site stats
बाह्रखरी :: Baahrakhari
देश
डलर देखाएर ठगेको रकम मुद्दती खातामा प्रयोग
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । एक गिरोहले १० वर्षदेखि डलर देखाएर ठगी गर्ने गरेको पाइएको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, उनीहरूले बाहिर डलर राख्ने र भित्र सोही आकारका कागज राखेर साट्ने भनी नेपाली रुपैयाँ लिएर लाखौँ ठगेको पाइएको छ ।

सिन्धुपाल्चोकका रामबहादुर तामाङ, सोही जिल्ला घर भई काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका विवी तामाङ र रौतहटको चन्द्रपुर घर भई काठमाडौंमा बस्दै आएका फरेन एक्सचेन्ज सेन्टरका सञ्चालक शंकर रेग्मीको मिलेमतोमा वर्षौँदेखि ठगी धन्दा चलाउँदै आएको अनुसन्धानबाट पुष्टि भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसरी ठगी गरिएको पैसा विभिन्न सहकारीमा लगेर मुद्दती खातामा राख्ने गरिएको र केही रकम मिटरब्याजमा समेत लगानी गरेको भेटिएको उनले बताए ।

प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार, उनीहरूले उपत्यकाका विभिन्न स्थानका व्यक्तिलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर मिलाइदिन्छौँ भनी प्रलोभन देखाएर डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई नेपाली रुपैयाँ ठगी गर्ने गरेका थिए ।

“१० वर्षदेखि कति ठगी गरेका छन् भन्ने कुरा अनुसन्धानकै क्रममा छ । गिरोहका केही योजनाकारलाई समातेका छौँ । अन्यको खोजी जारी छ,” रेग्मीले भने । तीनजनालाई समातिएको भन्दै यसबारे थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।

रेग्मीका अनुसार, उनीहरूले चलाखी गरी आफू घटनास्थलमा देखा नपरी विभिन्न व्यक्तिलाई प्रयोग गरेर ठगी धन्दा चलाउँदै आएका थिए । उक्त गिरोहले ठमेलस्थित फरेन एक्सचेन्ज सेन्टरमा लगेर ठगीमा प्रयोग हुने डलर साट्ने गरेको अनुसन्धानका क्रममा खुलेको उनले बताए । “त्यही डलरको आकारमा कागज काटेर मिसाउने गरेका खुलेको छ,” रेग्मीले भने ।

तामाङको साथबाट ७१ हजार नेपाली रुपैयाँ र ६०७ अमेरिकी डलर तथा डलर मिलाइदिने व्यक्ति फरेन एक्सचेन्ज सेन्टर प्रालिका सञ्चालक रेग्मीबाट तीन लाख रुपैयाँ र ५८३ डलर बरामद गरिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्