site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिनेमा इन्टरनेसनल फेस्टिभलमा पुग्दैमा रमाउने ? 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । चलचित्र ‘खांग्री’ निर्माण भएको २९ वर्ष भयो । सन् १९९५ मा ‘खांग्री’ बनेन मात्र इन्टरनेसनल फेस्टिभलमा पनि गयो । इटालीको ट्रिन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा यो सिनेमा पुग्दा नेपाली चलचित्रले इतिहास पनि रच्दै थियो । अर्थात्, इन्टरनेसनल फिल्म फेस्टिभलमा नेपाली सिनेमा पुगेको त्यो पहिलोपटक थियो ।

त्यसयता दर्जनौँ नेपाली सिनेमाले विश्वका थुप्रै इन्टरनेसनल फिल्म फेस्टिभलको फन्को मारिसकेका छन् । टोरन्टो, बुसान, बर्लिनजस्ता विश्वकै प्रतिष्ठित फेस्टिभलमा नेपाली सिनेमा पुगिसकेका छन् । थोरबहुत उपलब्धि पनि हासिल गरिसकेका छन् ।

विश्वभरका प्रतिष्ठित निर्देशकका बहुचर्चित सिनेमा देखाइने फेस्टिभलमा नेपाली सिनेमा पुग्नु आफैँमा ठूलो उपलब्धि हो । तर, त्यति नै पर्याप्त हो ? इन्टरनेसनल फेस्टिभलमा पुग्दैमा विश्वबजारमा नेपाली सिनेमाको बजार विस्तार भयो ?

KFC Island Ad
Dabur Nepal
NIC Asia

निर्देशक छिरिङ रितार शेर्पा इन्टरनेसनल फेस्टिभलमा नेपाली चलचित्र पुग्नु आफैँमा महत्त्वपूर्ण भए पनि त्यसमै चित्त बुझाएर बस्न नहुनेमा जोड दिन्छन् । “फेस्टिभलमा पुग्नु आफैँमा राम्रो हो । उपलब्धि हो । तर, यही नै पर्याप्त होइन,” छिरिङ भन्छन्, “कुनै समय एसएलसीको पनि ठूलो महत्त्व थियो । तर, अहिले एसएलसीको कति भ्यालु छ भन्ने कुरा हो । अहिलेको अवस्थामा एसएलसी पास गरेर मात्रै हुँदैन । हामीले ‘थ्रेसहोल्ड’ त कटायौँ, तर त्यति मात्रैले पुग्दैन ।”

बक्सअफिसमा रेगुलर सिनेमा नलागेसम्म अथवा ओटीटीमा रिलिज नभएसम्म विश्वबजारमा चलचित्र पुगेको मान्न नहुनेमा उनको जोड छ । “जबसम्म हलमा सिनेमा रिलिज हुँदैनन् र ओटीटीमा रिलिज हुँदैन, तबसम्म विश्वबजारमा सिनेमा पुग्यो भनेर मान्न मचाहिँ तयार छैन,” उनी भन्छन्, “त्यसरी सिनेमा नेपालबाट बाहिर गएका छन् भन्ने लाग्दैन ।”

Royal Enfield Island Ad

वर्षमा कुनै एक/दुई सिनेमा गएर पनि त्यसलाई विदेशी बजारमा चलचित्र पुगेको भन्न नमिल्ने उनको तर्क छ । कोरियाली, स्पेनी, इरानीजस्तै रेगुलर रिलिज भएपछि मात्र विदेशी बजारमा सिनेमा पुगेको भन्न मिल्ने उनको धारणा छ ।

“फेस्टिभलमा पुग्नु भनेको सिनेमा नोटिस हुनु हो । तर, त्यही नै सिनेमा बिक्री भएको होइन,” छिरिङ भन्छन्, “रेगुलर रूपमा स्थानीय नागरिकले सिनेमा हेरेपछि मात्रै विदेशमा सिनेमा पुग्यो भन्न मिल्छ ।”

अहिलेकै प्रयास र अवस्थामा विदेशी बजारमा सहजै पुग्न नसकिने उनी औँल्याउँछन् । नेपालमा अहिले व्यक्तिगत प्रयास र लगानीमा मात्र सिनेमा बनाइएको उनी सुनाउँछन् । व्यक्तिगत लगानीमा विदेशी बजारमा जाने सिनेमा बनाउन कठिन हुने उनको भनाइ छ ।

“व्यक्तिगत लगानीमा राम्रो सिनेमा बनाउन सधैँ सम्भव हुँदैन । व्यक्तिले बनाउने भनेको बढीमा एउटा सिनेमा हो,” उनी अगाडि थप्छन्, “यस्ता सिनेमा बनाउन राज्यले लगानी गर्ने वा अनुदान दिनुपर्छ, जुन नेपालमा अहिले यो अभ्यास गरिएको छैन ।”

निर्देशक तथा लेखक उपेन्द्र सुब्बा विदेशी बजारमा नेपाली सिनेमा पुग्ने बाटो इन्टरनेसनल फिल्म फेस्टिभल पनि एउटा भएको बताउँछन् । फेस्टिभल नेपाली सिनेमा चिनाउने प्लेटफर्म भएको उनको बुझाइ छ ।

“सायद यस्तैयस्तै प्लेटफर्मबाट नेपाली सिनेमा विश्वबजारमा पुग्ने होला । झोलामा सिनेमा बोकेर म फिल्म लिएर आएँ है भनेर कसैले सिनेमा किन्ने र हेर्ने हुँदैन होला,” उनी भन्छन्, “विदेशका फेस्टिभलमार्फत नेपाली सिनेमाको परिचय विस्तार गर्दै जानुपर्छ । विश्वभरका सिनेमामेकर आउने ठाउँमा नेपाली सिनेमा पनि हुनु भनेको नेपाली चलचित्रको पहिचान फैलिनु पनि हो ।”

पछिल्लो समय विदेशका मल्टिप्लेक्स चेनमै सिनेमा रिलिज भइसकेको भन्दै यो संख्यालाई बढाउनुपर्नेमा उनको जोड छ । ओभरसिज राइट्स लिने व्यक्ति तथा कम्पनीले हलमै सिनेमा रिलिज गरिरहेको उनी बताउँछन् ।

“मीन भामको ‘साम्बाला’ विदेशका कुनै ओटीटीमा जाला, नवीन सुब्बा दाइको ‘गाउँ आएको बाटो’ विदेशका हल र ओटीटीमा जाला । यी सिनेमालाई फेस्टिभलमा गएकाले विदेशी बजारमा जान पक्कै सहयोग मिल्छ होला,” उनी भन्छन्, “नेपालमै मात्र बसेर, नेपालका लागि मात्रै बनाएर त पक्कै पनि विदेशी बजार भेटिँदैन होला ।” 

इन्टरनेसनल फिल्म फेस्टिभलमा जानु नै विदेशी बजारमा जाने कोसिस भएको र यसलाई निरन्तरता दिनुपर्नेमा उपेन्द्र जोड दिन्छन् । “फेस्टिभलहरूमा नेपाली सिनेमा बाक्लै रूपमा जाने हो भने पक्कै पनि हाम्रो चलचित्रको राम्रो परिचय बन्छ । फेस्टिभल जानु भनेको हाम्रो सिनेमा कुन स्तरको बनिरहेको छ भनेर जाँच्नु पनि हो,” उनी अगाडि थप्छन्, “हाम्रो कथा यस्तो छ, हामीसँग यस्तो टिम छ, हामी यतिसम्मको चलचित्र बनाउन सक्छौँ भनेर भन्ने माध्यम फेस्टिभल हो । यसैगरी नै हामी अगाडि बढ्ने हो ।”

विश्वभरका सिनेमा बजारका मान्छे आउने ठाउँमा नेपाली चलचित्र जति धेरै पुर्‍याउन सक्यो त्यति नै विदेशी वितरकलाई बिक्री गर्न सहज हुने उनको धारणा छ । “फिल्म किन्ने र बेच्ने दुवै भेला हुने ठाउँमा हाम्रो दरिलो उपस्थिति हुुनु भनेको हामी विश्वभरका सिनेमासँग सम्बन्धित पक्षमा नोटिस हुनु हो,” उपेन्द्र भन्छन्, “यसले हामीलाई विश्वबजारमा नै पुर्‍याउने हो ।”

फेस्टिभलमा पुग्नु सिनेमाले सिधै व्यापार गर्नु नभए पनि यसलाई सन्तोषनक रूपमा लिनुपर्ने उनी बताउँछन् । “सानोस्तरमै भए पनि काम भइरहेको छ । हलमा सिनेमा रिलिज हुन थालेको छ । यसलाई निरन्तरता दिँदै अझै बाक्लो बनाउनुपर्छ,” उनी भन्छन्, “यसलाई उचाइ दिन हामीले पनि राम्राराम्रा सिनेमा बनाउनुपर्छ । सायद यसरी नै विदेशमा नेपाली सिनेमाको बजार पनि बन्दै/बढ्दै जान्छ ।”

इन्टरनेसनल फिल्म फेस्टिभलको तीन दशकको यात्रामा केही उपलब्धि भएको तर यसमै रमाएर बस्न नहुने निर्देशक प्रदीप भट्टराई बताउँछन् । “यो तीन दशकमा केही नभएको भन्ने होइन । ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको मेन क्याटागोरीमा प्रतिस्पर्धा गर्न पुग्यो । यो उपलब्धि हेर्ने हो भने केही भएको पनि हो । तर, फेस्टिभलभन्दा माथि धेरै जान नसक्दा केही भएको छैन जस्तो पनि लाग्छ,” प्रदीप भन्छन्, “फेस्टिभलमा जाने मात्रै भन्दा पनि समग्र सिनेमा उद्योगमा नै राम्रा चलचित्र बन्नुपर्छ भन्ने हो । राम्रा चलचित्र बने त्यसैभित्रबाट चलचित्र फेस्टिभल र विश्वबजारमा जाने हो ।”

टेकेको धरातल नै बलियो नभए खुट्टा काम्ने उनको टिप्पणी छ । राम्रा चलचित्र भए जहाँ पनि जाने र बलियो उपस्थिति हुने उनी बताउँछन् । नेपालमा सिनेमा उद्योग फस्टाउन नसकेको उनको भनाइ छ । उनी भन्छन्, “पहिला देशभित्रै सिनेमा उद्योग बलियो हुनुपर्छ ।”

विश्वबजारका दर्शक र मेकरसामु सिनेमा पुग्नु बेग्लै विषय भएको र यसलाई भिन्दाभिन्दै रूपमा बुझ्नुपर्नेमा उनको जोड छ । “ग्लोबल अडियन्सका लागि वर्ल्डवाइड रिलिज हुनु विश्वबजारमा सिनेमा पुग्नु हो,” उनी स्पष्ट पार्छन् ।

फेस्टिभल भने सिनेमा निर्माणका निम्ति कथा पिच गरेर फन्ड कलेक्सन गर्ने र आफ्ना चलचित्र विश्वभरका मेकरमाझ देखाउने ठाउँ भएको प्रदीपको भनाइ छ । “अहिले हामी फेस्टिभलमा गएर संसारका दर्शकभन्दा पनि संसारभरका सिनेमा मेकरलाई भेटिरहेका छौँ । तर, यो पनि आफैँमा राम्रो हो । संसारभरका ठूला मेकर जसले विश्वका दर्शकलाई सिनेमा देखाइरहेको छ, उसले हाम्रो चलचित्र हेरिरहेको छ,” प्रदीप भन्छन्, “उहाँहरूले हाम्रो कथामा रुचि र चासो देखाउनु भनेको ढिलोचाँडो ग्लोबल अडियन्समा पुग्नु नै हो । ग्लोबल अडियन्समा पुग्ने माध्यम इन्टरनेसनल फिल्म फेस्टिभल र त्यहाँ भेला हुने मेकर नै हुन् ।” 

विश्वबजारमा जाने बाटो पहिल्याएको तर त्यहाँबाट फड्को मार्न बाँकी रहेको उनी बताउँछन् । यसनिम्ति सिनेमा नै बलियो हुनुपर्ने उनको भनाइ छ । “छोराछोरीलाई जागिर खुवाउन तपाईंले पावरवाला मान्छे चिन्नुभएको छ भने पनि सन्तान क्यापेबल छैन भने तपाईंले त्यो मान्छे चिनेको केही काम लाग्दैन,” प्रदीप भन्छन्, “पहिला आफ्नो सन्तानलाई फिट बनाउनुपर्‍यो । अर्थात्, पहिला त सिनेमा नै बलियो बनाउनुपर्छ । कन्टेन नै पावरफुल हुनुपर्छ ।”

विश्वभरका सिनेमा सेन्सर भएर बक्सअफिसमा लाग्ने र व्यापार गर्ने अवस्थामा पुग्नुपर्नेमा उनी जोड दिन्छन् । यो सहज नरहेको उनको ठहर छ । “हाम्रो स्टोरी टेलिङ एकै खालको छ । हाम्रो स्टोरी टेलिङ नेपाली अडियन्सका लागि मात्रै हो । विश्वबजारमा जाने हो भने त्यहीअनुसारको स्टोरी टेलिङ हुन्छ,” प्रदीप भन्छन्, “विश्वबजारमा सिनेमा बिक्री गर्ने मेकरले मानवीय संवेदनालाई बुझेर सिनेमा बनाइरहेका हुन्छन् । उनीहरू तटस्थ बसेर कथा भनिरहेका हुन्छन् । न हिरोका तर्फबाट न हिरोइनका तर्फबाट कथा भन्छन् । कथालाई केन्द्रमा राखेर सिनेमा बनाइरहेका हुन्छन् ।”

नेपाली मेकरले अहिले पनि हिरोका पक्षबाट कथा भनिरहेको प्रदीप स्वीकार गर्छन् । नेपाली सिनेमामा हिरो जन्मँदै नायक हुने परम्परा अझै नतोडिएको उनको भनाइ छ । “फेस्टिभलमा गएर हामीले संसारमा कस्ता सिनेमा बनिरहेका र चलिरहेका छन्, कस्ता सिनेमा बिक्री हुन्छन्, कस्ता सिनेमा ग्लोबल अडियन्सले मन पराइरहेका छन्, कस्ता चलचित्र ग्लोबल मेकरले किनिरहेका छन् भन्ने फेस्टिभलमा गएर अध्ययन गर्ने हो,” उनी भन्छन्, “यो बुझ्ने हामीले मौका पाइरहेका छौँ ।”

निर्देशक मिलन चाम्स फेस्टिभलमा सिनेमा पुग्नु आफैँमा सफलता भए पनि त्यति नै पर्याप्त नरहेको बताउँछन् । इन्टरनेसनल फेस्टिभलमा पुग्नु नेपाली सिनेमा विश्वबजारमा पुगेको भनेर बुझ्न नहुने उनको धारणा छ । फेस्टिभल र विश्वबजारमा सिनेमा पुग्नु फरकफरक विषय र उपलब्धि भएको उनी स्पष्ट पार्छन् । इन्टरनेसनल फेस्टिभलमा पुग्दा नै नेपाली सिनेमा विश्वबजारमा पुगेजसरी व्याख्या भइरहेकामा उनको असन्तुष्टि छ ।

सेन्सर भएर स्थानीय बक्सअफिसमा चलचित्र लागेको अवस्थालाई मात्र विश्वबजारमा सिनेमा पुगेको मानिने उनी बताउँछन् । फेस्टिभल र चिनजानका आधारमा नेपालीलाई बोलाएर कम्युनिटी हलमा सिनेमा देखाउँदैमा विश्वबजारमा पुगेको मान्न नहुनेमा उनको जोड छ ।

विश्वमा बजार खोज्न नेपाली ब्रान्ड नै लिएर जानुपर्ने उनी औँल्याउँछन् । “मूलतः नेपाल सगरमाथा, बुद्ध र गोर्खालीको देश भनेर चिनिन्छ । हिमाल र बुद्धका विषयका सिनेमा निःसन्देह नेपालबाटै बनाइनुपर्थ्यो । वार जानराको सिनेमा पनि सबैभन्दा धेरै नेपालबाटै बनाइनुपर्ने थियो । तर, बनाइएको थिएन,” मिलन भन्छन्, “नेपालबाट सगरमाथा, शेर्पा, बुद्ध र गोर्खाली गाथा अथवा वारका विषयमा बनेका सिनेमा लिएर विश्वबजारमा जाँदा नेपाली सिनेमा भनेर बेच्न सहज हुन्छ ।”

नेपाल र नेपालीको पहिचान झल्काउने विषयमा बनाइएका सिनेमा विश्वबजारमा बेच्न सहज हुने उनी आफैँले अनुभव गरिसकेका छन् । नयाँ चलचित्र ‘गोर्खा वारियर’बाट मिलनले गरेको अनुभव हो यो ।

“ब्रान्डले पनि ठूलो काम गर्दो रहेछ । मेरो सिनेमा ‘गोर्खा वारियर’ कोरियन कम्पनीले गोरखा वारको भन्नेबित्तिकै हेर्दै नहेरी सात वर्षका लागि राइट्स किन्यो,” उनी भन्छन्, “अमेरिकन सेल्स एजेन्टले पनि गोर्खा वारको सिनेमा भएकाले वर्ल्डवाइड वितरण गर्ने भएको छ ।” गोर्खालीको विषय भएकैले यो सिनेमाको राइट्स बिक्री भएको उनको बुझाइ छ ।

तर, हिमाल, गोर्खालीको वीरताको कथा र बुद्धका विषयमा सिनेमा बनाउने भनेर मात्र नहुने उनी स्पष्ट पार्छन् । विषयानुसारको मेकिङ पनि हुनुपर्ने मिलन बताउँछन् । नेपाली ‘ब्रान्ड’मा राम्रा सिनेमा बनाएर विश्वबजारमा पठाउन ढिलाइ गर्न नहुनेमा उनी जोड दिन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro