
काठमाडौं । नेपाल समाजवादी पार्टीले आफ्नो सांसदको विवरण अद्यावधिक गर्न भन्दै निर्वाचन आयोग र संघीय संसद्मा पत्र पठाएको छ । पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले पठाएको पत्र निर्वाचन आयोग र संघीय संसद्मा पुगिसकेको छ ।
नेसपाका एक नेताले दिएको जानकारी अनुसार एक महिना अघि पठाएको पत्र आयोग र सभामुख देवराज घिमिरेको टेवलमा छ । तर‚ दुवैतर्फबाट कार्यान्वयन भएको छैन ।
पत्र कार्यान्वयन भए संघीय संसद्मा नेसपाको दुई सिट कायम हुनेछ भने नेकपा माओवादी केन्द्र ३० सिटमा झर्नेछ ।
गएको निर्वाचनमा नेसपा महिन्द्रराय यादव माओवादीको चुनाव चिह्न गोलाकारभित्र हसिया हथौडाबाट निर्वाचित भएका हुन् । सर्लाहीबाट निर्वाचित उनले तत्कालीन लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई हराएका हुन् ।
ती नेताका अनुसार समानुपातिकबाट सांसद बनेकी उमरादेवी यादव पनि नेसपाकी नेतृ हुन् । पत्र कार्यान्वयन भए यी दुवै सांसद नेसपाका हुन्छन् र उनीहरूलाई माओवादी पार्टीको ह्विप लाग्न छोड्छ ।
यस्तै, प्रदेशतर्फ पनि नेसपाका सांसद छन् । वाग्मती प्रदेशमा गंगानारायण यादव पार्टी संस्थापक मध्येका एक नेता हुन् । उनी हाल आन्तरिक मामिला तथा कानुनमन्त्री हुन् । उनले प्रदेश सरकारको प्रवक्ता भएर काम गरिरहेका छन् ।
गण्डकी प्रदेशमा नेसपाबाट एक सांसद छन् । फणिन्द्र देवकोटाले माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडे पनि उनी पार्टीकै सांसद भएको ती नेताले बाह्रखरीलाई जानकारी दिए ।
“केन्द्रमा महिन्द्र सर र उमरादेवी हाम्रो सांसद हुन् । वाग्मतीमा गंगाजी र गण्डकीमा फणिन्द्रजी पनि हाम्रै पार्टीका नेता हुन्‚” ती नेताले भने‚ “विगतको अभ्यास र नजिरले काम गर्दा उहाँहरू माओवादीको ह्विपबाट मुक्त हुनुहुनेछ । यो कुरा बुझेर सभामुख घिमिरले पत्र कार्यान्वयन अल्झाएर राख्नुभएको छ । हामी धाइरहेका छौँ ।”