काठमाडौं । अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा रहेको चलचित्र ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा गरिएको छ । वैशाख १४ गतेबाट यो चलचित्र प्रदर्शनमा आउने भएका छ ।
केकीको होम प्रोडक्सनमा निर्माण भएको यो चलचित्र आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित छ । सोही नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले सिनेमालाई निर्देशन गरेका छन् ।
केकीसँगै सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।
महिलालाई बोक्सीको आरोप लगाएर समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर चलचित्र निर्माण भएको हो ।
सामाजिक–थ्रिलर जनरामा निर्माण भएको चलचित्रले समाजमा प्रचलित कूप्रथालाई चित्रण गर्ने केकीले बताएकी छन् ।
नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने सिनेमालाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने उनको योजना छ ।
केकी स्वयं निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन् ।