site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
महिनामा एकैजनाका ३२ वटासम्म स्टेज कार्यक्रम, विदेशभन्दा नेपाल नै प्राथमिकता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एलिना चौहानलाई स्टेज कार्यक्रमका निम्ति विदेशबाट थुप्रै निम्तो आउँछ । ६ कार्यक्रमका लागि उनले वचन पनि दिइसकेकी छन्, तर वैशाखदेखि पछिका लागि मात्र ।

वैशाखपछि मात्रै किन ?

वैशाखदेखि असारसम्म पानी पर्ने भएकाले नेपालमा स्टेज कार्यक्रम हुँदैन । त्यसैले एलिना त्यो समय विदेशका कार्यक्रममा व्यस्त हुनेछिन् । “कार्यक्रमका लागि त अहिले पनि निम्तो आइरहेको हुन्छ, तर अहिले म नेपालमै व्यस्त छु । त्यसैले विदेश जान्नँ,” एलिना भन्छिन्, “नेपालमा पानी पर्ने सिजनमा मात्रै विदेशका कार्यक्रममा जान्छु । वैशाखदेखि असारसम्मका लागि विदेशका ६ वटा कार्यक्रम तय भइसकेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

विदेशमा भन्दा एलिनालाई नेपालकै कार्यक्रममा ‘फाइदा’ छ । किनभने, विदेशमा हप्ताको एउटा कार्यक्रम हुन्छ । नेपालमा उनी दैनिक कार्यक्रम गरिरहेकी छिन् ।

aleena-chauhan-1708424516.jpg
गएको माघमा एक दिन मात्र उनी फुर्सदमा थिइन् । २९ दिनमा २८ स्टेज कार्यक्रम गरिन् ।

Global Ime bank

“गत वर्षको फागुनमा मैले ३२ वटा स्टेज कार्यक्रम गरेको थिएँ । एकैदिन दुईवटा कार्यक्रम पनि गरेँ । नजिक–नजिकैका दुईवटा कार्यक्रम एकैदिन गर्दा ३२ वटा कार्यक्रम एकै महिना गरेको थिएँ,” एलिना सुनाउँछिन्, “त्यो महिना (गत वर्षको फागुन) मैले १७ वटा कार्यक्रम नभ्याएर छोडेको थिएँ ।”

औसतमा उनले महिनाको १६/१७ वटा स्टेज कार्यक्रम गर्दै आएकी छन् । ‘धोकेबाज’ पपुलर भएपछि स्टेजमा एलिनाको माग बढेको हो । यो वर्ष ‘कट्टा हान्दिछु’ त्यति नै हिट भएपछि स्टेजमा उनको माग थप बढ्यो ।

“अहिले पनि मासिक १०/१२ वटा स्टेज कार्यक्रम छोडिरहेकी छु,” एलिना भन्छिन्, “कसैको कुनै क्षेत्रमा पकड हुन्छ, कसैको कतै हुन्छ । लोकदोहोरी गाउनेको गण्डकी र लुम्बिनीमा धेरै माग हुन्छ । तर, धोकेबाज र कट्टा हान्दिन्छु दुवै पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म सबैले सुनेकाले बोलाउनुहुन्छ ।”

स्टेजमा गाइरहेका बेला अरू कार्यक्रममा पनि बोलाउनुपर्ने दर्शकबाट हुटिङ हुने गरेको स्मरण गर्दै एलिना भन्छिन्, “दर्शकबाटै माग भएकाले पनि होला आयोजकले बोलाउनुभएको ।”

एउटा कार्यक्रमबापत एलिना एकदेखि डेढ लाख रुपैयाँसम्म पारिश्रमिक लिन्छिन् । विदेशका कार्यक्रममा आयोजकले उनलाई तीन लाखसम्म पारिश्रमिक दिनुपर्छ । “तर, विदेशमा हप्तामा एउटा कार्यक्रम हुन्छ । यहाँ दिनकै कार्यक्रम हुने भएकाले आधा पारिश्रमिक भए पनि समग्रमा नेपालमै फाइदा हुन्छ,” एलिना स्पष्ट पार्छिन्, “त्यसैले म नेपालकै कार्यक्रम गर्छु ।”

कार्यक्रममा व्यस्त भएकाले अहिले उनलाई गीत रेकर्ड गराउने फुर्सद कमै मात्र हुन्छ । “दर्शकले स्टेज तलबाटै नयाँ गीत कहिले आउँछ भनेर सोध्नुहुन्छ । तर, कार्यक्रममा व्यस्त भएकाले नयाँ गीत रेकर्ड गर्न पनि भ्याइँदैन,” उनी भन्छिन् ।

काठमाडौंबाट मध्याह्न १२ बजेको फ्लाइट भए बिहान ९ बजे स्टुडियो गएर रेकर्ड गराएर त्यतैबाट उनी एयरपोर्ट जान्छिन् । यसरी अहिले उनी मासिक १० देखि १२ गीत रेकर्ड गराइरहेकी छन् ।

फुर्सद हुँदा उनले दैनिक सातवटासम्म गीत रेकर्ड गराएकी छन् । चार/पाँच गीत रेकर्ड गराउनु त उनको दैनिकी हो ।

rachana-rimal-1708424571.jpg

गएको माघ २५ गते रचना रिमालले फेसबुकमा एउटा पोस्ट गरिन् । त्यसमा उनले माघ २५ देखि फागुन ८ गतेसम्म आफ्नो स्टेज कार्यक्रमको तालिका उल्लेख गरेकी छन् ।

माघ २५ गते गौरादह महोत्सव – झापा, माघ २७ गते ल्होसार विशेष सांस्कृतिक कार्यक्रम – सिन्धुपाल्चोक, माघ २८ गते घोराही महोत्सव – दाङ, माघ २९ गते साँफेबगर महोत्सव – अछाम, फागुन १ गते तुलसीपुर महोत्सव – दाङ, फागुन ३ गते नुवाकोट महोत्सव – नुवाकोट, फागुन ४ गते  कोहलपुर महोत्सव – बाँके, फागुन ५ गते भजनी महोत्सव – कैलाली, फागुन ६ गते कृषि महोत्सव – बनेपा (काभ्रे), फागुन ७ गते चुलाचुली महोत्सव – इलाम । फागुन ८ गते दमक महोत्सव – झापामा आफ्नो कार्यक्रम रहेको उनको सेड्युलमा उल्लेख छ । सेड्युलअनुसार, १२ दिनको अवधिमा उनले ११ स्टेज कार्यक्रम गर्नेछिन् ।

रचना अहिले स्टेजमा व्यस्त हुने थोरै कलाकारमध्येकी एक हुन् । उनी मासिक २२ वटासम्म कार्यक्रम गरिरहेकी छन् । “यो वर्ष मैले अहिले सिजनमा २०/२२ वटा स्टेज कार्यक्रम गरिरहेको छु,” रचना भन्छिन् । 

रचनाले गत वर्ष एक महिनामा २५ वटासम्म स्टेज कार्यक्रम गरेकी थिइन् । “गत वर्ष मैले एक महिनामै २५ वटासम्म स्टेज कार्यक्रम गरेको थिएँ,” उनी भन्छिन्, “त्यो समय म भर्खर क्यानडाबाट फर्किएको थिएँ । त्यसैले धेरै अफर आइरहेको थियो ।”

‘अफ सिजन’मा पनि उनले प्रतिमहिना दुई/तीन स्टेज कार्यक्रम गरिरहेकी हुन्छिन् ।

रचना स्टेजसँगै गीत रेकर्डिङमा पनि व्यस्त हुने गायिका हुन् । उनले स्टेज कार्यक्रमबाट फुर्सद भएका दिन दुई/तीन गीत रेकर्ड गराइरहेकी छन् । स्टेज कार्यक्रम नहुँदा रचनाले दैनिक पाँचवटासम्म गीत रेकर्ड गराएकी छन् ।

samikshya-adhikari1-1708424649.jpg

अनेक झमेला झेलेर आफूलाई अनपेक्षित रूपमा पहिलाकै अवस्थामा फर्काउने गायिका हुन्, समीक्षा अधिकारी । छोटो समयमै सांगीतिक करिअरलाई पहिलाकै उचाइ दिने समीक्षा पनि अहिले स्टेजमा धेरै बोलाइने र रुचाइने थोरै कलाकारमध्ये एक हुन् ।

सोमबार नुवाकोटमा स्टेज कार्यक्रम गरेकी समीक्षाले आइतबार शुक्ला गण्डकी महोत्सव – तनहुँमा पफर्मेन्स दिएकी थिइन् । आइतबार नै मनास्लु वर्ल्ड कलेजमा उनको सांगीतिक कार्यक्रम थियो ।

शनिबार अछाम महोत्सवमा सहभागी भएर सांगीतिक प्रस्तुति दिएकी समीक्षाले यहीबीचमा नयाँ गीत पनि रेकर्ड गराइरहेकी छन् ।

फागुन १ गते उनले आफू सहभागी हुने सात दिनको कार्यक्रमको सूची फेसबुकमा पोस्ट गरेकी छन् । उनले सार्वजनिक गरेको १ देखि ७ सम्मको आफ्नो तालिकामा फागुन ४ गते मात्र स्टेज कार्यक्रम थिएन ।

समय हुँदा उनी दैनिक सातवटासम्म गीत रेकर्डिङ गराउँछिन् । अहिले पनि फुर्सद भएका हरेक दिन समीक्षाले गीत रेकर्ड गराइरहेकी छन् । अफर उत्तिकै आइरहेको तर समय अभावका कारण धेरै गीत रेकर्ड गराउन नपाएको उनको भनाइ छ ।

prakash-saput1-1708424705.jpg

गएको माघ ८ गते गायक प्रकाश सपूतले फेसबुकमा एउटा स्ट्याटस लेखे । उक्त स्ट्याटसमा उनले केप्लर इभेन्ट्सलाई धन्यवाद दिएका छन् । कारण, केप्लरले २५ दिनको युरोप टुर व्यवस्थापन गरेको थियो । २५ दिनमा युरोपका लिभरपुल, स्कटल्यान्ड, बर्मिंघम, साउथ ह्याम्टनलगायत ११ सहरमा आयोजित सांगीतिक कार्यक्रममा उनले प्रस्तुति दिएका थिए ।

युरोपबाट फर्किएका प्रकाश अहिले अस्ट्रेलियामा छन् । गएको शनिबार अस्ट्रेलियाको क्यानबेरा स्टेट गभरमेन्टले आयोजना गरेको नेसनल मल्टिकल्चरल कार्यक्रममा प्रस्तुति दिन उनी त्यहाँ पुगेका हुन् ।

प्रकाश देशभन्दा विदेशका कार्यक्रममा व्यस्त देखिएका छन् । कोरोनाकालपछि उनी स्टेज कार्यक्रममा व्यस्त हुँदै आएका गायक हुन् ।

pramod-kharel1-1708424802.jpg

प्रमोद खरेल सुगम संगीततर्फ वर्षौँदेखि स्टेज कार्यक्रममा आफूलाई अग्रपंक्तिमा उभ्याइरहेका सर्वाधिक व्यस्त गायकमध्ये एक हुन् ।

अहिले उनी हङकङमा छन् । स्टेज कार्यक्रमका निम्ति माघको तेस्रो साता उनी दुबई गएका थिए । त्यहाँबाट कार्यक्रमका लागि सिधै हङकङ गएका हुन् ।

सिंगल ट्रयाक रेकर्डिङमा पनि उनी पहिलो रोजाइका गायकमा पर्छन् । रेकर्डिङ, स्टेजदेखि भ्वाइस अफ नेपालको कोचसम्मका कारण वर्षैभर व्यस्त सेड्युलमा चल्ने कलाकार हुन्, प्रमोद ।

preeti-ale1-1708424875.jpg

यही फागुन ५ गते कोहलपुरमा आफ्नो प्रस्तुति दिएकी प्रीति आले अहिलेको व्यस्त गायक/गायिकामध्येकी एक हुन् । फागुन ३ गते उनले सौराहामा आयोजित स्टेज कार्यक्रममा गीत गाइन् । फागुन २ गते चितवनमा उनको स्टेज कार्यक्रम थियो ।

त्यसअघि, पूर्वी नेपालमा उनको प्रस्तुति थियो । झापाको चारआली, धनकुटाको पाख्रिबास र झापाकै दमकमा स्टेज पफर्मेन्स दिएकी थिइन् । त्यसपछि नुवाकोट महोत्सवमा गीत गाउन पुगिन् । प्रीति आले लोकदोहोरी क्षेत्रकै सर्वाधिक व्यस्त कलाकार हुन् ।

एलिना, रचना, समीक्षा, प्रकाश, प्रमोद र प्रीतिसँगै पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा, रामजी खाँण, बद्री पंगेनी, खुमन अधिकारी, राजेशपायल राई, मेलिना राई, शिव परियार, राजनराज शिवाकोटी, कालीप्रसाद बास्कोटा, अस्मिता अधिकारी, शान्तिश्री परियार स्टेजमा व्यस्त हुने कलाकार हुन् । प्रहसनतर्फ सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे पनि अहिले दिनहुँजसो स्टेज पाउने कलाकार हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !