सुशील कोइराला नेपाली राजनीतिका असल पात्र हुन् । प्रवृत्ति असल, त्यसो भए पात्र पनि अब्बल हुने हो । स्वर्गीय कोइराला यस्तै अब्बल जसले राजनीतिलाई असल मार्ग हिँडाउन खोज्नुभयो । जीवन असल राजनीतिक मार्गमा समर्पित गर्नुभयो ।
महामना बीपी कोइरालाले मोदीआइन उपन्यासमार्फत ‘मानिस ठूलो होइन, असल बन्नुपर्ने’ सन्देश दिनुभएको थियो । सुशील कोइरालाका हकमा मोदीआइन वाक्यांश लागू झैँ प्रतीत हुन्छ । उहाँको जीवन पद्धतिले त्यही बाटो पछ्याएको लाग्छ, बीपीले मोदीआइनमा जे भन्नुभएको हो, त्यही असल बाटो ।
त्यही असल बाटो हो, जुन यात्राले उहाँलाई नेपाली जनतामाँझ लोकप्रिय बनायो र राजनीतिमा सफल पनि गरायो । सफलताको मानक कति पुग्दा हुन्छ ? थाहा छैन । तर, ‘सार्थक उद्देश्य प्राप्तिमा निरन्तरको लगाव’ चाहिँ सफलताको मानक र सूत्र दुवै हो । सुशील कोइरालाको जीवन इतिहासलाई हेर्यौँ भने हामीले भेट्टाउने यथार्थ यही हो ।
संयोग, होला कि के ? कसै–कसैको नाम र परिणाम दुवैबीच अविच्छिन्न तादात्म्य हुन्छ । राजनीतिज्ञ सुशीलको नाम र काम वा परिणाम ठ्याक्कै मिल्दो छ । मैले राजनीतिका ‘सुशील’ पात्रको सान्निध्य पाएकाले पनि उहाँको प्रवृत्ति, व्यबहार र सरलताको प्रत्यक्ष साक्षी भए । कम बोल्ने, तर मीठो बोल्ने । कहिले काहीँ विषय प्रसंगले झनक्क गर्ने । अनि सुन्नोस् न सुन्नोस् भन्दै फकाउने ।
यतिखेर त यस्ता पात्र नौलो लाग्दा हुन् । समयले सधैं यस्ता मान्छे दिने रहेनछ । पुस्तौँ पुस्तामा कोही एक सुशील हुने रहेछन् । नेपाली राजनीतिमा स्वर्गीय सुशील कोइराला यस्तै एक पात्र भए भन्ने लाग्छ । इतिहासले यो सत्य बोली रहला । कार्यकर्तासँग टाँसिरहने सुशील कोइराला ।
प्रजातान्त्रिक नेपालको निर्माणमा नेपाली कांग्रेसको अहं स्थान, जो अर्को कसैले पाएको छैन । त्यो स्थान अब अर्को कसैमा सर्ने पनि होइन । जो बन्यो, त्यो बन्यो । इतिहास भयो । वर्तमान सबैको हातमा छ, आज भएर आउने भविष्य कस्तो बनाउने हो ? पात्रको पहिचान यसैमा छ । सुशील कोइरालाले वर्तमानबाटै भविष्यलाई सम्बोधन गर्नुभयो ।
नेपाली कांग्रेसका सभापति सुशील कोइराला मन्त्री नबनीकन एक्कै पटक जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो । अनि सफल प्रधानमन्त्री पनि । नेपालको इतिहासमा यस्तो बिरलै पाइने संयोग हो । धेयले मानिसलाई अदम्य पार्ने रहेछ । सुशील अदम्य हो ।
दोस्रो निर्वाचित संविधानसभाले संविधान बनायो । प्रधानमन्त्री कोइरालाले सबैको योगदानलाई समेटेर संविधान जारी गर्ने सफल वातावरणलाई नेतृत्व दिनुभयो । सहमति, सहकार्य र एकताको मेलमिलाप सूत्र पढाएर उहाँले त्यो सफलता नेपाली राजनीतिलाई दिनुभएको हो ।
उहाँको राजनीतिक सूत्र सहमति, सहकार्य र एकता कुनै सत्ता आशक्ति वा शक्ति, पद र स्रोत पाउन थिएन । नेपाली जनताको पक्षमा राजनीतिक उद्देश्य हासिल गर्न उहाँले यो अवधारणा सूत्रलाई अनुशरण गर्नुभएको थियो । नेपालको भू–राजनीतिले कतिपय सन्दर्भमा यो सूत्रको प्रयोग आवश्यक माग गर्छ ।
नेपालको संविधान घोषणाताका आएको व्यवधान तराई–मधेशका राजनीतिक दलहरूबाट व्यक्त भएको थियो । आन्तरिक तनाव र बाह्य दबाब कारण बनेर संविधान आउने, नआउने वा कहिले आउने अनिश्चय थियो । यतिबेला त्यही सूत्र परिणामदायी बन्यो । यसबीच उहाँको कुरा सुन्ने अवसर पाउँदा केही जानकारी मिलेको छ । फुर्सदमा केही कुरा राख्ने मौका पनि उहाँ दिनुहुन्थ्यो ।
राजनीतिलाई स्वच्छ नैतिक दायित्व मान्ने सुशील कोइरालाले आफ्नो जीवनको अन्तिम धेय संविधान बनाउन निश्चित गर्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले प्रधानमन्त्री पाउने सर्तमा संविधान घोषणाको निम्ति सघाउने सौदाबाजी गर्नुभएको थियो । प्रधानमन्त्री सुशील कोइराला ‘ओली सर्त’मा राजी हुनुभयो । धेयको अघिल्तिर त्याग र समर्पण ।
तर उहाँले प्रधानमन्त्री छानिने संसद्को चुनावमा सौदाबाजी गर्ने उनै एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्नुभयो । जितिँदैन भन्ने संसदीय आँकडा स्पष्ट थियो । त्यसो भए किन उहाँ प्रधामन्त्री दिने सौदा र नजित्ने आँकडाबीच पनि स्पर्धा गर्नुभयो त ? यो प्रश्न त्यसबेला घनिभूत थियो । इतिहासले पनि भन्ला ।
जननिर्वाचित सभाबाट संविधान बनाउने नेपाली जनताको सात दशक लामो अपेक्षालाई पूरा गर्ने अठोट उहाँमा जाग्रत भयो । संविधानलाई धेय बनाएका कोइरालासँग उहाँको राजनीतिक जीवनको, जसलाई देशको निम्ति अन्तिम उपहार हुन सक्ने विषयमा केही भन्ने अवसर जुटाएको हुँ । समय लिएर भने । उहाँले गम्भीर सुनुवाइ गर्नुभयो । सुन्नु मात्रै भएन कि, भोलिपल्टदेखि आफ्नो यही धेय सार्वजनिक मञ्चबाट बारम्बार अभिव्यक्त गर्नुभयो ।
हिन्दीमा भन्छन् नि, ‘छोटी मुहँ बडी बात’ ठान्लान् । खुलस्त भन्न पनि सकस लाग्छ । तर आफ्नो हतास अनुभूति सुनाउँदै यस्तो सजगताका निम्ति मलाई नेता दिलेन्द्रप्रसाद बडूले प्रेरित गर्नुभएको हो, अह्राउनु भएको थियो । सुशील कोइरालाको सहयात्री, विश्वास पात्र उहाँलाई यो प्रसंग याद छ वा छैन ? त्यसपछि उहाँसँग सोधेको छैन ।
कुनै सानो प्रसंगले पनि ठूलो परिणाम दिन प्रेरित गरेको जानकारी हामीले महान योगकर्ताबाट थाहा पाएकै छौँ, पढेकै छौँ । शान्त पोखरीमा एउटा सानो ढुङ्गो हान्दा पनि लहरहरू सिर्जना गरिदिन्छ । विचार पनि त यस्तै हो । जसले धेयलाई उद्भाषित गर्छ, समर्पण जाग्रत गर्छ ।
मैले सोधें, ‘तपाईंले प्रधानमन्त्री दिने वचन दिएर संविधान घोषणामा साथ जुराउनु भयो, आखिर तिनै ओलीसँग किन यो पदमा स्पर्धा गर्नुभयो ?’
उहाँको सरल जवाफ थियो, ‘तराई–मधेशवादी दलहरूलाई संसद् र संविधानको दायराभित्र ल्याउन सघाएको हुँ । आँकडा थाहा थियो तर उनीहरूले सर्त राखे तिमी प्रतिस्पर्धा गरे मत दिन संसद्मा आउँछौँ, अन्यथा बहिष्कार गर्छौँ ।’
संसद्मा आउने र संविधानअन्तर्गतको स्पर्धा स्वीकार गर्ने सर्त मान्न, मनाउन आफू उम्मेदवार बनेको उहाँको उत्तर निष्कपट थियो । संविधान घोषणाको बेला सिर्जित उहापोह र व्यवधानको हामी साक्षी हौँ ।
सुशील कोइरालाको स्पर्धाले खासमा तीन विश्लेषणलाई उद्घाटित गरेको ठान्दछु । पहिलो, त्यतिबेला नेपाल भारत सीमाको नाकामा बसेर नाकाबन्दी लगाएको अपजस बोक्न तयार मधेश तराई–केन्द्रित दलहरू संसद् र संविधानको दायरामा आए । जबकि नाकाबन्दी छिमेकी मित्र भारतले लगाएको थियो ।
दोस्रो, बहुदलीय स्पर्धाको मर्यादा रह्यो । तेस्रो, त्यति नै बेला संविधान घोषणा नगर्न वा स्वअभिष्ट थप्न दबाब दिएको छिमेकी भारतले उहाँको पराजयमा न्यायो अनुभूति लियो र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गुन लगाएको सन्देश दियो । नेपाललाई संविधान दिन नेतृत्व गर्ने कोइरालाको मानमर्दनजन्य लज्जाको सुखानुभूति भारतीय नेताको काँचो काम थियो त्यो ।
त्यो अभिष्टको हतियार को बन्यो वा कसलाई बनाइयो ? यता धेरै जानु परेन । तर सात दशक लामो राष्ट्रिय धेय कसले पूरा गर्यो ? यो चाहिँ भन्नै पर्दैन, छर्लङ्ग छ ।
आज, माघ २६ गते नेपाली राजनीतिका ती मूर्धन्य असल पात्र एवं राष्ट्रिय धेयमा समर्मित राजनीतिज्ञ सुशील कोइराला बित्नुभएको नवौँ बर्ष प्रवेश हो । नवौँ स्मृति दिवसमा स्वर्गीय उहाँप्रति भावभिनी श्रद्धा, श्रद्धाञ्जलि अर्पित गर्दछु ।