site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माधवलक्षित ओलीको टिप्पणी : प्रधानमन्त्री बन्छु भन्दै हिँड्ने कुरा हास्यास्पद

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले प्रधानमन्त्री हुन्छु भन्दै हिँड्ने कुरा हास्यास्पद रहेको टिप्पणी गरेका छन् ।

बुधबार सुनसरीको इनरुवामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले नेपालको नाम नलिई आगामी असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडेको र उनका समर्थकहरूले ताली बजाएकोमा आफूलाई अचम्म लागेको पनि बताए । 

Argakhachi Cement Island Ad

संसद्‌मा राष्ट्रिय मान्यता नपाएको दलका मान्छे कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ? भनि अध्यक्ष ओलीले प्रश्न समेत गरे । उनले संविधान, कानुन कता छ, संसद्‌मा के छ ? भन्ने थाहा नपाएकाले प्रधानमन्त्री हुन्छु भनेर कराएर हिँड्ने गरेकाले देशमा व्यवस्था विरोधी अराजक गतिविधि बढिरहेको जिकिर समेत गरे । 

ओलीले भने, "कुनै राजनीतिक पृष्ठभूमि नभएका, कुनै जनाधार नभएका, राजनीतिक दृष्टिकोण नभएका, कुनै प्रकारको गन्तव्य नभएका, कुनै नीति नभएका, त्यस्ता तत्वहरू । आज कति हास्यास्पद छ देशको राजनीति, जो मान्छे संसद्‌मा छैन, त्यस्तो मान्छे सडकमा आएर भन्छ– म असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दैछ, अगाडि बसेका मान्छेहरू हो हो भनेर टप्याटप्याट गर्छन् । अचम्म लाग्छ । संविधान कता छ ? कानुन कता छ ? संसद् के छ ? त्यो केही थाहा छैन । अनि एउटा मान्छेले कराई दिन्छ–म असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर । कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ऊ ? तर यस्तो अराजकता । के बोल्दैछु उसलाई थाहा छैन । यस खालको स्थिति छ ।" 

ओलीले सरकारको असफलताले गर्दा देश असफलतातिर जाँदै गरेको बताए । ओलीले भने, "सरकारको असफलताले गर्दा देश असफलतातिर जाँदैछ । राजनीति असफलतातिर जाँदैछ । अर्थतन्त्र असफलतातिर । समाज अराजकता, अनुसशासनहिनता आफ्नो सभ्यता, संस्कृति सबै बिर्संदै गएको उत्ताउलो, छाडा, अराजक भइरहेको छ । यस्तो अवस्थामा जनता कतै उत्साहित हुने ठाउँ नपाएर, मन अड्याउने ठाउँ नपाएर निराशामा छन् । यस अवस्थाको फाइदा लिएर विभिन्न प्रकारका प्रतिगामी शक्तिहरू मौका आउँछ कि भनेर केही सडकमै उपद्रव मच्याउन निस्केका छन् ।"

अध्यक्ष ओलीले आगामी, २०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याएर सरकार बनाउने समेत दोहोर्‍याए ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्