site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गर्ने जिम्मा मन्त्री बस्नेत र गुरुङलाई (निर्णयसहित)

काठमाडौं । सरकारले बालकुमारी घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगको सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई दिएको छ । 

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन अध्ययन गर्न भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ रहेको समिति गठन गर्ने निर्णय गरेको छ । 

बैठकले भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाललाई बेलायत सरकारले प्रदान गर्ने अन्तर्राष्ट्रिय मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

Argakhachi Cement Island Ad

यी हुन् बैठकले गरेका केही मुख्य निर्णयहरू
१. प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने भन्ने विषयको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नम्बर ६ बस्ने मृतक जयशंकर साहको परिवारलाई आर्थिक सहायता स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने । 

२. सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद २०८०/११/१६ बाट लागु हुने गरी फागुन मसान्तसम्म थप गर्ने । 

३. सार्वजनिक खरिद (१३औँ संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने । 

४. बालकुमारी घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगको सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गरी २०८०/११/२० भित्र सिफारिस गर्ने गरी उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ रहेको समिति गठन गर्ने । 

५. भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाललाई बेलायत सरकारले प्रदान गर्ने अन्तर्राष्ट्रिय मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने । 

६. २०८० कार्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाई गएको भूकम्पबाट क्षतिग्रस्त स्थानीय तहहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्