site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी बैठकमा प्रचण्डमाथि प्रश्न, राष्ट्रियसभा अध्यक्षमा ‘उदार’ बन्ने संकेत

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)का नेताहरूले राष्ट्रियसभाको अध्यक्ष पद कुनै पनि हालतमा नछाड्न प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिएका छन् । मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा नेताहरूले ‘उदार’ नबन्न आग्रह गरेका हुन् ।

“हाम्रा अध्यक्ष अलिक बढी उदार हुनुहुन्छ । उहाँले छोड्न पनि सक्नुहुन्छ । राष्ट्रियसभा अध्यक्ष कुनै पनि हालतमा छाड्नु हुँदैन भन्ने दबाब दिएका छौँ,” बैठकमा सहभागी एक नेताले बाह्रखरीसित भने ।

उनका अनुसार, राजनीतिमा सधैँ उदारता काम नलाग्ने भन्दै निर्वाचनबाट पाएको ‘धोका’लाई स्मरण गर्न अध्यक्षलाई नेताहरूले सुझाव दिएका छन् ।

बैठकमा सहभागी अर्का एक नेताका अनुसार, प्रचण्डले गठबन्धनका निम्ति राष्ट्रियसभा अध्यक्ष पद छाड्न तयार रहेको संकेत गरेका थिए । “उहाँले गठबन्धनका लागि म छाड्न पनि सकारात्मक छु भन्ने खालको संकेत गर्नुभएको छ,” ती नेताले भने ।

नेताहरूले प्रधानमन्त्री पद गुमेपछि संवैधानिक परिषद्को बैठकमा माओवादी केन्द्रको उपस्थिति शून्य हुने स्थितिको मूल्यांकन गर्न अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् । अहिलेको अवस्थामा प्रचण्ड प्रधानमन्त्रीबाट हटेपछि संवैधानिक परिषद्मा माओवादीको उपस्थित हुने सम्भावना छैन ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन यही फागुन २९ गते गर्ने कार्यतालिका छ । सत्ता गठबन्धनमा त्यसबारे औपचारिक संवाद भने भएको छैन ।

राष्ट्रियसभा अध्यक्षमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाको दाबी छ । माओवादी र नेकपा (एकीकृत समाजवादी)ले पनि सो पद लिन खोजेका छन् ।

हालैको कांग्रेस महासमितिमा जनयुद्ध बेठिक थियो भन्ने प्रंसगका विषयमा पनि माओवादी बैठकमा छलफल भएको ती नेताले जानकारी दिए ।

यस्तै, महासमितिमा कांग्रेसीले हिन्दुराज्यको विषय उठाउँदा प्रचण्ड मौन रहेको भन्दै माओवादी नेताहरूले बैठकमा आपत्ति जनाएका थिए ।

“गठबन्धनभित्रकै दलमा संविधानभन्दा विपरीत कुरा आएका छन् । यो विषयमा हामी गम्भीर बन्नुपर्छ, अध्यक्ष (प्रचण्ड) किन बोल्नु हुन्न ?,” बैठकमा भएको छलफल एक नेताले सुनाए ।

गठबन्धनभित्र राजनीतिक इमानदारिता हुुनुपर्नेमा माओवादी नेताहरूले जोड दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro