site stats
बाह्रखरी :: Baahrakhari
देश
रुस–युक्रेन युद्धमा नेपाली युवकको मृत्यु : कुशको शव बनाएर अन्त्येष्टि
बागलुङ बजारको दृश्य । फाइल तस्बिर ।

पोखरा । रुसी फौजमा कार्यरत बागलुङको ताराखोला गाउँपालिका–२, सिलेका जितबहादुर विकको मृत्यु भएको छ । युक्रेनविरुद्धको लडाइँमा ३६ वर्षीय विकको ज्यान गएको उनका साढुभाइ सनबहादुर विकले जानकारी दिए ।

गएको माघ २० गते मृत्यु भए पनि परिवारजनले बुधबार मात्र जानकारी पाएको उनको भनाइ छ । पर्यटक भिसामा गएको असोज ११ गते रुस पुगेका विक पछि रुसी फौजमा भर्ना भएको सनबहादुरले बताए ।

Argakhachi Cement Island Ad

“रुस लैजाने एजेन्टमार्फत मृत्युको खबर आएको हो । मृत्यु पुष्टि गर्ने अस्पतालको कागजात पनि परिवारलाई प्राप्त भएको छ,” उनले भने, “थप जानकारी लिन परराष्ट्र मन्त्रालयलगायत निकायमा बुझ्दै छौँ ।”

मृत्यु भएको पुष्टिपछि परिवारजनले बुधबार गाउँमै कुशको शव बनाएर विकको अन्त्येष्टि गरेको सनबहादुरले जानकारी दिए ।

ताराखोला–२ का वडाध्यक्ष भद्र घर्तीले पोर्चुगलमा रहेका विकका भाइको फोनमार्फत घरमा मृत्युको खबर प्राप्त भएको बताए । “रुसी सेनामा भर्ना भएको तस्बिर उहाँले नै सार्वजनिक गर्नुभएको थियो । परिवारलाई पनि आफू लडाइँमा जान लागेको बताउनुभएको रहेछ,” वडाध्यक्ष घर्तीले भने, “उहाँको निधनको खबरले गाउँमा शोक छाएको छ । परिवारको बिचल्ली भएको छ ।”

विक यसअघि गाउँमै गाडी चालक रहेको उनका साढुभाइ सनबहादुरले बताए । वैदेशिक रोजगारीका निम्ति केही वर्षअघि विक साउदी अरब र कतार पनि पुगेका थिए । विकका श्रीमती, दुई छोरी र एक छोरा छन् । रासस

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्