site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तान निर्वाचन : कसले कति सिट जिते ?

इस्लामावाद । पाकिस्तानमा शनिबार सार्वजनिक अन्तिम केही निर्वाचन परिणाममा स्पष्ट बहुमत नदेखिए पनि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानप्रति बफादार स्वतन्त्र उमेदवारको बलियो प्रदर्शन देखिएको छ । नतिजाले देशले आउँदो केही दिन सरकार गठनका निम्ति राजनीतिक खरिद–बिक्रीको सामना गर्ने देखिएको छ ।

खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)ले महिनौँ लामो दमनको अवज्ञा गर्दै निर्वाचन अभियानलाई अघि बढाएको थियो । चुनावकै मुखमा पीटीआईका नेतालाई विभिन्न अभियोगमा जेल सजाय तोक्ने, यस पहिले पाएको चुनाव चिह्न प्रयोग गर्न रोक लगाउने, प्रचारप्रसारमा अवरोध सिर्जना गर्नेजस्ता कार्यले पीटीआईले आफ्ना उमेदवारलाई स्वतन्त्र रूपमा निर्वाचनको मैदानमा उभ्यायो ।

पाकिस्तानी राजनीतिमा संस्थापन पक्षको व्यापक जालझेलबीच मैदानमा उत्रिएका स्वतन्त्र उमेदवारले सशक्त नतिजा निकाल्न सफल भएका छन् । यसले उनीहरूका मुख्य प्रतिद्वन्द्वीलाई अझै पनि चुनौती दियो । परिणाममा लामो ढिलाइपछि सैन्य प्रतिष्ठानले मतदानमा धाँधली गरेको आरोप पीटीआई नेताहरूले लगाएका छन् ।

सेनाको समर्थन रहेको भनिएको पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन)ले सबैभन्दा बढी सिट प्राप्त गर्ने पार्टीको रूपमा विजयको घोषणा गरेको छ । तीनपटकका पूर्वप्रधानमन्त्री नवाज शरिफले स्थापना गरेको पार्टीले सरकार गठनका निम्ति प्रतिद्वन्द्वी र स्वतन्त्र उमेदवारसँग सम्झौता गर्न बाध्य हुने देखिएको छ ।

पाकिस्तानी सेना प्रमुखले शनिबार चुनाव ‘जित र हारको शून्य योगफलको प्रतिस्पर्धा’ नभएको भन्दै राजनीतिक ध्रुवीकरण अन्त्य गर्न आग्रह गरेका छन् । “अराजकता र ध्रुवीकरणको राजनीतिबाट माथि उठ्न राष्ट्रलाई स्थिर हात र उपचारात्मक स्पर्शको खाँचो छ,” सेना प्रमुख जनरल सैयद असीम मुनिरलाई उद्धृत गर्दै सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Global Ime bank

स्वतन्त्र ९९, पीएमएल–एन ७१ र पीपीपी ५३ स्थानमा विजयी
शनिबार बिहानसम्म स्वतन्त्र उमेदवारले कम्तीमा ९९ सिट जितेका छन् । तीमध्ये ८८ सिटमा जित्नेहरू खानप्रति पूर्ण रूपमा बफादार रहेका पर्यवेक्षकले दाबी गरेका छन् ।

पीएमएल–एनले ७१ र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)ले ५३ सिट जितेका छन् । निर्वाचित २६६ सदस्यीय नेसनल एसेम्बलीमध्ये १५ को घोषणा हुन बाँकी छ ।

मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्यूएम)सहित साना दलले २७ सिटमा विजय हासिल गरेका छन् । एमक्यूएम १७ स्थनमा विजयी बनेको छ । अरू दलले बाँकी १० सिट जितेका छन् ।

साना दलको उदय आउँदा दिनमा पीटीआईका निम्ति निकै चासोको विषय बन्नेछ । यदि, पीटीआईका स्वतन्त्र उमेदवारहरू तीमध्ये कुनै एकमा सामेल भए उनीहरूले प्रतिस्पर्धात्मक मतमा पार्टीको प्रदर्शनका आधारमा छुट्ट्याइएका महिला र धार्मिक अल्पसंख्यकका लागि आरक्षित थप ७० अनिर्वाचित सिटको हिस्सा लिन सक्नेछन् ।

खानका विश्वासपात्रहरूले जितेका अधिकांश सिटहरू खैबर पख्तुनख्वाका रहेका छन् । उक्त राज्यको शाङ्ला जिल्लामा कथित मतदान धाँधलीको विरोधमा प्रदर्शन गर्दा शुक्रबार प्रहरीले चलाएको गोली लागेर कम्तीमा दुई पीटीआई समर्थकको मृत्यु भएको र २० भन्दा बढी घाइते भएका बताइएको थियो ।

त्यसो त निर्वाचन अभियानका क्रममा भएका हिंसात्मक घटनामा सुरक्षाकर्मी, दलका नेता–कार्यकर्ता तथा सर्वसाधारण गरी दर्जनौँ मानिसले ज्यान गुमाएका छन् ।

खैबर पख्तुनख्वाको राजधानी पेशावर र बलुचिस्तान प्रान्तको क्वेटामा पनि ‘मतदानमा हस्तक्षेप र धाँधली’को विरोधमा शुक्रबार र शनिबार पनि प्रदर्शन गरिएको छ ।

पेशावरमा करिब दुई हजार पीटीआई समर्थक प्रदर्शनमा सहभागी भएका २८ वर्षीय व्यापारी मोहम्मद सलिमले भने, “हाम्रो मतपरिणाम परिवर्तन भएको छ । हाम्रा सबै मतको पुनः गणना हुनुपर्छ ।”

निर्वाचन पहिले शरिफको पीएमएल–एनले सबैभन्दा बढी सिट जित्ने अपेक्षा गरिएको थियो । विश्लेषकले यसका ७४ वर्षीय संस्थापकलाई सेनाको नेतृत्वमा रहेको संस्थापनको आशीर्वाद रहेको बताएका थिए ।

मतदानअघिका दिनहरूमा धेरै लामो जेल सजाय सुनाइएका खानलाई १० चुनाव लड्न पनि रोक लगाइएको छ ।

राष्ट्रव्यापी चुनावको दिन मोबाइल टेलिफोन ‘ब्ल्याकआउट’ र परिणामको ढिलो गणनाले शरिफको सफलता सुनिश्चित गर्न सैन्य नेतृत्वको संस्थापनले प्रक्रियालाई प्रभावित गरिरहेको आशंका उत्पन्न गरेको थियो ।

सन् २०१८ को चुनावमा पीटीआईले झिनो बहुमत प्राप्त गरेपछि पीएमएल–एन र पीपीपीले अप्रिल २०२२ मा खानलाई पदबाट हटाउन साना पार्टीहरूसँग गठबन्धन गरी उनीविरुद्ध अभियान चलाएका थिए ।

त्यसपछि पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर खानले मूलतः उनको सत्ताको उदयलाई समर्थन गरेको सेनाको नेतृत्वमा रहेको संस्थापनविरुद्ध अवज्ञाको अभूतपूर्व अभियान चलाएका थिए ।

खानलाई गत साता राजद्रोह, भ्रष्टाचार र गैरइस्लामिक विवाह गरेको अभियोगमा तीन छुट्टाछुट्टै मुद्दामा दोषी ठहर गरिएको थियो । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu