाप्त हुँदै गएको छ । तथापि संविधान सुधार गर्ने र सम्हाल्न सक्ने क्षमता पनि तीन ठूला दलसँग मात्र छ ।

किनभने संसद्मा तीन दलको ठूलो उपस्थिति छ । उनीहरूको संयुक्त संलग्नताबेगर संविधानमा पुनरवलोकन हुन सक्दैन । 

संविधान पुनरवलोकन होस् या संशोधन, संसद्कै अंक गणितबाट हुने हो । त्यो तीन दलसँग क्षमता र सामर्थ्यता छ । मुलुकलाई ‘ट्रयाक’मा राख्न तीन त्यसमा लाग्नुपर्छ पनि । नत्र यस्ता गठबन्धन परिवर्तन वा सरकार परिवर्तनले आमजनतालाई थप निराश मात्र बनाउनेछ । समयमै निष्कर्ष नखोज्ने भने बचेखुचेको आशावाद पनि मर्दै जानेछ । 

संविधानतः स्थानीय तहलाई जुन जिम्मेवारी प्राप्त छ, तिनले त्यो जिम्मेवारी पूरा गरेका छन् कि छैनन् त्यो पनि पुनरवलोकनको विषय बनेको छ ।  मैले निरन्तर उठाउँदै आएको छु कि प्राथमिक शिक्षा र स्वास्थ्य स्थानीय प्राप्त छ ।

तर, त्यो कार्यान्वयन गर्न सक्ने ल्याकत उनीहरूसँग छैन । देशव्यापी रुपमा माध्यमिक शिक्षाको स्तर खस्किदो छ, प्राथमिक स्वास्थ्यको अवस्था बिग्रदो छ । मैले देश घुम्दाखेरी यसमा हामीले गल्ती गरेकै हो भन्ने निष्कर्ष पुगेको हुँ । तलब सुविधादेखि अन्य कामका लागि रकम जति केन्द्रबाट जान्छ । 

स्थानीय तहमा के हुँदो रहेछ भने त्यहाँ प्रतिशोधको वातावरण हुने रहेछ । तिनले सरुवाबाहेक अरु काम गर्न जानेको देखिएन ।

देशभरिमा करारमा कति मानिसलाई नियुक्त गरियो भन्ने कुनै रेकर्ड छैन । त्यो रेकर्ड न प्रदेश सरकारसँग छ, संघीय सरकारसँग नै । न यो तथ्यांक संघीय मामिला मन्त्रालयसँग छ, न अर्थ मन्त्रालयसँग नै । स्थानीय तहमा मनलाग्दी ढंगले करारमा भर्ती गर्ने क्रम अत्यधिक छ ।  

झन् डरलाग्दो स्थिति के छ भने स्थानीय तहमा स्थायी कर्मचारीलाई जिम्मेवारी नदिने र करारमा भर्ती भएकाहरूलाई जिम्मेवारी दिने प्रचलन बढेको छ । यसले अनेक किसिमको विकृति जन्माउने अवस्था सिर्जना गराएको छ ।

अर्काे त, तीनै तहबाट भएका खर्चको लेखा परीक्षण महालेखापरीक्षकबाट हुन्छ । 

संघ–प्रदेशमा महालेखापरीक्षकद्वारा उठान भएका विषयमा सार्वजनिक लेखा समितिमा छलफल गरी निस्कर्ष खोजिन्छ, तर स्थानीय तहका हकमा संविधान–कानुन सबै मौन छन् । उनीहरूले अनियमितता, बेरुजु बढ्दो क्रममा छ । तर, दुर्भाग्य त्यसमा छलफल गर्ने र निष्कर्ष खोज्ने कामै नहुँदा स्थानीय तह अटेरी हुँदै गएका छन् । 

संसारमा कहीँ नभएको प्रचलन हामी कहाँ देखिएको छ, त्यो के हो भने स्थानीय तहका जनप्रतिनिधिलाई शासक बनायौं, जनप्रतिनिधि रहेनन् । तिनीहरू स्थानीय नागरिकलाई सेवा दिने जनप्रतिनिधिभन्दा पनि शासक बने ।

अर्काे त, तिनका निम्ति मासिक पारिश्रमिककै लागि राज्यबाट ठूलो व्ययभार बेहोर्नुपरेको छ । पालिका प्रमुखदेखि वडाका सदस्यसम्मले तलब बुझ्छन् । वडासदस्यले पनि कम्तीमा महिनाको १३ हजार रुपैयाँ लिन्छन् । यस्तो संसारमा कहीँ पनि हुँदैन । यसले समस्या जन्माएको छ, त्यसरी आकर्षक तलब–सुविधा पाइन्छ भन्ने देखेपछि निर्वाचनमा उम्मेदवार बन्न प्रेरित गरिरहेको छ ।

पहिला गाउँ पञ्चायत हुँदा होस् या गाउँ विकास समिति हुँदा तलबको व्यवस्था थिएन । यतिखेर स्थानीय तहका जनप्रतिनिधिहरूको सेवा–सुविधा प्रदेशसभाले कानुनद्वारा तय गर्ने व्यवस्था छ । प्रदेशहरूले स्थानीय तहका जनप्रतिनिधिहरूलाई तलबी बनाए । यतिखेर देशभर ठूलो संख्याले तलब खाइरहेका छन् । 

राज्यको धन त्यसरी खर्च भइरहेपछि प्रदेशको बदनाम भएको छ । तर, प्रदेशलाई त्यति धेरै अधिकार र स्रोत छैन, उसैलाई बदनाम तुल्याइएको छ । तलबी खर्चको दुरुपयोग स्थानीय तहमा भइरहेको छ । अर्थतन्त्रमा फजुल खर्च बढाएको छ । त्यसको पुनरवलोकन हुनुपर्छ । अन्यथा संघीय पद्धतिलाई झन् बदनाम तुल्याउँछ ।

संविधान कार्यान्वयनमा आएको आठ वर्ष पूरा भइसकेको हुँदा संविधानतः प्राप्त जिम्मेवारी र अधिकार के–कसरी कार्यान्वयन भइरहेको छ भनी मूल्यांकन गर्नु जरुरी छ । 

मैले स्थानीय तहको अधिकार कटौति हुनुपर्छ भनेको होइन, तर ती काम जिम्मेवार ढंगले कार्यान्वयन भयो कि भएन ? स्थानीय तहका अनियमितता र बेरुजु छलफल गर्ने ठाउँ भएन ।  संविधानमै संशोधन गरेर भए पनि त्यसको पनि व्यवस्था हुुनपर्छ । 

करार नियुक्ति बेलगाम ढंगले भइरहेका छन् । स्थानीय तहलाई पालिका प्रहरी राख्ने छूट छ ।  तर, प्रदेशले प्रदेश प्रहरी राख्न सकेको छैन, तर बदनाम प्रदेशै छ । प्रदेशमा गएको बजेटको ६० प्रतिशत हिस्सा स्थानीय तहमै जान्छ । 

कसैलाई बेलगाम छाडियो भने त्यसको मार संविधानले बेहोर्नुपर्ने हुन्छ । त्यसकारण पनि मैले संविधानमाथि पुनरवलोकन हुनुपर्छ भनेको हुँ । 

आमनागरिकमा यसरी सन्देश फैलावट भएको छ कि नेताहरू भ्रष्ट र चोर छन्, पार्टीहरूले आफ्ना कार्यकर्ताबाहेक मुलुकमा निम्ति केही गर्न सकेनन् भन्ने सन्देश फैलिएको छ । 

दलहरू सीमित व्यक्तिकै घेराबन्दीमा रहे, आमनागरिकका समस्या सुल्झाउनै चाहेनन् भन्ने भाष्य देशैभरि डरलाग्दो ढंगले प्रवाहित भएको छ । त्यसप्रति ठूला दलहरू सचेत भएनन् भने समस्या तिनैलाई पर्छ । 

नयाँ दल भनिएकाहरूलाई त पुराना दलले बिगारेका हुन् भने पुग्छ र त्यो पुगेकै पनि छ ।  नयाँ दलहरूसँग के सुधार गर्ने हो भन्ने रोडम्याप पनि छैन । त्यसो त, तिनीहरूले नयाँ रोडम्याप देखाउनु पर्दैन । केवल एक लाइन बोले पुग्छ, ‘पुराना बिगारेका हुन् ।’ 

उनीहरूकै गैरजिम्मेवार बोलीलाई एकचोटि नागरिकले पत्याइहालेका छन् । त्यसैमा लय मिलाउँदै बोलिँदैछ, ‘यी नयाँले बिगार्ने अवसर नै पाएका छैनन्, पुरानैले बिगारेका हुन् ।’

(पूर्वमन्त्री त्रिपाठीसँग बाह्रखरीको कुराकानीमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ०९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro