site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्यानमारमा आनीले गरेको त्यो अनौठो फोन र धादिङको दुर्घटना
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

कहिले आशा त कहिले निराशा जिन्दगीको रीत हो । वक्ररेखाहरूको यात्रा अनिवार्य सर्त हो । संघर्ष र उपलब्धि त जीवनलाई रोमाञ्चक बनाउने पक्ष भए नै । कहिले खुसी त कहिले दुःख, कहिले हार र कहिले जित । जिन्दगीका यिनै अनुभूति सँगाल्दै सिनेमाको रिलमा अभिनय गरिरहेका अभिनेता हुन्, प्रदीप खड्का ।

काँचको पर्दा हुँदै रजतपटमा डेब्यु गर्नुको एउटै चाह थियो, पहिचान । मान्छेले अनुहार देखेर चिनून् भन्ने लोभ थियो । कतिले चिन्छन्/चिन्दैनन् त्यो अलग पाटो भयो । भलै, उनले नेपालका गल्लीदेखि मुम्बईका सिनेमा स्टुडियो र रेडकार्पेट नापिसकेका छन् । सिनेमाको ठूलो पर्दामा देखिएर त्यसैलाई पेसा बनाइसकेका छन् । ‘स्केप’देखि ‘प्रकाश’सम्म काम गरिसकेका छन् । यो दौडमा उनले रजतपटमा आफू हिँड्ने बाटो मात्र कोरेनन्, लोभलाग्दो क्रेज पनि बटुले । उनै प्रदीपसँग रजतपटका सुखदुःख एक्सन कट्का तिता–मिठा शृंखलामा । 

० ० ०

KFC Island Ad
Dabur Nepal
NIC Asia

एक दिन ब्याकग्राउन्ड स्कोरर एलिस कार्की भेटिए । एलिससँगै भेट भएका निर्देशकले प्रदीपलाई अफर गरे, चलचित्र ‘हिरा’कोे । प्रदीपलाई सर्त थियो, कपाल पाल्नुपर्ने । सायद राजेश हमालको जस्तै । हिरो हुन पाए कपाल किन नपाल्नु ! सुरु गरे पाल्न ।

तिनै निर्देशकले हिरो हुने रहर प्रदीपको दिमागमा भरिदिए । विस्तारै उनी स्वयंलाई हिरो हुने लोभ लाग्न थाल्यो । उनलाई त लाग्थ्यो– लुक्स, हाइट, वेटले जन्मँदै हिरो भएर जन्मने हो । राजेश हमाल, विराज भट्ट, निखिल उप्रेतीजस्ता नायक देखेर हुर्किएका प्रदीपले ‘म फुच्चे पनि हिरो हौँला र ?’ भन्ने सोचलाई दबाउन थाले । तिनै निर्देशकको पछि लागे ।

Royal Enfield Island Ad

निर्देशकको सुटिङ सेट जहाँ हुन्थ्यो, त्यहीँ पुग्थे प्रदीप । आफ्नो बाइकमा निर्देशकलाई पछाडि राख्ने हिँड्ने उनको दैनिकी बन्यो ।

प्रदीपको पछाडि बस्दाबस्दै ती निर्देशकले दुइटा सिनेमा बनाए । प्रदीपको  कपाल जतिजति लामो हुँदै थियो, उनले सिनेमा खेल्ने समय पनि ती निर्देशकले त्यतित्यति तन्काउँदै थिए । प्रदीपले अनुभूत गर्न थाले समय यत्तिकै बितिरहेकाे छ । 

अनि जन्मियो इख
त्यसपछि जन्मियो प्रदीपमा इख । सुरु गरे ‘स्केप’ । आफूलाई धोका दिने निर्देशकलाई हिरो भएर देखाउनु थियो प्रदीपलाई । ‘प्रदीप मिडिया’ दर्ता गरे । उमेर २१ वर्षको थियो । अनन्त घिमिरे र कमल श्रेष्ठसँग कुरा मिल्यो । अनि, सुरु भयो स्केपको काम ।

चलचित्र त बनाउने भए, तर बजेट थिएन । तीनजनाले बराबर लगानी गर्ने निर्णय गरे । सिनेमा बनाउने भनेर कस्सिए, स्क्रिप्ट थिएन ।

हलिउडका सिनेमा हेर्ने उनको डाटाबेस राम्रो थियो । हलिउडका फिल्मबाट आफूलाई म्याच हुने क्लिप्स निकाले । विन्डोज मुभी मेकरमा सिन वाइज भिडियो एडिट गरेर दुई घण्टा १५ मिनेटको दृश्य तयार पारे । विभिन्न फिल्मबाट निकाले पनि त्यो कथा कुनै सिनेमासँग मिल्दैन थियो । ड्रग एडिक्टको कथा भन्ने स्टोरी प्रदीपले फाइनल गरे । अनन्तले स्टोरी बोर्ड बनाए । स्क्रिप्ट भयो, बजेट छैन । आफैँआफैँ मिलेर पैसा निकाल्ने भए । लोकेसन र प्रोडक्सन पनि थिएन । भोलि खिच्ने सिनको लोकेसन अघिल्लो दिन प्रदीप आफैँ खिच्थे । व्यवस्थापन स्किल राम्रो भएका प्रदीपले दुई वर्ष लगाएर जसोतसो सिनेमा बनाए ।पोस्टर छपाए र आफ्नो टोलमा बाक्लै टाँस्न लगाए । त्यो टोलमा सिनेमाको पोस्टर नै टाँसिदैन थियो । गाउँका सबैले देखून् भन्ने उनी चाहन्थे ।

“ठिक त्यही बेला रिङरोडभित्रका धेरै स्थानमा सिनेमाका पोस्टर टाँस्न निषेध गरिएको थियो । त्यसैले पोस्टर टाँस्नेहरूले ‘त्यो क्षेत्रमा त पोस्टर टाँसेको भेटे पक्राउ गर्छन्’ भने,” प्रदीप भन्छन्, “मैले उनीहरूलाई ‘तिमीहरू पोस्टर टाँस्न जाऊ, पक्राउ पर्‍यौ भने छुटाउने जिम्मा मेरो हो’ भनेँ । त्यसपछि म रातभर उनीहरूसँगै हिँडे । उनीहरू पोस्टर टाँस्दै हिँड्थे । म बाइकमा उनीहरूको पछिपछि हिँड्थेँ ।”

प्रदीप प्रहरीले पक्राउ गरे ‘म आफैँ जेल जान्छु’ भन्थे । यस्तो जोखिम उठाउनुको कारण यो नै आफ्नो फर्स्ट एन्ड लास्ट सिनेमा भन्ने लागेको थियो । “सम्भवतः कुनै पनि हिरोले त्यसरी सिनेमाको पोस्टर टाँसेको छैन होला,” प्रदीप भन्छन् ।

मल्टिप्लेक्समा पनि राम्रै स्थान पाएको चलचित्र रिलिज भयो । दुई वर्ष लगाएर ३० लाख रुपैयाँ नगद खर्च गरेको सिनेमाले हलबाट कमाइ गरेन ।
Untitled-1-1708042998.jpgसिनेमामा लागेर छोरो बिग्रिने भयो भन्ने परिवारले तनाव लिन थालेको थियो । बुवाआमाले भन्न थालेका थिए, ‘अब दिगो काम गर्नुपर्छ । सधैँभरि टुंगो नभएको कामका पछि लागेर जिन्दगी चल्दैन ।’ प्रदीपलाई पनि त्यही अनुभूत हुन थालिसकेको थियो । 

सुन्धाराको हलमा ‘स्केप’को अन्तिम शोज हेर्दै गर्दा उनले मनमनै संकल्प गरे– यो हलमा चलिरहेको यो शोज मेरो जिन्दगीकै मेरो सिनेमाको अन्तिम शोज हो ।

उनले निर्णय गरे– अब अस्ट्रेलिया जान्छु । प्रक्रिया सुरु गरे, स्टुडेन्ट भिसाका निम्ति अप्लाई गरे ।

जुन/जुलाईमा जानुपर्ने थियो । अप्रिलमा बैंक प्रोसेस गर्नुपर्ने, मार्चमा भूकम्प आयो । गोरखा भूकम्प (०७२) ले अस्ट्रेलिया जान रोकिरहेको थियो । 

प्रदीपलाई पत्रकार र प्रोडुसरको फोन तारन्तार आइरन्थ्यो । उनलाई सिनेमा खेल्नु थिएन । त्यसैले कसैलाई रेस्पोन्स गरेनन् ।

‘अन्तिम सर्को’, ‘मैदान’लगायत चलचित्रबाट अफर आइसकेको थियो । उनले अस्वीकार गरिसकेका थिए । निर्माता सन्तोष सेनले बनाउन लागेको चलचित्रमा अफर गरियो । उनले ‘खेल्दिनँ’ भनिदिए ।

भूकम्पका कारण बैंक प्रोसेसका लागि घरको भ्यालुएसन भएको थिएन । एक दिन उनले कतै देखे– ‘प्रेम गीत’का निम्ति नयाँ कलाकारको अडिसन आह्वान गरिएको । अनलाइन न्युज पोर्टल कलिउड अपडेटका दयाराम घिमिरेसँग उनले भने, ‘म नयाँ त होइन, तर अडिसन दिन तयार छु भनेर एउटा समाचार छपाउनुपर्‍यो ।’

“समाचार छापियो । काम गर्ने सोच भएर मैले समाचार छपाएको थिइनँ । टाइमपास मात्रै थियो त्यो । चलचित्रमा काम गर्ने रहर भएको भए त अफर आउँदा खेलिहाल्थेँ,” प्रदीप स्मरण गर्छन् ।

सन्तोषको त्यो सर्त
त्यो समाचार सन्तोष सेनले पढेछन् । आफैँले खोजेको मान्छेले फिल्म खेल्न तयार छु भनेर कोट दिएको समाचार देखेपछि फोन गरेर बोलाए । उनले फोनमै भनेका थिए– आउँदा डान्स गरेको भिडियो पनि लिएर आउनू ।

प्रदीप गम्भीर विष्टको स्टुडियोमा गई डान्सको क्लिप बनाएर सन्तोषको अफिस पुगे । प्रदीपलाई निर्देशक सुदर्शन थापाले भने, ‘यदि, तिमी इन्ट्रेस्टेड हो भने अडिसन दिनु पर्दैन । हामीले तिमीलाई नै खोजिरहेका थियौँ ।’

सन्तोषको ‘चंखे शंखे पंखे’ र प्रदीपको ‘स्केप’को एउटै स्टुडियोमा काम गर्दा प्रदीपलाई नोटिस गरिएको रहेछ ।

सन्तोषले अनुबन्ध गराउनुअघि एउटा सर्त अघि सारे, ‘बाहिर (विदेश) जाने हो भने तिमीलाई लिन सकिँदैन । यहाँ बस्नेले अवसर पाए नेपाली फिल्म इन्डस्ट्रीमा केही गर्छ । तिमीले क्यामेरा फेस गरिसकेको भएकाले अफर गरेको हो ।’

प्रदीपले मनमनै सोचे– अधिकांश फिल्म डुबिरहेका छन्, एउटा फिल्म डुबेपछि अर्को बनाउने होइन । मैले अर्को फिल्म खेल्न त बनाउनु पनि पर्‍यो नि !

प्रदीपले सन्तोषलाई भने, ‘हुन्छ, म तपाईंका कम्तीमा दुइटा सिनेमा नखेली विदेश जान्नँ ।’

तर, प्रदीपलाई ‘चंखे शंखे पंखे’ र ‘प्रेम गीत’ पनि डुबेपछि न अर्को सिनेमा बन्छ न त सर्त पूरा गर्नै भनेर नेपालमा बस्नुपर्छ भन्ने लागेको थियो । यद्यपि, उनले कमिटमेन्ट गरे । प्रदीपको गुप्त योजना सन्तोषलाई के थाहा ! उनले विश्वास गरे । ‘प्रेम गीत’ निर्माण भयो । हिरो भए प्रदीप । फेरि, अर्को सिनेमाको हिरो भए प्रदीप ।

‘प्रेम गीत’को गीत र टिजर रिलिज भएपछि प्रदीप केही मेकरको नोटिसमा परे । उनलाई सिनेमाबाट अफर आउन थाल्यो ।

त्यो बेला पनि उनको मनमा ‘प्रेम गीत’ रिलिज भएपछि डुब्छ, म अस्ट्रेलिया उडिहाल्छु भन्ने नै थियो । त्यसैले जति अफर आए पनि उनले साइन गरेनन् ।

सन्तोष ‘२० वटा सिनेमा बनाउन पैसा पुग्छ, एउटा न एउटा त हिट बनाएरै छाड्ने हो’ भन्थे । प्रदीप सुनिरहन्थे । मनमनै हाँसिरहन्थे ।

बदलियो मन
फिल्म रिलिज भयो । दर्शकले सिनेमा रुचाए । जब हलमा दर्शकको भीड बढ्यो, प्रदीपले खोजेको पहिचान पाए । जब प्रदीपले दर्शकको माया पाए, सेलिब्रिटी भएको अनुभूत हुन थाल्यो । तब उनको निर्णय फेरियो । फेरिएको निर्णयले बदलिन लागेको बाटोलाई पुरानै ट्रयाकमा फर्काइदियो । अर्थात्, अस्ट्रेलिया नजाने भए ।

दर्शकले माया दिए । सन्तोषले ५० लाखको गाडी दिने वचन दिए । भर्खर टिनेजरबाट उकालो लागेको ‘फुच्चे’लाई लाग्यो– सिनेमाबाटै गाडी पाइन्छ भने योभन्दा ठूलो उपलब्धि अस्ट्रेलिया पुगेर पाउन सकिन्छ ? त्यसमाथि दर्शकको माया त सँगालेर राख्नु पो पर्छ न कि लत्याउनु ।

दोस्रो दिन नै सेट छोडे 
‘प्रेम गीत’को छायांकन सुरु भयो । एक्सन कट् थालियो । डान्सको वर्कसप सकाएर आएका प्रदीपलाई छायाकार राजेश श्रेष्ठ र निर्देशक सुदर्शन थापाले सोधे, ‘वर्कसप कस्तो चलिरहेको छ ?’

‘मलाई त नाच्न खासै आउँदैन, कटिङ गरेर यताउता गर्दा मिल्छ होला,’ प्रदीपले जवाफ दिन नपाउँदै राजेशले भने, ‘कटिङको कुरा तिमीले गर्ने ! तिम्रो काम तिमी गर म मेराे काम गर्छु । तिमी आफ्नो काम सिरियस्ली गर । मेरो काम के हो मलाई थाहा छ ।’

हँ ! प्रदीप झस्किए ।

‘प्रेम गीत’को डे–१ को छायांकन । हिरोइनको ड्रिम सिक्वेन्समा बेडमा सुतेर हाँस्ने सिन थियो । क्लोज सर्ट खिचिरहेको देखेका प्रदीपलाई लाग्यो– क्लोज फ्रेम लागिरहेको छ, खुट्टा देखिँदैन । जुत्ता लगाएर सुत्दा पनि हुन्छ होला । तर, यही सिनले भोलि काममा समस्या हुनु हुँदैन ।

त्यसैले प्रदीपले सोधे– जुत्ता लगाएर सुतौँ कि खोलेर ?

झनक्क रिसाएर राजेशले भने, ‘जुत्ता लगाएर पनि कोही सुत्छ ! कस्तो प्रश्न हो यो ?’

५०/६० जना कास्ट एन्ड क्रुका बीचमा गरेको त्यो गालीले प्रदीपको मोरल डाउन भयो । हाँस्नुपर्ने सिनमा हाँस्नै सकेनन् । तीन घण्टा लगाएर बल्लबल्ल एउटा सिन सकाए ।

साँझ सुदर्शनले सन्तोषलाई फोन गरेछन्, ‘हिरोले एक्टिङ गर्न सक्लाजस्तो छैन । आज हाँस्ने सिनमै हाँस्न सकेन । बर्बाद हुने भयो, के गर्ने ?

h-1708042782.jpg
उता, मनमौजी  प्रदीपलानई लाग्यो– गाली खाईखाई, बेइज्जती सहीसही कसले काम गर्छ ? जान्नँ सुटिङमा ।

भोलिपल्ट प्रदीप सुटिङ सेटमै गएनन् । म्युजिक भिडियो निर्देशन गर्न गोदावरी पुगे ।

यो सिनेमा उद्योगमा न इज्जत छ न पैसा । एक लाख रुपैयाँ पाएका थिए । एक लाख २५ हजारको त उनले सुटिङका निम्ति लुगा नै किनेका थिए । २५ हजार घाटामै थिए । “त्यसैले म यहाँ काम गर्दिनँ भन्नेमा पुगिसकेको थिएँ । फ्युचर सोच्न थालेको मलाई विदेश नै जान्छु भन्ने थियो,” प्रदीप पुराना दिन सम्झिन्छन्, “त्यसैले म गोदावरी पुगेँ ।”

साँझ सन्तोषले फोन गरे । ‘प्रदीप, तिमीले केही चिन्ता लिनु पर्दैन । तिमीलाई भोलिबाट कसैले केही भन्दैन । तिमी सेटमा आऊ मात्रै, सिनेमा प्रमोसन गरेरै हिट बनाउँछु ।’ नभन्दै सिनेमा दर्शकले रुचाए । हिट भयो ।

सिनेमाको प्रचार र रिलिजमा प्रदीप र सन्तोष धेरै घुमे । त्यही क्रममा उनीहरू थाइल्यान्ड, म्यानमार पुगे । म्यानमारमा त्यति धेरै नेपालीभाषी रहेको उनले पहिलोपटक थाहा पाए । उनीहरूले निर्णय गरे ‘प्रेम गीत–२’ थाइल्यान्ड, म्यानमार र रारामा सुट गर्ने । कथा म्यानमारसँग जोडिएको बनाउने निर्णय गरे । त्यहीँ प्रदीप र सन्तोषले निर्णय गरे– अब अरूको सिनेमा नगर्ने, आसुसेन फिम्सबाट सिनेमा बनाउने । त्यसैमा काम गर्ने ।

आनीको त्यो कल
‘प्रेम गीत–२’ छायांकनको लोकेसनका निम्ति प्रदीप र सन्तोष म्यानमार पुगे । उनीहरू चढेको गाडी चलाउने ड्राइभर नेपालीभाषी नै थिए । हजार किलोमिटरभन्दा टाढा रहेका एकजनाले फोन गरे– गाडीमा यात्रा गरिरहेका मध्ये कसैको खुट्टा दुखेको छ ? 

गाडीमा रहेका चारजनालाई ड्राइभरले सोधे– तपाईंहरूमध्ये कसैको खुट्टा दुखेको छ ? 

‘छैन ।’

राति होटेलमा सन्तोष र प्रदीप एउटा बेडमा, रामशरण पाठक अर्को बेडमा एउटै कोठामा सुते । रामशरण निद्रामा कराए । प्रदीप र सन्तोषले भने– रामशरणसँग एउटै रुममा सुत्न नहुने रहेछ, निद्रामा बर्रबराउने बानी रहेछ ।

बिहान रामशरणको मुहारमा ग्रहण लागेको थियो । के भयो ? 

‘हिजो राति मेरो शरीरमा उज्यालो केही छिर्‍यो । म अत्तालिएँ । हिजो कसको फोन आएको थियो ? मलाई डर लाग्यो ।’

‘किन ?’ 

‘बाइक एक्सिडेन्ट भएर फ्याक्चर भएको मेरो खुट्टा दुखिरहेको थियो । अचानक कसैले फोन गरेर सोध्दा कसरी थाहा भयो, यसरी थाहा पाउने को रहेछ भनेर डरले मैले भनिनँ ।’

ड्राइभरलाई उनीहरूले सोधे– हिजो खुट्टा दुख्यो भनेर सोध्ने को हो ? हाम्रो निर्देशकको खुट्टा दुखिरहेको रहेछ ।

‘त्यही त, त्यो आनी दिदीले नजान्ने भन्ने नै हुँदैन, ऊ आनी हो,’ चालकले भने । आफ्नो साथीसँगै रहेका मान्छेमा समस्या देखिएको ‘भिजन’ आएपछि सचेत गराउन फोन गरेकी रहिछन् । 

आनीलाई चालकले फोन लगाए । रामशरणको बारेमा सोध्दा उनले नालीबेली सबै मिलाइदिइन् । ‘तपाईंको घरको भर्‍याङमुनि इलेक्ट्रिक सामान छ, त्यो हटाउनुपर्छ, । नत्र तपाईंलाई चोट लाग्छ,’ उनले भनिन् ।

सन्तोषका बारेमा आनीले भनिन्, तीन सन्तान छन् । वास्तवमा सन्तोषका दुई छोरा मात्र, तर उनको दाइकी छोरी पनि सँगै आएर बसेकी रहिछन् । उनले सन्तोषको घरमा बोल्न नसक्ने मान्छे पनि बस्ने गरेको बताइन् । सन्तोषकामा बोल्न नसक्ने ‘हेल्पर’ बसेको सत्य हो ।

“तपाईंको घरमा कालो गाडी छ, त्यो गाडी कुनै पनि हालतमा नचढ्नू भन्नुभयो । उहाँले यति धेरै पर्सनल कुरा पनि भन्नुभयो, जुन श्रीमान्–श्रीमतीलाई मात्रै थाहा हुन्छ,” प्रदीप भन्छन्, “सन्तोष दाइले म्यानमार उड्नुभन्दा एक दिनअगाडि कालो रङको गाडी किन्नुभएको थियो । त्यही गाडी आनीले नचढ्नू भन्नुभएको थियो ।”

आध्यात्मिक कुरामा विश्वास गर्ने प्रदीपले मोबाइल रेकर्डमा राखेर चालकलाई भने– मेरोबारे भन्दिन भन्नु न ।

आनीले उताबाट भनिन्, “त्यो हिरोलाई चाहिँ मलाई भेट्न पठाइदिनू ।” मेचीदेख महाकाली पुगेभन्दा धेरै टाढा थियो, जान सम्भव थिएन । गएनन् ।
hamfaldai-1708042730.jpg
आनीको भविष्यवाणी र दुर्घटना 
नेपाल आए, छायांकन सुरु भयो । काठमाडौंमा छायांकन सकाएर पोखरा हिँडे । गाडीमा सन्तोष, रामशरण र प्रदीप थिए । अरू व्यक्ति सुटिङ युनिटको बसमा । नौबिसे पुगेपछि सन्तोषले भने, ‘प्रदीप, तिमी गाडी चलाउँछौ ?’ 

प्रदीपको दिमागमा आनीले भनेको कुरा आयो– सन्तोष दाइलाई आनीले कालो गाडी नचलाऊ भनेकी थिइन् । प्रदीपले चलाउन थाले ।

“त्यो गाडीले कतिजनालाई काठमाडौंमा हान्यो, कतिले त्यो गाडीमा आफ्नो गाडी ठोक्काए । हामीले कति पैसा तिर्‍यौँ । सुटिङमा चाहिने भएकाले मात्रै हामीले त्यो गाडी राखिरहेका थियौँ,” प्रदीप भन्छन् ।

महादेवस्थानको चोकमा उताबाट ट्रक आयो । यताबाट प्रदीपले चलाएको गाडी पुग्यो । ट्रकले गाडीको टायर छुँदा टायर पड्कियो । गाडी भित्तामा पुगेर घस्रियो । सन्तोषको हात पूरै फ्याक्चर भयो । रामशरणको टाउको ठोक्किँदा नाक फुटेर भलभली रगत बग्यो । प्रदीपलाई भने केही भएन । उनीहरू एम्बुलेन्समा काठमाडौं आए ।

“हामीभन्दा केही पछि सुटिङको गाडी थियो । उनीहरू कसको एक्सिडेन्ट परेछ भन्दै गएछन् । मलेखु पुगेर फोन गरेपछि पो बल्ल थाहा पाए, हाम्रो गाडी एक्सिडेन्ट भएको,” प्रदीप भन्छन् ।

अनि रारा
१० दिनका लागि सुटिङ बन्द भयो । सन्तोष निको भइसकेका थिएनन् । उनीबिनै अरू छायांकनका निम्ति रारा गए । राराको चिसो प्रदीपले अझै भुल्न सकेका रहेन छन् । उनी सम्झिन्छन्, “तातो पानीले टाउको नहुँदा नुहाउँदै चिसोले हिउँ जमेजस्तो कपालमै पानी जम्थ्यो ।” 

इकुप्मेन्टले गाडी भरियो । रारातालपारि गएर बस्नु थियो । मान्छे त डेढदुई घण्टा हिँडेर गए, सामान भने डुंगाबाट लैजानुपर्ने थियो । १२ बजेपछि हावा चलेर तालमा छाल आउँथ्यो । साँझ परिसकेकाले आर्मी डुंगा लिएर आएका थिए । “चारजना आर्मी छालभित्र परे । हामीलाई लाग्यो– अर्को फसाद पर्‍यो, तर आर्मी न हो, जसोतसो सकुशल आउनुभयो,” प्रदीप भन्छन् ।

क्षमापूजा
छायांकन चलिरहेको थियो । मन्दिर परिसरमा सुटिङ । त्यही बेला एकजना धामी आएर काम्न थाले । अनुमति नलिई छायांकन किन गरेको भन्दै कामे । प्रदीपलगायत सबैलाई लाग्यो– कसैले रमाइलो गरिरहेको छ । त्यसैले उनीहरूले पनि मजाकमै लिए । तर, धामी र उनीसँगै आएका केही व्यक्तिले क्षमापूजा गर्नुपर्ने भन्दै प्रतिबद्धता जनाउन लगाए । सुटिङ युनिटले पनि ‘गर्छौं’ भनिदियो ।

भोलिपल्ट सुटिङ पूर्वनिर्धारित सेड्युलमै चल्यो । सुटिङ अन्तिम चरणमा पुगेको थियो । दिउँसो काम सकेर त्यही दिन हिँड्ने योजना थियो । धामी आएर कामेर क्षमापूजाको ‘प्रमिस’ गराएको पाँच दिन बितिसकेको थियो । दुइटामध्ये माथितिरको होटेलमा प्रदीपसहित केही थिए । क्रु मेम्बर तल्लो होटेलमा बसेका थिए ।

क्रु मेम्बर प्रदीपलाई बोलाउन पुगे । जाँदा दुई धामी कामिरहेका थिए । धामीहरू स्थानीय भाषामा बोलिरहेका थिए । भाषा अनुवाद गर्नेले भनिरहेका थिए– हिरोलाई बोला, हिरोलाई बोला ।  

‘तिमीहरू क्षमापूजा नगरी जाँदै रै’छौ, हेर्दै जाओ, तिमीहरू कोही ज्युँदै घर पुग्ने छैनौ,’ प्रदीप अनौठो क्षण सम्झिन्छन्, “हामीले के गर्नुपर्छ भनेर सोध्यौँ । भोलि बिहान ३ बजे रुद्रीपूजा गर्नुपर्छ भनेर मलाई हातमा चामल राखेर प्रमिस गराए ।”

उनीहरूले काम्दै ‘तेरो मान्छे दिउँसो भीरबाट लडेको छ’ भने । प्रोडक्सनको एसिस्टेन्ट भीरबाट लडेर सामान्य घाइते भई होटेलमा आएर सुतेका रहेछन् । “उसले कसैलाई भनेको रहेनछ । पछि किन यो मान्छे सुतिरहेको छ भनेर सोध्दा उसले ‘म भीरबाट लडेको थिएँ’ भन्यो,” प्रदीप भन्छन्, “त्यसपछि हामीलाई झन् डर लाग्यो । त्यसपछि हामीले अर्को दिन बिहान ३ बजे उठेर रुद्री लगायौँ । फिल्म राम्रो भयो भने मन्दिरमा घण्टा घढाउँछौँ भनेर प्रमिस गर्‍यौँ ।”

सिनेमाको छायांकन सकियो । आनीले ‘चढ्दै नचढ्नू’ भनेको कालो गाडी सन्तोषले बेचे ।

चिसोले बेहोस
‘लिलिबिली’को छायांकन यूकेमा थियो । डिसेम्बरको जाडो, यूकेको लोकेसन । प्रदीपले जिन्दगीभर नबिर्सने क्षण ।

चिसोले बेहोस भएर प्रदीप र उनकी को–एक्टर जसिता गुरुङ ढल्थे । अनि, सुटिङ रोकिन्थ्यो । शरीर तताउने कुरा खानुको विकल्प थिएन । खान्थे । उनलाई सुटिङ गर्दा लागेको थियो– यो सिनेमा त गयो ।

“एक्सप्रेस दिन शरीरका अंग चल्नुपर्‍यो, ओठबाहेक केही चल्दैन थियो । डाइलग बोल्नेबाहेक केही काम भएन,” उनी भन्छन्, “यो सिनेमा त साफ भयो भन्ने लागेको थियो । टर्कीमा पनि सुटिङ भएको सिनेमा दुई घण्टा परको लोकेसनमा गएर छायांकन गर्नुपर्थ्यो, हामी गाडीमै सुत्थ्यौँ ।” होटेल नभएका कारण त्यति टाढा बस्नुपरेको उनी सम्झिन्छन् ।

गुन तिर्दा
प्रसंग आयो ‘रोज’को । ‘म रोज गर्दै गर्दिनँ’ भनेर बसेका थिए, प्रदीप । गोपीकृष्ण मुभिजका निरक पौडेलले भने, ‘तिमीलाई कुनै बेला लगाएको गुन बिर्सियौ ? तिमी चलेपछि अहिले हामीलाई सहयोग नगर्ने ?’

प्रदीपले गुन सम्झिए । ‘डम्प’ हुन लागेको ‘स्केप’ निरकको सहयोगकै कारण रिलिज भएको थियो । वितरक मनोज राठीलाई निरकले ‘मेरा भाइहरूको सिनेमा हो, रिलिज गर्देऊ’ भनेपछि चलेको थियो ।

टर्कीमा छायांकन । गीत र पाइलट ट्रेनिङको सेड्युल १४ दिनको थियो । गीत खिच्दै समय सकियो । करिब १० सिन बाँकी थियो । अस्ट्रेलिया गएर प्रदीप आफैँले १० लाई दुई सिनमा कन्क्लुजनमा खिचेर पठाए । त्यसैलाई जोडजाड गरेर सिनेमा पूरा गरे ।

प्रदीप आइपुगे ‘लभ स्टेसन’मा । ‘लभ स्टेसन’मा टर्किज फिल्मको कपी भन्ने आरोप लाग्यो । चलचित्रमा उनी पार्टनरसिपमा बसेका थिए । न यो सिनेमाले व्यापारिक सफलता पायो न प्रदीपलाई आत्मसन्तुष्टि नै दियो ।

कहिले प्रदीप एक्टरलाई दिने रकम सुटिङमा खर्च गरे सिनेमा राम्रो हुन्छ भनेर पार्टनरसिपमा बसे । कहिले एड्भान्स रकममै चित्त बुझाए । एउटा सिनेमाका मेकरले उनलाई एड्भान्सपछिको रकम नै दिएनन् । १० लाखको चेक त दिएका थिए, बाउन्स भयो । उनले एक दिन ती मेकरको घरमा पुगेर भने, ‘दाइ, तपाईंको छोरी भर्खर जन्मिएकी रहिछन्, यो चेक छोरीलाई मेरो तर्फबाट गिफ्ट भयो ।’ त्यसपछि ती मेकरले प्रदीपलाई पाँच लाख दिएको उनलाई सम्झना छ ।

फ्याक्चर खुट्टाले एक्सन सिन
‘प्रेम गीत’को छायांकन सुरु भयो । कीर्तिपुरमा सेट लगाए । ७२ घण्टासम्म लगातार फाइटको सिन गरे । बाँकी सिन मनाङको लोकेसनमा थियो ।  डिसेम्बरको जाडोमा मनाङको चिसो । माइनस २७ डिग्री सेल्सियसको तापक्रममा छायांकन सुरु भयो । छतबाट हामफाल्ने सिन थियो । फर्स्ट टेकमा हामफाले । निर्देशकले भने– यो टेक राम्रो देखिएन, अलि परबाट आएर फाल हान । प्रदीपले ‘ल्यान्ड हुने ठाउँको पराल सारिदिनू’ भनेका थिए । परबाट दौडिएर आएर फाल हाने । पराल सारिएकै रहेन छ, खुट्टा फ्याक्चर भयो ।

khutta-1708042505.jpg
गोलीगाँठोमा फ्याक्चर भयो । तर, सात दिनको गीत र फाइटको रेगुलर सेड्युल थियो । “म रेस्ट गरेर बसेँ भने त्यत्रो क्रु मेम्बर र कलाकार मनाङजस्तो खर्चिलो ठाउँमा पैसा बर्बाद हुन्थ्यो,” प्रदीप भन्छन्, “भाँचिएको खुट्टा लिएर लगातार एक्सन र गीतको सिनको सुटिङ गरेँ ।”

त्यसपछि मनाङमा यति धेरै हिउँ पर्‍यो, छायांकन सम्भव भएन । भाँचिएको खुटामा ६ दिन लगाएर ४२ किलोमिटर हिउँमा बाटो खन्दै हिँडेर फर्किए । काठमाडौं आएर अस्पताल जाँदा चिकित्कले भने– यो त तुरुन्तै प्लास्टर गर्नुपर्छ ।

‘१५ दिनअगाडि भाँचिएर, १५ दिन डान्स र फाइट गरेर पनि ४२ किलोमिटर हिउँमा हिँडेर काठमाडौं आएको हुँ’ भनेपछि चिकित्सकले ‘त्यसो भए प्लास्टरचाहिँ नगरौँ’ भने । 

हार्टअट्याक
त्यहीबीचमा सिनेमेटोग्राफर राजेश श्रेष्ठलाई हार्टअट्याक भयो । प्रदीप र सन्तोषले रातभर मसाज गरेर बसे । “म भगवान्लाई प्रार्थना गरेर मसाज गर्दिन्थेँ । उहाँलाई केही सहज महसुस हुनेरहेछ । त्यसैले उहाँले ‘प्रदीपलाई बोलाइदेऊ’ भन्नुहुँदो रहेछ,” प्रदीप मनाङका चिसा दिनका कहालीलाग्दा क्षण सम्झिन्छन्, “प्रदीप, मलाई बचाऊ भन्नुहुन्थ्यो । मैले कसरी बचाउने ? मेरो हातमा कोही मर्दै छ भन्ने लाग्यो । म धरधरी रोएँ ।”

प्रदीपको वालेटमा साइबाबाको बिगुत टुट्दैन । उनले त्यो पानीमा घोलेर खुवाए । सिनेमामा आउनुअगाडि प्रदीप वेद पाठ गर्थे । उनले जानेजति वेद पाठ गरे । प्रदीपले राति आफ्नै कोठामा लगेर राखे । भोलिपल्ट हेलिकोप्टर मगाएर रेस्क्यु गरे । खुट्टा फ्याक्चर भएकाले सन्तोषले प्रदीपलाई पनि ‘हेलिकोप्टरमा जाऊ’ भने ।

“म हेलिकोप्टरमा जाँदा हिरोले विशेष सुविधा पायो, हामीलाई चाहिँ निर्माण पक्षले मानवीय संवेदना पनि देखाएन भन्ने हुन्छ भनेर म आइनँ,” प्रदीप भन्छन्, “मैले आफ्नो सबै सामान छोडेर सुटिङको कस्ट्युम बोकेर आ’को थिएँ, हिरोले नै मिहिनेत गरिरहेको छ भने हामीले पनि साथ दिनुपर्छ भन्ने म्यासेज जाओस् भनेर ।” चार हेलिकोप्टरमा बालबालिका, एजेड व्यक्ति, क्यामेरा र हार्डडिस्क मात्र पठाएको उनी सम्झिन्छन् ।

बलिउडमा होर्डिङ बोर्ड
चैत २८ मा सिनेमा रिलिज डेट थियो । चैतको पहिलो साता नै लकडाउन सुरु भयो । रिलिज रोकियो । तीन/चार महिना त बिदा पाएजस्तो भयो, रमाइलै भयो ।
shoot-1708042621.jpg
त्यसपछि सिनेमा भारतमा पनि रिलिज गर्ने नयाँ योजना बनाए । मुम्बईतर्फ लागे । न कोही चिनेको न कसैको नम्बर छ । गुगलबाट ठेगाना खोज्दै फिल्म बेच्न हिँडेका उनीहरूलाई ‘लक’ लाग्यो । १५ दिनमा त उनीहरूले पोस्ट प्रोडक्सनमा पैसा हाल्ने प्रोडुसर नै भेटे । पहिलोपटक बलिउडमा नेपाली फिल्मका ठूलठूला होर्डिङ बोर्ड लागे ।

‘प्रकाश’मा चेतावनी
प्रदीपले चलचित्र ‘प्रकाश’का काम गरे । पोस्टर सार्वजनिक हुँदै रियालिस्टिक क्यारेक्टरमा काम गरेको भनेर उनको तारिफ भयो । प्रिमियरमा पनि उनले राम्रो रेस्पोन्स पाए । जब रिलिजको दिन आयो, अपेक्षित शोज नपाएको उनले सुने । ३ बजेपछि शोज नै छैन भन्ने थाहा पाएपछि उनी पत्रकार सम्मेलन गर्न पुगे । प्राइम टाइममा शोज नदिए चोकचोकमा प्रोजेक्टर लगाएर सिनेमा देखाउने चेतावनी दिए ।

“वास्तवमा पत्रकार सम्मेलन गर्दा मलाई व्यक्तिगत फाइदा त हुँदैन थियो, दर्शकले मेरो काम हेर्नेबाहेक,” उनी भन्छन्, “तर, राम्रो सिनेमा मर्नु भनेको निर्माताको लगानी डुब्ने हो । राम्रो सिनेमा पनि डुब्नु भनेको निर्माता फेरि नफर्कनु हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro