site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डले भने– मलाई नेतृत्वमा बसिरहने लोभ छैन 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई नेतृत्वमा बसिरहने रहर नभएको बताएका छन् । ०४६ सालमा नेकपा मसालको नेतृत्व सुरु गरेर अहिलेसम्म नेतृत्वमै रहेका अध्यक्ष प्रचण्डले मंगलबार ‘जनयुद्ध दिवस’को कार्यक्रममा आफूलाई नेतृत्वमा बसिरहने लोभ नभएको बताए । 

पूर्वमाओवादीलाई फेरि एकताबद्ध हुन आह्वान गरेका अध्यक्ष प्रचण्डले नेतृत्वमा जानका लागि पनि खुला रहेको सन्देश दिन यस्तो बताएका हुन् । 

“म माओवादीबाट अलग हुनुभएका साथीहरूलाई आह्वान गर्न चाहन्छु । आउनुस् बसौँ, समीक्षा गरौँ । खुल्ला मनले आत्मालोचना गरौँ,” अध्यक्ष प्रचण्डले भने, “माओवादी युद्धका सहयात्री सबैले मलाई स्थापित गर्न सहयोग गर्नुभयो । अब मलाई नेतृत्वमा बसिराख्ने लोभ पनि छैन ।” 

सर्वोच्च अदालतले जनयुद्ध दिवसलाई असंवैधानिक घोषणा गरेको र राजनीतिक प्रतिस्पर्धीले होच्याएकोप्रति अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाए । त्यहीकारण माओवादीहरू पुनः संकल्पित हुनुपर्ने बताए । 

“२९औँ जनयुद्ध दिवस मनाउँदै गर्दा नयाँ संकल्प गर्नुपर्नेछ । जनयुद्ध नेपालको इतिहासको महान दूरगामी पहल थियो, छ र रहिरहनेछ,” अध्यक्ष प्रचण्डले भने, “त्यतिबेला पनि तिथिमिति तोक्ने, टिक्न सक्दैन भन्ने नेताहरू हुनुहुन्थ्यो । पत्याउन सकेका थिएनन् । अध्ययन गरेर नै तयारी गरिएको थियो ।” 

उनले युद्धका क्रममा साना–साना विषयमा ध्यान पुगेकाले नै आजको दिनसम्म आइपुगेको बताए । “कतिपय ठाउँमा सानो कमजोरी गरेर ठूलो क्षति पनि बेहोर्यौं । उत्पीडत वर्गलाई पहिचान र आत्मसम्मान गर्ने अफ्ठ्याराका बाबजुद झाँगिदै पुग्यौं,” उनले भने, “लिडरसीपले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति परिवेशअनुसार निर्णय गर्न नसकेको भए जनयुद्ध परास्त हुने खतरा थियो ।” 

उनले सबैको आशाको केन्द्र बनेको माओवादीको वर्तमान अवस्था त्यस्तै रहन नसकेको स्वीकार गरे । “माओवादी आशाको केन्द्र बनेको थियो । इतिहासलाई बग्याउने छुट कसैलाई छैन,” प्रचण्डले भने, “८० प्रतिशत भू–भाग हाम्रो कब्जामा थियो । जनयुद्धले नै निर्णायक शक्ति बनेको थियो । हामी एक्लैले काठमाडौं कब्जा गर्न सकिँदैन भन्नेमा पुगेकै हो ।”

अध्यक्ष प्रचण्डले जनयुद्धलाई होच्याउनेहरूले गणतन्त्रविरुद्ध पनि दुस्साहस गरिरहेको अथ्र्याए । “गणतन्त्रविरुद्ध दुस्साहस गर्ने कोसिसा गर्दैछन् । एकपटक फेरि हामी जाग्नुपर्छ । अपमानित गर्न खोज्नेलाई ठिक ठाउँमा ल्याउनुपर्ने छ,” प्रचण्डले भने, “जनयुद्धमा सहिद नभएको कुनै जाति छैन । महान् जनयुद्धलाई अपमानित गर्ने छुट कसैलाई छैन ।” 

उनले हिजो माओवादी आन्दोलनलाई समाप्त पार्ने प्रयास भएको भन्दै आज पनि होच्याउने काम भइरहेको बताए । “हिजो पनि सखाप पार्न खोजेका हुन्, हामी सखाप भएनौँ,” अध्यक्ष प्रचण्डले भने, “अपमानित गर्नेलाई प्रतिवाद गर्नैपर्छ ।”

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro