site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
नेपालमा सबैभन्दा बढी कुन सामाजिक सञ्जालको दुरुपयोग हुन्छ ?

काठमाडौं । नेपालमा सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । युवादेखि वृद्ध–वृद्धासम्मले कुनै न कुनै सामाजिक सञ्जाल चलाउने गर्छन् । सामाजिक सञ्जालको प्रयोग बढेसँगै यसको दुरुपयोग गर्नेको संख्या पनि बढ्दो छ । दुरुपयोग बढेकै कारण पछिल्लो समय सरकारले सामाजिक सञ्जाल ‘टिकटक’माथि प्रतिबन्ध लगाएको थियो ।

टिकटकमाथि प्रतिबन्ध लगाइए पनि नेपालमा बढी दुरुपयोग हुने सामाजिक सञ्जालको सूचीमा अन्यको नाम अग्रस्थानमा आउँछ ।

नेपाल प्रहरीका अनुसार पछिल्ला करिब सात महिनाको अवधिमा साइबर अपराधसम्बन्धी १३ हजार ३३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् ।

चालु आर्थिक वर्ष २०८०/०८१ को साउन १ गतेदेखि माघ २३ गतेसम्मको अवधिमा ती निवेदन प्रहरीकोमा परेका हुन् । ती निवेदनमध्ये सामाजिक सञ्जालसँग सम्बन्धित ११ हजार ४२५ वटा रहेका छन् । सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराधका उजुरी एक हजार ९०५ वटा छन् । साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जनालाई साइबर ब्युरोबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालहरूमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने जस्ता प्रवृत्ति हाल देखिएको छ ।

Global Ime bank

सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने तथा दुःख दिने, सरकारी तथा अन्य संघ संस्थाहरूको वेवसाइट ह्याक गर्ने  र अनलाइन ठगी गर्ने जस्ता प्रवृत्ति पनि पछिल्ला महिनामा देखिएको प्रहरीको भनाई छ ।

“अपराधीहरूले विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी साइबरजन्य अपराध गर्ने गरेका छन् । यसबाट जोगिन सबै सचेत हुन आवश्यक छ । यस्ता अपराध हुन नदिन नेपाल प्रहरीले सचेतना फैलाउने, अपराधीलाई कानुनी दायरामा ल्याउने र साइबर ब्युरोलाई अझ प्रभावकारी बनाउँदै अनुसन्धान र कारबाहीलाई तीव्रता दिने अभियान चलाएको छ,” नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले भने ।

पछिल्लो करिब सात महिनामा दर्ता भएका निवेदनमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक/म्यासेन्जरको दुरूपयोगका ९ हजार ३५० वटा रहेका छन् । भाइबरका १६, इमोका ६, युट्युवका ३९, ट्वीटरका ६, इन्स्ट्राग्रामका ४३२, वेभसाइट ह्याकिङका ६, टिकटकका ६६७, इमेलका ८०, इसेवाका १९० र अन्यतर्फ ११८ वटा रहेको जानकारी प्रहरीले दिएको छ ।

यसैगरी सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराधतर्फ सामाजिक सञ्जाल ह्याकका ४०३, उपहार/पैसा पठाएकोसम्बन्धी २६४, लट्री परेको प्रलोभन देखाई ठगी गरेका ३३, वैदेशिक रोजगारको प्रलोभनका ३८, अनलाइन जागिर/कोठा खोजी दिनेतर्फ ३५, बैंक तथा वालेट अफिसबाट बोलेको/एकाउन्ट ह्याकका १५२, मास्टर कार्ड/मनी एक्सचेन्ज समेतका ६१, भिडियो सेयरिङ र ब्ल्याकमेलिङका ३५, क्रिप्टोसँग सम्बन्धित ९५, अनलाइन सपिङका ४६०, सामाजिक सञ्जाल फेक आइडी ६७ र अन्यतर्फ २६२ वटा रहेका छन् ।

साइबर अपराधमा पीडितभन्दा पीडक कम उमेरका
आर्थिक वर्ष २०७९/०८० मा साइबर अपराधको मुद्दा दर्ताको तथ्यांक विश्लेषण गर्दा पीडितको उमेर समूह २६ देखि ३५ वर्ष र पीडकको उमेर १९ देखि २५ वर्षको धेरै संख्या रहेको पाइएको प्रहरीले जनाएको छ ।

यसबाट अपराधमा पर्ने उमेर समूह वयश्क जाने बुझेको नै धेरै देखिन्छ भने पीडकको उमेर पीडितको भन्दा कम देखिन्छ । यसको अर्थ बढी आवेग र उत्तेजनामा अपराध हुने गरेको प्रहरीको बुझाइ छ ।

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्र हत्या गर्ने, ठगी गर्ने, दुर्व्यवहार गर्ने, पीडितहरूको तस्बिरमा अश्लिलता जोडी दुःख दिने, कम्प्युटर सामग्रीमा अनाधिकृत पहुँच पुर्‍याई डाटा नष्ट गरी हानी नोक्सानी पु¥याउने, पीडितको चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण युट्यूव च्यानलमार्फत प्रसारण गर्ने जस्ता साइबर अपराधमा अपराधीहरू संलग्न भएको तथ्यांकले देखाउँछ ।  

विदेशी नागरिकको फोटो प्रयोग गरी नक्कली खाता खोल्ने, विभिन्न बहानामा लोभ देखाई अनलाइन बैंकिङको पासवर्ड लिइ पनि ठगी हुने गरेको भनाइ प्रहरीको छ ।

प्रहरी नायव महानिरीक्षक ढकाल भन्छन्, “सामाजिक सञ्जालसम्बन्धी अपराध अनुसन्धानका लागि सम्बन्धित सामाजिक सञ्जालको सम्पर्क कार्यालयसँग समन्वय गर्नुपर्ने तर उक्त सम्पर्क कार्यालय नेपालमा नभएकोले केही झन्झटिलो र समय लाग्ने गरेको छ । तथापि छिटो छरितो सेवाका लागि नेपाल प्रहरीको प्रयास जारी छ ।”

साइबर अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्ने उद्देश्यले नेपाल प्रहरीभित्र रहेका संयन्त्रहरूलाई समयानुकूल परिमार्जन गरी थप सुदृढ बनाउने क्रममा साइबर अपराध सचेतना, साइबर सुरक्षा र साइबर अपराध अनुसन्धान समेतको काम नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरोले गरिरहेको छ ।

हाल साइबरसम्बन्धी अपराध अनुसन्धानको लागि जिल्ला अदालतलाई समेत अधिकार प्रत्यायोजन भएको छ । देशभर प्राप्त निवेदन तथा उजुरी उपर प्रविधिको प्रयोग गर्दै सुक्ष्म तरिकाले अनुसन्धान गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा साइबर अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याई कारबाही हुने गरेको छ ।

सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धान कार्यलाई चुनौती थपेको छ । यस्ता चुनौतीको सामना गर्न तथा नागरिकलाई साइबर अपराधबाट जोगाउन नेपाल प्रहरीले कार्य गर्दै आइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ०७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu