काठमाडौं । केही वर्षयता गायकगायिकाको आम्दानीको मुख्य स्रोत स्टेज पफर्मेन्स बनेको छ । देश–विदेशमा हुने मेला–महोत्सव तथा कन्सर्ट उनीहरूको आम्दानीको मुख्य स्रोत हो ।
सीडी तथा क्यासेट बिक्रीबाट समय डिजिटलमा सिफ्ट भएको, युट्युबमा गीत रिलिज हुन थालेसँगै कलेक्सन एल्बम निकाल्ने प्रचलन हटेको र त्यसबाट समेत आकर्षक रोयल्टी आउन छोडेपछि गायकगायिकाको आम्दानी स्टेज कार्यक्रममा सीमित बनेको छ । तर, सीमित कलाकार मात्र यसबाट लाभान्वित भइरहेका छन् ।
लोक तथा दोहोरीका केही र सुगम संगीतका सीमित कलाकारले स्टेजमा बाक्लै निम्तो पाइरहेका छन् । बाँकी अधिकांश कलाकार अहिले फुर्सदिला बनेका छन् ।
पछिल्लो समय सर्वाधिक माग हुने गायिका प्रीति आले हुन् । उनलाई अहिले देशदेखि विदेशसम्मका स्टेज कार्यक्रममा भ्याइ नभ्याइ छ ।
लोकदोहोरीकै पशुपति शर्मा, प्रकाश सपूत, कुलेन्द्र विश्वकर्मा, रामजी खाँण, बद्री पंगेनी, खुमन अधिकारीलगायत कलाकार मेला–महोत्सवमा सबैभन्दा धेरै बोलाइने र रुचाइनेमा पर्छन् ।
सुगम संगीततर्फ प्रमोद खरेल, राजेशपायल राई, मेलिना राई, शिव परियार स्टेजका सर्वाधिक डिमान्डेड कलाकारमध्येमा पर्छन् । राजेशपायल राई नेपालमा भन्दा विदेशका धेरै कार्यक्रममा व्यस्त हुन्छन् ।
अग्रजसँगै नयाँ पुस्ताका कलाकारको पनि स्टेजमा लोभलाग्दो माग छ । यसको उदाहरण हुन्, रचना रिमाल, एलिना चौहान र समीक्षा अधिकारी । यी तीन गायिका अहिले सुगम संगीतको दुनियाँमा सबैभन्दा व्यस्त र डिमान्डेड हुन् । देश–विदेशमा हुने कार्यक्रममा यी गायिकाको सर्वाधिक माग हुने गरेको छ ।
संगीतकार समेत रहेका राजनराज शिवाकोटी र कालीप्रसाद बास्कोटा पनि मेला–महोत्सवमा बाक्लै देखिने अनुहार हुन् ।
सांगीतिक ब्यान्डतर्फ सबैभन्दा धेरै कन्सर्ट गर्ने नेपथ्य हो । यसले अक्सर नेपालभन्दा पनि विदेशतिरै धेरै कार्यक्रम गर्दै आएको छ ।
देश–विदेशका मेला, महोत्सव तथा कन्सर्टमा जाने कलाकारले कति पारिश्रमिक लिन्छन् ? व्यक्ति, ऊ र उसका गीतको लोकप्रियताका आधारमा पारिश्रमिक निर्धारण हुने गरेको छ ।
“सबैको यति नै पारिश्रमिक हुन्छ/छ भन्ने हुँदैन, यो व्यक्ति–व्यक्तिअनुसार फरक–फरक हुन्छ,” मेला महोत्सवमा हिँडिरहने एक गायक भन्छन्, “नेपालमा प्रायः प्रति स्टेज कार्यक्रम धेरैजसो कलाकारले ७० हजारदेखि एकलाख रुपैयाँसम्म लिन्छन् ।”
विदेशमा हुने कार्यक्रममा भने चलेका कलाकारले प्रतिस्टेज पफर्मेन्स केही बढी पारिश्रमिक लिने गरेका छन् । कलाकारको लोकप्रियता र आयोजक हेरेर पारिश्रमिक निर्धारण हुने गरेको उनीहरू बताउँछन् ।
पछिल्लो समय स्टेजमा पुनः व्यस्त भएका कलाकारमा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) पनि पर्छन् । सात वर्षपछि स्टेजमा फर्कंदा आफूहरूले दर्शक र आयोजकको उत्तिकै माया पाएको धुर्मुस स्वमंले बताएका छन् ।
केही कलाकार नयाँ गीत रेकर्ड पनि नभ्याउने गरी स्टेज कार्यक्रममा व्यस्त हुने गरेका छन् । तपाईंका गीत किन कम सार्वजनिक भएका, रेकर्डिङको अफर नै कम आउन थालेको हो ? भन्ने जिज्ञासामा समीक्षा भन्छिन्, “रेकर्डिङको अफर कम भएको होइन, कार्यक्रममा हिँड्नुपरेकाले रेकर्डिङ गर्न नभ्याएको हो । स्टेज कार्यक्रममा व्यस्त हुँदा रेकर्ड गरेका गीत पनि सार्वजनिक गर्न पाएका छैनौँ ।”
अहिले पनि दिनकै रेकर्डिङका निम्ति अफर आउने गरेको उनी सुनाउँछिन् । समग्रमा गीत रेकर्डिङमा कमी आए पनि त्यसको खासै असर आफूलाई नपरेको उनको भनाइ छ ।
देश–विदेशका स्टेज कार्यक्रममा गीत गाएबापत कति पारिश्रमिक लिनुहुन्छ ? भन्ने जिज्ञासामा उनी खुलाउन नमिल्ने बताउँछिन् ।
खुमन अधिकारी स्टेज कार्यक्रमको व्यस्तताका कारण नयाँ गीत सार्वजनिक गर्न नपाएको बताउँछन् । “गीत रेकर्डिङ गरेर भिडियो छायांकन भएर पोस्टको काम पनि सकिइकेको छ,” खुमन भन्छन्, “भिडियो एडिटरले भिडियो कस्तो लाग्छ, हेर्न आउनुस् भनेर बोलाउँदा भिडियो हेरेर फाइनल गर्ने फुर्सद नहुँदा नयाँ गीत ल्याउन सकेको छुइनँ ।”
रचना रिमालले गत वर्ष एक महिनामा २५ स्टेज कार्यक्रम गरिन् । सिजनमा उनी औसतमा २०/२२ कार्यक्रम गर्छिन् ।
“यो वर्ष मैले अहिले सिजनमा २०/२२ वटा स्टेज कार्यक्रम गरिरहेको छु,” रचना भन्छिन्, “गत वर्ष मैले एक महिनामै २५ वटासम्म स्टेज कार्यक्रम गरेको थिएँ ।” ‘अफ सिजन’मा पनि उनले प्रतिमहिना दुई/तीन स्टेज कार्यक्रम गरिरहेकी छन् ।
रचना अहिलेकी सर्वाधिक डिमान्डेड कलाकारमध्येकी एक हुन् । समग्रमा गीत रेकर्डिङ करिब ९० प्रतिशतले घटेको छ । तर, उनले स्टेज कार्यक्रमबाट फुर्सद भएका दिन दुई/तीन गीत रेकर्ड गराइरहेकी छन् । गीत रेकर्डिङको संख्या ओरालो लाग्नुभन्दा पहिला रचना दैनिक पाँचवटासम्म गीत गाउँथिन् ।
नयाँ पुस्ताका डिमान्डेड कलाकार प्रतिस्टेज पफर्मेन्स कति पारिश्रमिक लिन्छन् ? त्यो त उनीहरू आफैँ बताउँदैनन्, तर विश्वस्त स्रोतका अनुसार प्रतिकार्यक्रम ५० हजारदेखि एक लाख ३० हजार रुपैयाँसम्म लिने गरेका छन् ।
केही कलाकारलाई स्टेज कार्यक्रममा भ्याइ नभ्याइ भए पनि अधिकांश भने अहिले बेरोजगार छन् । गीत रेकर्डिङ नभएको र मेला–महोत्सवबाट निम्ता पनि नआउँदा उनीहरू कामविहीन छन् ।
युट्युबले रोयल्टी घटाएपछि अहिले अक्सर स्टेज कार्यक्रमका निम्ति निम्तो आउने कलाकारले वर्षमा एकदुई गीतमा लगानी गरिरहेका छन् । स्टेज कार्यक्रममा जानका लागि आयोजक तथा स्रोतादर्शकमाझ नोटिस हुन गीत र भिडियो बनाउने गरेका छन् । त्यसको लगानी स्टेजबाटै उठाउनुपर्ने अवस्था छ ।
गायक शिशिर योगी स्टेजमा केन्द्रित नहुने र नपाउने गायकगायिका आर्थिक रूपमा समस्यामा रहेको बताउँछन् । गीतमा गरेको लगानी नउठ्दा कलाकार समस्यामा परेको उनको भनाइ छ ।
“दिनप्रतिदिन समस्या बढ्दै छ । दिन दुई गुना र रात चौगुनाका दरले समस्या थपिरहेका छन्,” शिशिर भन्छन्, “जसका कारण अधिकांश गायकगायिका पलायन हुने अवस्था छ । अमेरिका, अस्ट्रेलिया जाने र नफर्किने कारण यही नै हो ।”
क्वालिटी संगीत गर्ने र गीतसंगीत कला, साधना र साहित्य हो भनेर त्यसमै केन्द्रित हुनेहरू विशेष गरी समस्यामा रहेको उनी स्पष्ट पार्छन् ।
उत्पादक, वितरक, गीतकार, संगीतकार, गायक र बजार सबै सस्तो लोकप्रियताका पछि लाग्दा संगीतका असली साधक ओझेलमा परेको उनको अनुभव छ । जति पछिल्लो पुस्तामा गीतसंगीत पुस्तान्तरण हुँदै छ, त्यति नै संगीतको गुणस्तरमा लापरबाही हुन थालेको योगीको जिकिर छ ।
बजारमा अहिले सस्तो लोकप्रिय गीत रुचाइएकाले त्यस्तै गाउने कलाकारलाई मेला–महोत्सवमा बोलाउने गरिएको उनी बताउँछन् । यो अवस्था आउनुमा उनी गायकगायिकाको मात्र कमजोरी नरहेको सुनाउँछन् । समाजको बेस नै त्यस्तै रहेको उनको ठहर छ ।
“हाम्रो शिक्षा प्रणाली नै त्यस्तै छ । सुरुमा संस्कृत पढाइ हुन्थ्यो, त्यो हटाइयो । नैतिक शिक्षा थियो, त्यो पनि हटाइयो । पूर्वव्यावसायिक शिक्षा पढाइन्थ्यो, अहिले त्यो पनि छैन,” योगी भन्छन्, “जसले मान्छे बनाउँथ्यो, त्यो शिक्षा नै नभएपछि कसरी समाज बुज्रुग र चेतनशील हुन्थ्यो ? त्यसैले बजारले जे बुझ्छ, त्यस्तै डेलिभरी हुन्छ ।”
अहिले स्टेज नपाउने कलाकार साइड बिजनेस नगरी कलाकारितालाई निरन्तरता दिन सक्ने अवस्थामा नरहेको उनको बुझाइ छ । “तर, साइड बिजनेस गर्न पनि लगानी चाहिन्छ,” योगी अगाडि थप्छन्, “आफूले जिन्दगीभर अथवा उर्वर समयमा गरेको कामबाट पैसा नआएपछि कहाँबाट लगानी गर्ने भन्ने अर्को समस्या छ ।”
गायनलाई निरन्तरता दिन अहिले धेरै संगीतकर्मीलाई समस्या रहेको उनको निष्कर्ष छ ।