site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
०७९ पुस १० मा जसरी निराश छैनन् देउवा
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘प्रचण्ड’ प्रतिकूल अनेकन टिप्पणीमा ‘रप्फु’ भर्दै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालका हकमा सोमबार शब्द 'क्वाइन' गरेका छन्– ‘धोकेबाज ।’

नयाँ सत्ता गठबन्धन बनेसँगै सोमबार देउवाले आफ्नै निवासमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक डाकेका थिए । तर, विगतमा देउवा गठबन्धन टुट्दाजस्तो निराश नदेखिएको एक पदाधिकारीले बाह्रखरीलाई जानकारी दिए ।

“०७९ पुस १० मा सभापति देउवा एकदमै ‘होपलेस’ देखिनुहुन्थ्यो । बालुवाटार बैठकमा सर्वस्व गुमाएझैँ प्रस्तुत हुनुभएको थियो,” ती पदाधिकारीले भने, “तर, यसपटक उहाँ प्रचण्डले धोका दिँदै छन् भन्ने पहिले नै थाहा भएको शैलीमा प्रस्तुत हुनुभयो । उहाँ पहिलेदेखि यस्तै हुन्छ भन्ने मानसिकतामै हुनुहुन्थ्यो ।”

Prabhu Bank
Agni Group
NIC Asia

गत वर्ष फागुनमा राष्ट्रपति चुनावसँगै जोडिएको कांग्रेस–माओवादी गठबन्धन राष्ट्रियसभा अध्यक्ष निर्वाचनसन्मुख टुटेको छ ।

राष्ट्रियसभामा पहिलो दल माओवादीले विगतको समझदारी तोड्दै राष्ट्रियसभामा आफ्नै उमेदवार उठाउने निर्णयपछि कांग्रेस सशंकित भएको थियो । 

Global Ime bank

पार्टीको बैठकमा देउवाले सत्ता गठबन्धन कांग्रेसका कारण नटुटेको बताएका छन् । मन्त्री फेर्ने कुरा प्रचण्डले बहाना मात्र बनाएको भन्दै प्रचण्ड नियत र पूर्वतयारीका साथ गठबन्धन तोडेको उनको बुझाइ थियो । 

प्रचण्डले कोसी सरकार बनेलगत्तै गठबन्धन तोड्ने अवस्था रहेको भन्दै उनले आफ्नो योजना अनुसार गठबन्धन तोडेको बताएका थिए ।

कोसी सरकार गठनका विषयमा सत्ता गठबन्धनमा माओवादीलाई मुख्यमन्त्री दिने सहमति भएपनि शेखर कोइराला निकट केदार कार्कीसहित आठ जनाले विद्रोह गरेपछि एमालेको सहयोगमा कार्की मुख्यमन्त्री बनेका थिए ।

त्यतिबेला केन्द्रको गठबन्धन टुट्ने चिन्ता कांग्रेसमा देखिएका बेला प्रचण्डले शेखरसमेतलाई राखेर गठबन्धन अघि बढाउने समझदारी हस्ताक्षर गरेका थिए ।

त्यस्तो समयमा समेत गठबन्धन कायम राख्ने निष्कर्षमा रहेको माओवादी एकाएक सरकारबाट बाहिरिएको नभई पूर्वयोजनासहित बाहिरिएको देउवाको भनाइ थियो । 

गठबन्धन टुटेपछिको परिवर्तित सन्दर्भमा देउवाले नयाँ रणनीति तय गर्न मंगलबार कार्यसम्पादन समिति डाकेका छन् । 

पदाधिकारी बैठक सकिएपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसका कारण गठबन्धन टुटेको नभई प्रधानमन्त्री प्रचण्डले किन तोडेको र कहाँ लैजान खोजेको हो भन्ने सवाल आफूहरूलाई थाहा नभएको बताए ।

“गठबन्धनमा चुनाव लडेर जनतालाई शान्ति र स्थिरता दिन्छौँ भनेपछि गठबन्धनकै सरकार चलाउनु जनताको ‘म्यान्डेट’अनुरूप थियो । हिजो एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछि गठबन्धनमा फर्कंदा पनि जनताको ‘म्यान्डेट’को सम्मान गर्न पुरानै गठबन्धनमा फर्किएको उहाँले बताउनुभएको थियो,” महामन्त्री शर्माले भने ।

शर्माले भने, “आज एकाएक उहाँ गठबन्धन तोडेर जानुभएको छ । हेरौँ, उहाँले जनतालाई कसरी विश्वासिलो जवाफ दिनुहुन्छ ?”

कांग्रेस सत्तामा बस्दा र सडकमा हुँदा मुस्कुराउँदै हिँड्ने बताउँदै शर्माले अब समस्या प्रचण्डलाई नै हुने बताए ।

कांग्रेसका नेता अर्जुननरसिंह केसीले भने नेपाली कांग्रेस धेरै शक्तिको दबाब र प्रभावमा नै फैलिने गरेको भन्दै यो गठबन्धनले पनि कांग्रेसलाई लाभ हुने बताए । उनले अरू सबैको आक्रमण कांग्रेसका लागि बरदान सावित हुने गरेको बताए । 

“जबजब सबै शक्तिले कांग्रेसलाई चुनौती गर्छन्, त्यतिबेला कांग्रेस बलियो भएर आएको छ,” केसीले भने, “यो नेपाली कांग्रेसलाई प्राप्त गुप्त बरदान हो ।”

पुस १० को अन्तर्य

०७९ मंसिरमा भएको निर्वाचनको परिणाम आइसकेपछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० भित्रमा बुहमतसहित प्रधानमन्त्रीको दाबी पेस गर्न आह्वान गरेकी थिइन् । गठबन्धनमै चुनावमा गएका कांग्रेस र माओवादीबीच प्रधानमन्त्रीको पहिलो कार्यकाल कसले लिने भन्ने विवाद निरुपण हुन सकेको थिएन ।

प्रधानमन्त्री पदमा बहाल रहेका देउवा प्रधानमन्त्री पदमै रहन चाहन्थे । कांग्रेसले ‘सबै तहमा आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने’ निर्णय गरिसकेको थियो । पार्टी निर्णयलाई देखाएर माअ‍ोवादी केन्द्र तत्काल एमालेसँग मिल्न नजाले निष्कर्षसहित देउवाले अडान कायम राखे ।

पुस १० गते बिहान ८ बजे बसेको बैठक बीचमा रोकिएर १०ः३० बजे पुन: बसेको थियो । त्यसमा पनि सहमति नभएपछि खाना खाएर आउँछु भन्दै बाहिरिएका प्रचण्ड एकैपटक बालकोट पुगेका थिए । बालकोट पुगेर एमालेको समर्थनमा प्रचण्डले प्रधनमन्त्री दाबी गरेसँगै सत्ता गठबन्धन टुटेको थियो ।

एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि त्यसबेला कांग्रेसले पाउने भनिएको सभामुख एमालेले पाएको थियो । केन्द्रसहित सबै प्रदेशमा प्रतिपक्षमा पुगेको कांग्रेस करिब दुई महिना सत्ताबाहिर रह्यो । एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डसँग वार्ता गर्दै पुस २६ मा विश्वासको मतसमेत दिएको कांग्रेस राष्ट्रपतिमा माओवादीको समर्थन लिँदै सत्ता प्रवेश गरेका थियो । एमाले सत्ताबाट बाहिरिएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७८ जेठ ८ मा दोस्रोपटक संसद् विघटनपछि बनेको कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी)सहितका दलको गठबन्धन ०७९ पुस १० टुटेर राष्ट्रपति चुनावमा पुन: जोडिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC