site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महिलाले आफ्नो क्षमता र गन्तव्य पहिचान गर्ने हो कि ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । आजभन्दा १३ वर्षअघि अटिज्म भएका बालबालिकाको हेरचाह र पुनर्स्थापनाको क्षेत्रमा काम सुरु गर्दा सबिता उप्रेतीको उमेर मात्रै २३ थियो । एक अविवाहित महिला, भर्खरकै उमेर, अनि अटिज्मजस्तो संवेदनशील स्वास्थ्य अवस्थाका बालबालिकाको हेरचाह ।

आफूले थालेको कामबारे समाजलाई विश्वास दिलाउन निकै हम्मेहम्मे पर्‍यो, सबितालाई । कतिपय अभिभावकले सबितालाई अविवाहित फुच्ची देखेकै कारण पुनर्स्थापना केन्द्रमा ल्याएर पनि छोराछोरी फर्काएको घटना सुनाउँछन् ।

“अझै पनि महिलाले नेतृत्वका कामलाई विश्वास गरिहाल्ने समाज कहाँ बनिसकेको छ र ? आफूलाई पटक–पटक प्रमाणित गर्नुपर्छ, त्यसका लागि आफ्नो उद्देश्यमा दृढ रहनुपर्छ, मैले आफूलाई त्यसैगरी तयार गर्दै लगेँ,” सबिता अनुभव सुनाउँछिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

समाजसेवाको १३ वर्षे यात्रामा विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (एसएसडीआरसी)बाट झन्डै ४००य अटिज्म भएका बालबालिकाले सेवा लिइसकेका छन् । तीन जनाबाट सुरु गरेको स्कुलमा यतिखेर ६० जना बालबालिका अटाएका छन् । काठमाडौंको नरेफाँट, गोठाटार र भक्तपुरमा स्कुल विस्तार भएको छ ।

अटिज्म भएका बालबालिकाको क्षेत्रमा काम गर्ने 'इन्टरनेसनल आइडल' बनिसकेकी सबिता यतिखेर सिक्ने र सिकाउने क्रममा हङकङमा छिन् । १७औँ देशको रूपमा केही दिनका लागि त्यहाँ रहँदै गर्दा उनलाई लागेको छ– अन्य देशमा राज्यस्तरबाट बहन गर्नुपर्ने जिम्मेवारी एउटा व्यक्तिले निभाउनु चानचुने काम पक्कै होइन ।

Global Ime bank

दृढता र धैर्यता, उद्देश्यमा सफलता

सबिता उप्रेती, अध्यक्ष विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र


यसमा आफ्नो लक्ष्यप्रतिको दृढता र धैर्यताले नै मुख्य भूमिका खेल्ने उनको निस्कर्ष छ । “महिलाले आफ्नो क्षमतालाई चिन्न जरुरी छ । आफ्नो गन्तव्य पहिचान गरी त्यसमा आफूलाई दक्ष बनाउनु, त्यसैमा आफूलाई अडिग राख्नु, अरूका अपेक्षाभन्दा बढी मेहनत गर्नु र गन्तव्यका लागि सही व्यक्तिको साथ लिनु । यी कडीले महिलालाई सधैँ सफलतामा डोहोर्‍याउँछन्,” सबिता आफ्नो अनुभव सुनाउँछिन् ।

पछिल्लो पुस्तामा धैर्यता र संघर्षको कमी हुँदा कतिपय नेतृत्व सफल हुन नसकेको उनको बुझाइ छ । “अरूले सक्छौँ वा सक्दैनौँ भनेर योजना निर्धारण गर्ने होइन कि म सक्छु भन्ने विश्वास राख्नुपर्छ । कतिपय काममा आफूले सोचे र लक्ष्य राखे अनुरूपकै फल नआउन पनि सक्छ । त्यस्तो अवस्थामा विकल्प राख्नुपर्छ, महिलाले आफ्नो जिन्दगीको निर्णय गर्ने चाबी अरूको हातमा होइन आफ्नो मुठीमा राख्नुपर्छ,” सबिताको सुझाव छ ।

आज ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस । सबिताजसरी खटेका महिलाहरू हाम्रो समाजमा थुप्रै छन् । सन् १९०९ मा अमेरिकी समाजवादी पार्टीले घोषणा गरेको राष्ट्रिय महिला दिवस महिलाको श्रम, ज्याला र मताधिकारसँग जोडिएको थियो । यिनै मुद्दालाई उठाउँदै सन् १९११ मार्च ८ देखि अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालियो ।

त्यो सुरुवाती इतिहास थियो, तर अब महिला दिवस केवल श्रम, पारिश्रमिक र अधिकारका सवालमा मात्रै सीमित छैन । समयसापेक्ष महिला सशक्तीकरण र समाज रूपान्तरणका सवालमा पनि उठ्न थालेका छन् ।

राजनीति र अधिकारभन्दा केही पर रहेर बाह्रखरीले सामाजिक कार्यमा महिला नेतृत्व र तिनको भूमिकाबारे चर्चा गरेको छ ।


'पहिचानसहित बाँच्न हिम्मत र आत्मविश्वास चाहिन्छ'

पिंकी गुरुङ अध्यक्ष, निल हिरा समाज

निल हिरा समाजकी संस्थापक अध्यक्ष पिंकी गुरुङले यौनिक तथा लैंगिक अल्पसंख्यक एलजीबीटीआई समुदायका क्षेत्रमा काम गर्न थालेको झन्डै दुई दशक भयो । यतिखेर उनको परिचय हजारौँ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अभिभावक मात्रै होइन, एक बलियो अधिकारकर्मी र सफल अभियन्ताका रूपमा स्थापित भइसकेको छ ।

“म ‘म’ भएर बाँच्न पाएकी छु, सबैभन्दा ठूलो सफलता त मेरो जीवनमा यही हो,” पिंकीको सफलताको परिभाषा त्यति लामो छैन ।

बालक भएर जन्मिएकी पिंकीलाई आफ्नो वास्तविक पहिचान अर्थात् तेस्रो लिंगी महिलाका रूपमा स्थापित गर्न २२ वर्षको उमेरसम्म संघर्ष गर्नुपर्‍यो । यसका पछाडि समाजले दिने स्थान र गर्ने व्यवहार मुख्यकारण थियो ।

“मानिसको शरीरसँगै आत्मा जन्मिन्छ, आत्माले आफूलाई जुन रूपमा स्वीकार्छ त्यो नै उसको पहिचान हो । जबदेखि म बुझ्ने भएँ तब मलाई महिला हुँ भन्ने आभास भयो । तर, आत्मनिर्भर भएर शारीरिक र मानसिकरूपमा तयार नभएसम्म म खुल्न सकिनँ,” उनी आफ्नो अनुभव सुनाउँछिन् । 

खुलेर महिला बनेर हिँड्ने हिम्मत र आत्मविश्वास सन् २००८ मा जुटेको थियो, उनलाई । उनी आफ्नो अनुभूति यसरी सुनाउँछिन्, ‘‘भित्रभित्रै आफूलाई महिलामा परिणत गरिसकेकी थिएँ । तर परिवारमै खुल्न निकै ठूलो जुटाउनुपर्‍यो; जसोतसो घरबाट निस्किएँ, समाजले अनेकौँ दृष्टीकोणबाट हेर्‍यो, कुरा काटियो, आँखा तरियो, कानेखुसी गरियो, कताकता पाइला नै भारी भएझैँ भयो ।’’

तर, आफूलाई स्वीकार नगर्ने समाजमा झनै खुल्नुपर्छ र दिनदिनै उनीहरूकै अगाडिबाट हिँड्नुपर्छ भन्ने पिंकीको आत्माले अह्रायो । त्यसैअनुसार अघि बढ्दै गइन् । त्यसो त, आफ्नो जिन्दगीको स्वतन्त्रताका अगाडि समाजले गर्ने विभेद पनि ठूलो लागेन उनलाई ।

सोह्र वर्षपछि आइपुग्दा त्यही समाजले उनको कामलाई वाहवाही गर्ने भएको छ । त्यसको खुसी त छँदै छ, उनलाई आफ्नो आत्माले चाहेको पहिचानमा बाँच्न पाउँदा सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको महसुस हुन्छ ।

“म भएर बाँच्न पाउनु नै मेरो गौरव हो, आज महिला दिवस मनाइरहँदा म हरेक व्यक्तिलाई भन्न चाहान्छु; आफ्नो पहिचान स्थापित गर्न र सफलताको बाटोमा अघि बढ्न आफूलाई चिनौँ, आफ्नो हिम्मत र आत्मविश्वासमा अडिग रहौँ,” पिंकी भन्छिन् ।


'...अनि मैले एसिडको जलनको दाग लुकाउन छोडेँ'

जेनी खड्का, सामाजिक अभियन्ता 

के शारीरिक संरचनाले मानिसको सुन्दरतालाई मापन गर्छ ? जलन होस् या अन्य कुनै चोट, दाग देखिँदैमा व्यक्तिको सुन्दरता ह्रास आउने हो त ? कि एसिड आक्रमणमा परेको व्यक्ति भएकै आधारमा समाजका हरेक सवालसँग लुकेर हिँड्नुपर्ने हो ?

चार वर्षअघि आफ्नै श्रीमान्‌बाट एसिड आक्रमणमा परेकी २४ वर्षीया जेनी खड्कालाई यी मान्यतामाथि पटक्कै विश्वास लाग्दैन । अथवा भनौँ, उनी यी सबै कथनहरू जितेर सफल र खुसी जीवन जीइरहेकी छिन् ।

त्यसैले त जेनी जलनका बिरामीलाई परामर्श दिइरहेकी हुन्छिन्; कहिले अस्पताल त कहिले सामाजिक अभियान अनि कहिले सामाजिक सञ्जालबाट ।

घटना २०७६ जेठ १ जेनी काठमाडौंको कालोपुलमा आफ्नै श्रीमान्‌बाट एसिड आक्रमणमा परेकी थिइन् । सानै उमेरमा अन्जानमै भएको वैवाहिक सम्बन्ध टुटिसकेको थियो । सम्बन्धमा रहँदा उसले दिएका चोट र हिंसाका घटना उनलाई सम्झिन मन लाग्दैन । उसो त उनलाई त्यो भनिसाध्य पनि छैन । 

जे होस् घटना हुँदाको समयमा जिन्दगीलाई आफ्नो लयमा फर्काउने प्रयासमा थिइन्, उनी पढाइ र जागिरसँगै ।

सानैदेखि परिवारसँगको बिछोड आर्थिक अभाव, पीडादायी वैवाहिक जीवनजस्ता संर्घषै–संघर्षले त्यहाँसम्म पुर्‍याएको जीवनमा अर्को कहालीलाग्दो घटना थपियो, जुन कहिल्यै निको नहुने निश्चित भइसकेको थियो ।

एसिड आक्रमणबाट उनको बायाँपट्टि चिउँडोमुनिको भाग हात, घाँटी, कान हुँदै टाउकोकोसम्म जलन भएको थियो । अर्थात् जेनीको शरीरमा कहिल्यै निको नहुने गरी दाग बसिसकेको थियो । जलनको दुखाइ त छँदै छ, कीर्तिपुर अस्पतालको डेढ महिने बसाइमा घाउभन्दा बढी मन पोलिरह्यो । मनमा एउटै प्रश्नले छटपटी गराइरह्यो– ‘अब समाजलाई कसरी फेस गर्ने ?’

जेनीभन्दा अगाडि एसिड आक्रमणमा परेकाहरूको अनुभव सुनेरै थाहा भइसकेको थियो कि अब मलाई यो शरीरको चोटभन्दा समाजले दिने चोट सहन कठिन हुनेछ । डेढ महिनाको उपचारपछि घर फर्कन मिल्ने अवस्था आयो ।

तर, उनीसँग डिस्चार्ज भएर जाने पैसासमेत थिएन । घाउ कम भए पनि पैसा नभएकै कारण थप १३ दिन त्यहीँ बसिन् । पछि एक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा डिस्चार्ज भइन् । त्यहीँ संस्थामा केही समय रेस्टमा बसिन् ।

जस्तोसुकै चोट सहेर पनि अखिर जिन्दगी त अघि बढाउनैपर्‍यो, उनी कहानी सुनाउँदै जान्छिन्, “म त्यही गैरसरकारी संस्थाको एउटा प्रोजेक्टमा काम गर्न थालेँ, काठामाडौं बाहिर धेरै जानुपर्थ्यो । जनकपुर र मकवानपुरमा मेरो फिल्ड पर्थ्यो, जलनका घटनाबारे सचेतनाका कार्यक्रमहरूमा आबद्ध थिएँ । गर्मी महिनामा पनि दाग भएको सबै भाग छोपिने गरी सल बाँध्ने गर्थें । औधी गर्मी  हुँदा बाथरुम गएर एकछिन्, सल खोलेर सितल लिन्थेँ, फेरि उस्तैगरी बाँधेर निस्कन्थेँ ।”

काठमाडौं आउने–जाने भइरहन्थ्यो । अनि उनलाई चिने या नचिनेका सबैबाट प्रश्नको लहर चल्थ्यो, ‘‘तपाईंलाई के भएको हो ? कसरी भएको हो ? अब निको हुन्छ कि हुँदैन ?’’

यस्ता प्रश्नले जेनीको पीडामाथि पीडा थपिन्थ्यो । झन् उनीहरूका मनगढन्ते तर्कले वाक्कदिक्क बनाउँथ्यो ।

तर, सामाजिक क्षेत्रमा काम गर्ने संस्थाको प्रतिनिधित्व गरी मकवानपुर जाँदा भने हत्तपत्त कसैले उनको अनुहारका विषयमा प्रश्न सोधिहाल्ने आँट गर्दैनथे । यसैले उनलाई सल खोलेर हिँड्न हिम्मत जुट्यो ।

विस्तारै सोचिन् ‘यसरी कहिलेसम्म दागलाई लुकाएर हिँडे्ने ? यसलाई नढाकेर जो हो त्यहीँ भनेर हिँड्दा मेरो प्रोफेसनमा केही असर पर्छ र ? फेरि यो दागले मेरो आत्मबलमा केही असर पुर्‍याएको पनि त छैन !

समाजले एसिड आक्रमणका घटना र त्यसको दागलाई लिएर सोध्ने अनावश्यक प्रश्नहरूको सामना गर्न नसक्दा न हो कतिपय दिदी–बहिनीहरू खुलेर हिँड्न नसकेका ।

त्यसपछि उनले निर्णय गरिन्– 'अब समाजका जस्तासुकै सवालको जवाफ दिनसक्नुपर्छ आफ्नो खुट्टामा आफैँ उभिनसक्छु र अब म खुला भएर हिँड्छु ।

यही आत्मविश्वासले जेनीलाई जित्यो र आत्माले भन्यो, ‘दाग त जति डरायो, त्यति छोप्न मन लाग्छ ।’

त्यसपछि जेनीले दाग नछोपी खुला भएर हिँड्ने अठोट गरिन् । उता प्रोजेक्ट सकियो, यता जीवनको मोड बद्लिसकेको थियो । लगत्तै काठमाडौं फर्किएर कुमारी बैंकमा क्यासियरको रूपमा काम गर्न थालिन् ।

तर, उनलाई दिनभर पैसा चलाउने कामले सन्तुष्टि पटक्कै दिएन । केही समय बैंकमा काम गरेपछि महसुस भयो, ‘यो काम मेरा लागि होइन । करिअर त्यहीँ बन्छ, जहाँ मन लगाएर काम गर्न सकिन्छ ।’

यही सोचेर उनले बैंकको जागिर छाडिन् । आफूलाई पुनर्जीवन दिएको कीर्तिपुर अस्पताल आफ्नै घरजस्तो बनिसकेको थियो, त्यहीँ जोडिने अठोट गरिन् । लगत्तै साइको सोसियल काउन्सिलिङको ६ महिने बेसिक कोर्स गरिन् ।  कीर्तिपुर अस्पतालमा जलनका बिरामीहरूलाई परामर्शदाताका रूपमा काम गर्न थालिन् । 

अस्पतालमा जलनका घटना भएर आइपुग्ने बिरामीहरूसँग कुराकानी गर्दा उनीहरूको सबैभन्दा ठूलो चिन्ता त्यही हुन्छ– जलेको दागले आफ्नो शारीरिक संरचना बिगार्छ, सुन्दरतामा असर र्पुयाउँछ ।

“तर, म उहाँहरूलाई सम्झाउँछु; शरीरको कुनै भाग जलेको होला । तर, सुन्दर मन त जलेको छैन नि...। अनि दाग हुँदैमा सुन्दर मान्छे एकाएक कुरूप बन्छ र ? यदि कसैले तपाईंको शरीरमा भएको दागलाई हेरेर तपाईंको सुन्दरताबारे विश्लेषण गर्छ भने सम्झिनुस् त्यो व्यक्तिमा मान्छे चिन्ने क्षमता नै छैन,” जेनी सुन्दरतालाई बलियोसँग परिभाषित गर्छिन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC