site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेतन्याहूद्वारा रफाह आक्रमणअघि प्यालेस्टिनीलाई ‘सुरक्षित मार्ग’ दिने प्रतिबद्धता
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

गाजापट्टी । गाजाको दक्षिणी सहर रफाहमा आक्रमणपूर्व इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विस्थापित प्यालेष्टिनी नागरिकहरूलाई ‘सुरक्षित मार्ग’ दिइने बताएका छन् । 

नेतन्याहूले आइतबार प्रसारित एक अन्तर्वार्तामा हमासविरुद्ध इजरायलको सैन्य अभियानलाई रफाहसम्म विस्तार गर्ने बताएका छन् । 

गाजापट्टीको २४ लाख जनसंख्यामध्ये आधाभन्दा बढी जनसंख्या भएको ठाउँमा नरसंहार हुन सक्ने अन्तर्राष्ट्रिय चेतावनीका बावजुद नेतन्याहूले एबीसी न्यूजसँग भने, “हामी हमासविरूद्धको अभियानलाई रफाहमा विस्तार गर्न गइरहेका छौँ ।”

उनले भने, “हामी प्यालेष्टिनी नागरिकको लागि सुरक्षित मार्ग प्रदान गर्दै कारबाही अगाडि बढ्नेछौँ ताकी उनीहरू सुरक्षित अन्यत्र जान सकुन् । 

यद्यपि, इजिप्टसँगको सिमानामा थुनिएका र अस्थायी टेन्टमा आश्रय लिएका ठूलो संख्याका मानिसहरू कहाँ जान सक्छन् भन्ने कुरा स्पष्ट हुन सकेको छैन ।

नेतान्याहूले ‘विस्तृत योजनामा काम गरिरहेको’ बताएका थिए । 

सैनिकहरूले अझै प्रवेश नगरेको तर, दैनिकजस्तो नै हवाई आक्रमण भइरहेको गाजाको रफाह क्षेत्रमा हमासविरूद्धको कारबाहीका लागि इजरायली सेना प्रवेश गर्न लागेको हो ।

प्यालेस्टिनी मोहम्मद सैदामले शनिबार इजरायली आक्रमणबाट प्रहरीको एउटा गाडी ध्वस्त भएपछि भने, “विस्थापित गाजाबासीहरूले रफाह सुरक्षित छ भनेका थिए तर त्यो सुरक्षित छैन । सबै ठाउँलाई निशाना बनाइएको छ ।” 

रफाहबाट हमासको ‘बटालियन’ खाली नगरी हमासमाथि ‘विजय’ हासिल गर्न नसकिने दाबी गर्ने इजरायली प्रधानमन्त्रीले शुक्रबार आफ्नो सेनालाई कारबाहीको तयारी गर्न निर्देशन दिएका थिए । 

उनको यो घोषणा विश्वका नेता र सहायता समूहहरूबाट चिन्ताको विषय बनेको छ ।

“गाजाका मानिसहरू हावामा हराउन सक्दैनन्,” जर्मन विदेशमन्त्री एनालेना बेयरबोकले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “रफाहमाथि इजरायली आक्रमण ‘मानवीय विपत्ति’ हुनेछ ।

साउदी अरबको विदेश मन्त्रालयले शनिबार रफाहमाथि आक्रमणको ‘गम्भीर परिणाम’ आउने चेतावनी दिँदै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को तत्काल बैठक बोलाउन आह्वान गरेको छ भने बेलायती विदेशमन्त्री डेभिड क्यामरूनले सम्भावित आक्रमणप्रति आफू ‘गम्भीररूपमा चिन्तित’ बनेकोे बताएका छन् । 

उनले लेखेका छन्, “सहायता प्राप्त गर्न र बन्धक बनाइएकाहरूलाई बाहिर निकाल्नका लागि लडाइमा तत्काल विराम लगाउनु प्राथमिकता हुनुपर्दछ ।” रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro