नेपालको विकास र समृद्धिमा योगदान दिन र देशबाहिर रहेका नेपाली र नेपालीमूलका गैरआवासीय नेपालीको पक्षमा काम गर्न खडा भएको संस्था दुई दशकमै तहसनहस र छिन्नभिन्न भएको छ । गैरआवासीय नेपाली संघ एक हुनुपर्नेमा किन दुईबाट तीन टुक्रा भयो भन्ने सामान्य चासो र चिन्ता समेत धेरै गरै आवासीय नेपालीहरूमा देखिँदैन ।
देशको एक चौथाई जनसंख्या अध्ययन, रोजगारी, अवसरको खोजी र बसाईं सराईं गर्दै देश बाहिर गएको छ । यसको ठूलो हिस्साले आफ्नै हक अधिकार र हितका लागि खुलेको संस्थाको नाम पनि सुन्न नचाहने विडम्बना पूर्ण अवस्था सिर्जना भएको छ । चासो राखिरहेको सानो संख्या पनि संस्था स्थापनाको उद्देश्य, लक्ष र मूल मुद्दाबाट विमुख हुँदै आफ्नो समूहको वैधानिकताको वकालत गर्ने सा–सानो झुन्डमा परिणत भएका छन् ।
सुनौलो विगतको दुःखद अवसान
विदेशमा आर्थिक प्रगति गरेका र नेपालमा लगानी गर्न चाहेका केही रसियामा व्यापार गरिरहेका अग्रजहरूको चाहना र चासोमा यो संस्था स्थापना भएको सबैलाई थाहा छ । नेपाललाई सम्मृद्ध बनाउने रहर, विभिन्न मुलुकमा छरिएका नेपालीहरूलाई गोलबद्ध गर्दै नेपालसँग जोड्ने अभियान थियो ।
देशबाहिर बस्ने नेपालीहरूको हक हितमा काम गर्नुपर्ने आवश्यकता र बाध्यता, सामाजिक परोपकारी भावना जस्ता पवित्र उद्देश्य राखिएका कागजी दस्तावेजसँगै व्यापार र अन्तर्राष्ट्रिय कारोबारको भित्री स्वार्थ पनि घुसेको थियो कि थिएन ? कुन कुन स्वार्थले संस्थालाई धराशायी बनाउन कसरी काम गर्यो भन्नेमा अर्को सन्दर्भमा चर्चा गरौँला ।
सगरमाथाको उचाइ छुन अघि बढेको टिम एनआरएन तेस्रो क्याम्पमा पुग्दै गर्दा अगाडि पछाडिको हिम पहिरो र बेजोड तुफानका धक्कासँग जोगिएर अघि बढ्नुपर्नेमा आपसमा भिडन्त गरेर पछारिँदै बेस क्याम्प भन्दा तल पुगेका छन् । छिन्नभिन्न भएर चिसोमा कठाङ्ग्रिएको सबै समूहको धुकधुकी मात्र बाँकी छ । गैरआवासीय नेपाली संघको नाम जपिरहेका जुनसुकै समूहलाई उद्धार गर्ने, जोगाउने र बचाउने प्रयत्न जे भए पनि विश्वासको पुरानो त्यो उचाइ हासिल गर्न अब सम्भव छैन ।
२००३ मा स्थापना भएको यो संस्था करिब ८ वर्ष नाम र भावनामा मात्र चल्यो । संस्था कहीँ दर्ता गरिएन । व्यवस्थित र मजबुत गराउने संस्थागत संरचना खडा गर्ने काम भएन । गैरआवासीय नेपालीहरू भावनात्मक रूपमा नेपालसँग जोडिने भन्दै नामको मात्र संस्था बन्यो । सन् २०११ तिर मात्र गैरआवासीय नेपाली संघ विधिवत् रुपमा दर्ता भयो । शुरुवाती दिनमा नै यो संस्था ठूलो र प्रभावशाली हुँदा भविष्यमा समस्य आउन सक्छ भनी सोचेको देखिएन ।
एनआरएनए स्थापनादेखि विदेशमा कमाएको ठूलो लगानी स्वदेश आउने, विकासको मूल फुटाउने, रोजगारी र नयाँ अवसरमा बहार ल्याउने, आपत् विपतमा सहयोगको थाक लगाउने, अन्तर्राष्ट्रिय स्तरमा काम गरेका अनुभवी र विज्ञको सहभागितामा नेपाललाई रूपान्तरण गर्ने नीति योजना बनाउन स्टार होटेल, मन्त्रालय र संसदमा बौद्धिक बहसको चर्चा र हल्लाखल्लाले देशभित्र र बाहिर बस्ने सबै नेपालीलाई आकर्षित गर्यो । छोटो समयमा नै एउटा ठूलो शक्ति केन्द्र बन्न पुग्यो एनआरएनए ।
धान्न नसकिएको क्रेज
होटेल, रेष्टुराँ, हाइड्रो पावर, हवाई क्षेत्र, शिक्षा, स्वास्थ्य, सञ्चार गृह, बैङ्क र वित्तीय क्षेत्र सबैमा एनआरएनबाट भएका लगानीको बखान हुन्थ्यो । नेपालको आकाश जमिन र पानी सबैमा एनआरएनको दबदबा देख्दा नेपाल छिटै संसारका विकसित देशको हाराहारीमा पुग्छ भन्ने धेरैलाई लागेको थियो ।
एनआरएनएका नेताहरूलाई खाँदा माला र सम्मान दिनेहरूको लर्को लाग्थ्यो । यतिसम्म कि त्यसबेला नेपालका उच्च सरकारी पदमा रहेका व्यक्तिहरू, सांसद र मन्त्रीहरूले समेत एनआरएनएका नेताहरूसँग आफ्नो दह्रो र भित्री सम्बन्ध रहेको देखाएर आफू देश विदेशमा प्रभावशाली रहेको र केही गर्न सक्ने क्षमता छ भन्ने सन्देश आमसमुदायमा दिन चाहन्थे । नेपालका गाउँ ठाउँको विकासमा देश, विदेश र एनआरएनएको लगानी ल्याएर समृद्ध बनाउने चुनावी भाषण जताततै सुनिन्थ्यो ।
सन् २०१५ को विनाशकारी भूकम्पले नेपालमा ठूलो मात्रामा धनजनको क्षति भएको पीडादायी अवस्थामा शेष घलेको नेतृत्वमा रहेको एनआरएनएको सक्रियतामा भएका राहतका काम र घोषणाले धेरैमा भरोसा जगायो । त्यही समयमा भारतले नेपालमाथि गरेको नाकाबन्दीविरुद्धमा विश्वभर जनमत निर्माण गर्न पनि एनआरएनएले ठूलो भूमिका खेल्यो । जसका कारण आमनेपालीले नेपालका लागि एनआरएनएलाई अपरिहार्य शक्तिको रूपमा लिए । एनआरएनएका अध्यक्षले नेपालमा एउटा मन्त्रीको भन्दा पनि बढी महत्त्व र सम्मान पाउन थालेका थिए ।
संस्थापकहरूले नसोचेको ‘क्रेज’ एनआरएनएमा थपिँदै जादा संस्थामा आफ्नो प्रभाव कायम राख्न र जसरी पनि पदमा पुग्न र टिक्न चाहनेहरूको चलखेल सुरु भयो । देशका राजनीतिक शक्ति केन्द्र र सरकारको समेत हस्तक्षेप र दबाब पर्न थाल्यो । एनआरएनएमा घुसेका राजनीतिक पृष्ठभूमि भएकाहरूले व्यवसायी र व्यापारीको आडमा संस्थाभित्र राम्रो काम गर्न चाहनेहरूलाई पाखा लगाउन थाले ।
संस्थाका सबै पञ्जीकृत सदस्यहरूको विवरण र महाधिवेशन प्रतिनिधिको नाम फेरबदल गरेर संस्था कब्जा गर्ने हर्कत हुन थाल्यो । त्यसलाई रोक्न भनेर पछिल्लो समय भित्र्याएको प्रविधिको दुरुपयोग गरेर संस्था कब्जा गर्ने काम झनै सहज ढङ्गले भएका छन् । एमआइएस सिस्टम र भेरोको नाम कसरी एनआरएनएको गर्विलो इतिहास समाप्त पार्ने खेल भयो भन्ने धेरैले बुझिसक्नु भएको छ । यस विषयमा अरू आलेखमा चर्चा गर्ने छु ।
महाधिवेशन नै पिच्छे संस्था दुर्घटनामा पर्दै जाने र निराशा थप्नेबाहेक केही भएको छैन । विगतको त्यो स्वर्णिम समयको एनआरएनलाई एकपछि अर्को खराब कदम र चलखेल गर्नेहरूले मसानघाट जस्तो बनाइदिएका छन् । सबै खराब कर्तुतहरूलाई केलाएर फाल्दै अगाडि बढ्न एउटा निष्पक्ष आयोग गठन गर्नु जरुरी छ ।
देश बाहिर र भित्र रहेका सबै नेपालीको चाहना अनुरूप अघि बढ्ने हो भने एउटै एनआरएनए बनाउनु जरुरी छ । एकताबद्ध भएको एनआरएनएले गैरआवासीय नेपालीका आशा र अपेक्षालाई सम्बोधन गर्न सक्छ ।
(डिलु पराजुली एनआएनए अमेरिकाका २०२३–२०२५ का अध्यक्षका उपविजेता र निवर्तमान उपाध्यक्ष हुन्)