काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सांसद जितेन्द्रनारायण देवले गठबन्धनले भ्रष्टाचार बढाएको बताएका छन् ।
सोमबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धनको राजनीति देशका लागि राम्रो नभएको बताए । एउटा नेताले काम गर्न खोज्दा अर्कोले खुट्टा तान्ने काम गरेको उनको भनाइ छ ।
सांसद देवले प्रत्यक्ष कार्यकारी निर्वाचनमा जानुपर्ने बताए । आजको राष्ट्रिय परिस्थिति चुनौतीपूर्ण रहेको बताए । व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको भन्दै सबै राजनीतिक दलहरूले यसमा सोच्न जरुरी रहेको बताए ।
उनले भने, "गठबन्धनको राजनीति, अहिलेको गठबन्धनलाई मात्रै म भन्दिनँ । गठबन्धनले भ्रष्टचार बढायो । एउटा नेताले काम गर्न खोज्छ, अर्को नेताले खुट्टा तान्छ । त्यसकारण कार्यकारी प्रत्यक्ष निर्वाचन गर्नेगरी संविधानमा संशोधन गर्ने हो की । जो आउँछ पाँच वर्ष काम गर्छ, काम गरेन भने जनताले नै सजाय दिन्छन् । आजको राष्ट्रिय परिस्थिति अत्यन्त चुनौतीपूर्ण छ । अत्यन्त गम्भीर छ । संकटपूर्ण छ ।"
उनले यो वा त्यो पार्टीभन्दा पनि व्यवस्थाप्रति जिम्मेवार रहन आग्रह गरे ।