site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पहिलो आमनिर्वाचनका उमेदवार भन्छन्– राजनीतिमा त्यागको भावना नहुँदा भ्रष्टाचार मौलायो

भीष्मराज ओझा/सिर्जना राई
काठमाडौं । वि.सं. २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा धादिङबाट नेपाली कांग्रेसको उमेदवार रहेका नेता भरत उप्रेतीले वर्तमान राजनीतिमा त्यागको भावना नहुँदा मुलुकमा नै भ्रष्टाचार मौलाएको बताएका छन् ।

भ्रष्टाचारमुक्त नभएसम्म देश समृद्ध नहुने उल्लेख गर्दै उनले मुलुक र जनताका निम्ति राजनीतिक नेतृत्वले त्याग गर्न सक्नुपर्ने सुझाव दिए । “आफैँ खाऊँ, आफैँ मोटाऊँ भन्नेतिर लाग्नु हुँदैन । एकजुट भएर सबै देश बनाउन लाग्नुस्,” उनले भने ।

प्रजातन्त्र दिवसका अवसरमा रासससँग कुरा गर्दै उनले सबै पार्टीका नेतृत्वलाई कांग्रेसका संस्थापक बीपी कोइराला, गणेशमान सिंहको सिद्धान्त र जीवनसंघर्षलाई आत्मसात् गरेर बाटो बिराएको भए पुनः विचार गर्न आग्रह समेत गरे । सबै नागरिकले सुख–शान्तिसँग जिउन पाए मात्र प्रजातन्त्र दिगो हुने नेता उप्रेतीको धारणा छ ।

Dabur Nepal
NIC Asia

वि.सं. १९८८ मा धादिङको नौबिसेमा जन्मिएका नेता उप्रेती ११ वर्षको हुँदा अध्ययनका निम्ति काठमाडौं आएका थिए । एसएलसी परीक्षा दिने तयारीमा रहेका बेला २००६ सालमा गुरु नरहरि दवाडीले आफ्नो निवास जैसीदेवलमा ट्युसन पढाउने क्रममा पहिलोपटक प्रजातन्त्रका बारेमा जानकारी गराएको उनले बताए ।

नेता उप्रेतीले भने, “कांग्रेसका संस्थापक नेताहरू बीपी र गणेशमानजी कसरी र किन निर्वासनमा जानुभयो भनेर जानकारी गराउनुका साथै प्रजातन्त्रको संघर्षका बारेमा सुनाउनुभएपछि तत्कालीन शासकबाट मुलुकमा अन्याय भएको रहेछ भन्ने दिमागमा पर्‍यो । त्यसपछि हाम्रो भेट दयावीर सिंहसँग भयो । उहाँले हामीलाई प्रजातन्त्रका बारेमा धेरै सिकाउने र प्रजातन्त्रको आन्दोलनका काममा लगाउनुभयो ।”

वि.सं. २००७ देखि केही साथीसहित आफूहरू प्रजातन्त्रको आन्दोलनका क्रममा पम्प्लेट र अरू साम्रगी आदानप्रदान गर्ने क्रममा भूमिगत भएको उनले जानकारी गराए । उनले राजा त्रिभुवन भारत निर्वासनमा जाँदा आफूहरू खुला राजनीतिमा आएको र प्रजातन्त्रका पक्षमा नारा लगाएको स्मरण गरे ।

राजनीतिमा कहिलेदेखि कसरी प्रवेश गर्नुभयो भन्ने जिज्ञासामा उनले मुलुकमा प्रजातन्त्र स्थापनासँगै कांग्रेसबाट राजनीतिमा प्रवेश गरेको जानकारी दिए । जैसीदेवलमा रहेकोे कांग्रेसको केन्द्रीय कार्यालयमा नेता कृष्णप्रसाद भट्टराईले पार्टी सदस्यता दिएपछि संगठन बनाउन लागेको उनको भनाइ छ ।

“त्यसपछि बीपी र गणेशमानजीसँग भेट हुन थाल्यो । बीपीले मलाई धाप मार्दा गर्वानुभूति भयो । भेटघाटका लागि गणेशमान सिंहको घरमा नियमित गइन्थ्यो,” उनले भने ।

उनले २०१७ सालदेखि विभिन्न समयमा गरी २०५३ सम्म धादिङ कांग्रेसको नेतृत्वको जिम्मेवारी निर्वाह गरे ।

राजनीतिकै क्रममा २०१५ सालमा सम्पन्न निर्वाचनमा नेता उप्रेतीले धादिङ तत्कालीन १०४ क्षेत्र नम्बरमा कांग्रेसबाट टिकट पाए । तर, सो क्षेत्रबाट गोर्खा परिषद्का भारतशमशेर राणा निर्वाचित भए । नेता उप्रेतीले पाँच हजार मत पाए भने राणाले ६ हजार मत प्राप्त गरेका थिए ।

पहिलो आमनिर्वाचनपछि बनेको बीपी नेतृत्वको सरकारले क्रान्तिकारी र ऐतिहासिक काम गर्दागर्दै राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेको उनले बताए । नेता उप्रेतीले पुस १ गते ‘कू’ भएको दिन आफू धादिङको बेनीघाटमा शोसक सामन्तीलाई अन्त्य गर्ने ठूलो आमसभामा रहेको स्मरण गरे ।

राजा महेन्द्रले राजनीतिक कू गरेको थाहा पाएपछि विभिन्न स्थानमा लुक्दै भाग्दै, संघर्ष गर्दै १० वर्ष भारत निर्वासनमा बसेको उनले जानकारी दिए । वि.सं. २०२६ सालमा राजनीतिक केही खुकुलो भएपछि नेपाल फर्किएका नेता उप्रेतीले त्यसपछि राजनीतिमा अझ बढी सक्रिए भएको उल्लेख गरे ।

“बीपी उपचारका लागि जेटबाट छुटेपछि उहाँ र गणेशमानसँग नियमित भेट हुन्थ्यो । बीपी मेरो निवासमा आउने, खाना खाने गर्नुहुन्थ्यो,” नेता उप्रेतीले उल्लेख गरे ।

सोही अवसरमा उनले नेता किसुनजीले वर्तमान पार्टी सभापति शेरबहादुर देउवामा कांग्रेस र मुलुकलाई हाँक्ने क्षमताको नेतृत्वपन देखेर तत्कालीन बेलायती राजदूतलाई भनेर अध्ययनका लागि बेलायत पठाएको जानकारी गराए ।

साथै, नेता उप्रेतीले काठमाडौंमा भएको एक बमकाण्डका बेला देउवासँगै आफू जेलमा रहँदा उनले क्रूर यातना सहेर पनि देखाएको हिम्मतबाट आफू निकै प्रभावित भएको र प्रशंसक रहेको समेत बताए ।

आजदेखि सुरु हुन लागेको कांग्रेसको महासमिति बैठकलाई शुभकामना सन्देश दिँदै उनले पार्टीमा गुटउपगुट नगरी एकताका साथ मिलेर अघि बढ्न आग्रह गरे । उनले पार्टी कमजोर हुने कुनै पनि काम नगर्न सबै नेता–कार्यकर्तालाई आग्रह गरे ।

हाल काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका नेता उप्रेती प्रजातन्त्र पुनःस्थापनापश्चात् २०४८ सालमा पनि धादिङबाट कांग्रेसको उमेदवार बनेका थिए । तर, उनी विजयी हुन सकेनन् । प्रजातन्त्रको आन्दोलनमा लागेका कारण नेता उप्रेतीलाई तत्कालीन शासकले दुईपटक सर्वस्वहरणसहित जन्मकैदको फैसला सुनाएको थियो । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro