“तपाईं त साह्रै मजाको मान्छे । मैले कति धेरै मान्छे भेटेँ, तर तपाईंजस्तो सहयोगी र इमानदार भेट्न सकिनँ,” प्रकाशमानले प्रशंसा गर्न थाल्यो । हरिचन्द्र पनि मक्ख पर्न थाल्यो ।
“राम्रो मान्छेसँग साइनो जोड्नुपर्छ भन्छन्, के गर्ने हो ?,” प्रकाशमानले भन्यो ।
“छोराछोरीको बिहे गरिदिऊँ भने सानै छन्,” हरिचन्द्र हाँस्यो ।
“साइनो नै लगाउन त मित साइनो पनि हुन्छ नि,” प्रकाशमानले थप्यो ।
“कुरा निस्केपछि, मन मिलेपछि मित लगाउनु न त,” शिलादेवीले भनिन् ।
रुद्रनाथको चिया पसलमा उसकी श्रीमतीले अबिर र चामल मोलेर अक्षता बनाइन् । अलिकति फूल टिपेर ल्याइयो ।
कारभित्रबाट ड्राइफुडको सानो प्याकेट र एकजोर कपडा झिकिन् शिलादेवीले ।
“आफ्नो त यसैको व्यापार । नमुना देखाउन पनि एक–दुईजोर लिएर हिँड्नुपर्ने । ल, आज काम लाग्ने भयो,” प्रकाशमानले कुरा मिलायो ।
दुवैले एकार्कालाई टीका लगाइदिए । आपसमा टाउको ठोके । एकजोर कपडा र ड्राइफुडको प्याकेट हरिचन्द्रको हातमा राखिदिए ।
आफूले दिने कुरा नभेटेपछि हरिचन्द्र अलमल्ल परे ।
“आफूले लगाएको टोपी लगाइदिनु न, भै’हाल्छ नि,” शिलादेवीले भनिन् ।
मित लगाउने काम सकियो ।
“ल त मितज्यू, अब हामी जान्छौँ,” प्रकाशमानले भने ।
“मितेरी साइनो जोडेर त्यसै जानु भएन, जाऊँ घरतिर । खाना खाएर जानुपर्छ,” हरिचन्द्रले भने ।
“हैन, हामी आउँछौँ नि कुनै दिन । अहिले हतार छ ।” बिदाबारी भएर उनीहरू कार चढेर निस्किए ।
कारभित्र शिलादेवीले सोधिन्, “हजुरको कतिजना मित भयो रे !”
“भयो होला आठ–दशजना । के गर्ने, आफ्नो जग्गा वरिपरिको मान्छेसँग मित लगाएपछि खेतीपातीको हेरचाह राम्रै हुन्छ,” प्रकाशमानले ओठमा मन्द मुस्कान फैलाउँदै भने ।