काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन सुरु भएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्मेलनको उद्घाटन गरे ।
पानसमा बत्ती बालेर उनले सम्मेलनको उद्घाटन गरेका हुन् । त्यसअघि, माओवादीले २९औँ ‘जनयुद्ध दिवस’ मनाएको थियो ।
प्रज्ञा भवनमै २९ वटा मैनबत्ती बालेर र सहिदको तस्बिरमा माल्यार्प्पण गरेर दिवस मनाइएको महासचिव देव गुरुङले जानकारी दिए ।
सम्मेलन तीन दिनसम्म चल्नेछ । पार्टीलाई व्यवस्थित बनाउन आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।
विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको थियो । उक्त समितिले गएको पुस २७ गते अध्यक्ष प्रचण्डलाई मस्यौदा बुझाएको थियो ।
सम्मेलनमा एक हजार २०० भन्दा बढी प्रतिनिधिको सहभागिता छ । केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी र जनवर्गीय संगठनका पदाधिकारी सम्मेलनमा सहभागी रहेका पार्टीले जनाएको छ ।
तस्बिर हेर्नोस्–