site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
किन ठूलो पानी पर्न सकिरहेको छैन ?
फाइल तस्बिर । 
SkywellSkywell

काठमाडौं । नेपालमा ठूलो वर्षा नभएको साढे तीन महिना भइसकेको छ । छिटपुट पानी परे पनि यो अवधिमा जमिन भिज्ने गरी वर्षा भएको छैन । गएको अक्टोबर १६ यता नेपालमा ठूलो पानी नपरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
    
तत्काल ठूलो वर्षाको सम्भावना पनि छैन । मौसमविद् राजु प्रधानाङ्ग तत्काल जमिन भिज्ने गरी ठूलो पानी पर्ने सम्भावाना नरहेको बताउँछन् । “अझै कम्तीमा तीन दिन ठूलो वर्षा हुने सम्भावना छैन । त्यसभन्दा पछि पनि तत्कालै ठूलो वर्षाको सम्भावाना छैन,” प्रधानाङ्ग भन्छन् ।

तत्काल कुनै नयाँ प्रणाली आएर ठूलो वर्षा हुने सम्भावना पनि नरहेको उनी स्पष्ट पार्छन् । नेपालमा हिउँदयाममा पश्चिमी वायुको न्यूनचापीय प्रणाली विकास भएर वर्षा हुने हो । तर, यो प्रणाली ‘स्ट्रङ’ नहुँदा ठूलो वर्षा हुन सकेको छैन ।

स्थानीय वायु सक्रिय हुँदा पनि वर्षा हुन्छ । तर, हिउँदमा यो प्रणाली खासै सक्रिय हुँदैन । स्थानीय वायुले पानी पार्ने प्रि–मनसुनमा मात्र हो । प्रि–मनसुन मार्चदेखि सुरु हुन्छ ।

Dabur Nepal
NIC Asia

“पश्चिमी वायुको न्यूनचापीय प्रणाली जुनसुकै बेला बनेर ठूलो पानी पर्ने सम्भावनालाई भने नकार्न सकिँदैन,” मौसमविद् प्रधानाङ्ग भन्छन्, “तर, तत्काल त्यो सम्भावना छैन ।”

मौसमविद् गोविन्द झा पनि तत्काल वर्षाको सम्भावना नरहेको बताउँछन् । पश्चिमी वायुको प्रभावले पानी पर्ने भए पनि तत्काल त्यस्तो सम्भावना नरहेको उनको भनाइ छ । अबका केही दिनमै कुनै प्रणाली विकास भएर ठूलो पानी नपर्ने उनी स्पष्ट पार्छन् । 

“यो हिउँद याम पनि अब धेरै बाँकी छैन । यो याममा ठूलो पानी यसै पनि पर्दैन,” मौसमविद् झा भन्छन्, “प्रि–मनसुनमा ठूलो पानी पर्ने सम्भावना हुन्छ । तर यो सिजनमा ठूलो पानी पर्ने सम्भावना निकै कम हुन्छ ।”

योपटकको हिउँदयाममा गत वर्षको तुलनामा सरदरभन्दा धेरै वर्षा हुने अनुमान थियो । तर, हालसम्म ठूलो वर्षा भएको छैन ।

नोभेम्बर, डिसेम्बर र जनवरीमा खासै धेरै पानी परेन । डिसेम्बर पहिलो साता पश्चिमी भेगका एकदुई ठाउँमा हल्का पानी परेको विभागले जनाएको छ ।

“मनसुनदेखि बाहेकका अन्य सिजनमा नेपालमा पश्चिमी वायुको प्रभाव रहन्छ । नेपालमा हिउँदमा पानी पर्दा, मेडिटेरियन सिबाट पश्चिमी जलवाष्पयुक्त वायु आयो भने त्यसले यहाँ पानी पार्छ,” मौसमविद् सुदर्शन हुमागाईं भन्छन्, “त्यसरी पानी पर्दा पनि पश्चिमी पहाडी भेगमा पानी परेर पूर्वतर्फ आउँदा सुक्खा भइसक्छ ।”

पूर्व र काठमाडौंसम्म पानी पर्न पश्चिमी वायुको ठूलो प्रणाली विकास हुनुपर्छ । तर, यो वर्ष पश्चिमी वायुको ठूलो प्रणाली विकास भएको छैन ।

उच्च पहाडी क्षेत्रमा भने केही हिमपात भएको छ । तर, विभागसँग हिमाली क्षेत्रमा कति हिमपात र वर्षा भयो भनेर मापन गर्ने प्रणाली छैन । जसका कारण त्यसको रेकर्ड हुँदैन ।

हिउँदयाममा सामान्यतया वर्षभरि पर्ने पानीको औसतमा ३ देखि ४ प्रतिशत वर्षा हुने गर्छ । “हिउँद आफैँमा सुक्खायाम हो । त्यसमा पनि सन् २०२३ तातो वर्ष भयो । ०२४ पनि तातो वर्ष नै हुन्छ,” मौसमविद् हुमागाईं भन्छन्, “तर, जनवरी र फेब्रुअरीमा पनि दुई/तीनपटक ठूलो पानी पर्‍यो भने विभागको पूर्वानुमान मिल्छ ।” 

यो हिउँदमा सरदरभन्दा बढी वर्षा हुने विभागले जनाएको थियो । मंसिर १५ देखि फागुन १७ गतेसम्मको तीन महिनाको हिउँद अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको विभागको पूर्वानुमान थियो ।

विभागका अनुसार यो हिउँदमा सुदूरपश्चिम प्रदेशको उत्तर–पूर्वी र कर्णाली प्रदेशको उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी, कर्णाली प्रदेशको दक्षिणी, लुम्बिनी प्रदेशको पूर्वीबाहेकका भूभाग, गण्डकी, वाग्मती प्रदेशका उत्तर–पश्चिमी र कोसी प्रदेशको उत्तर–पूर्वी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

सुदूरपश्चिम प्रदेशको पश्चिमी, लुम्बिनी प्रदेशको पूर्वी, वाग्मती प्रदेशका मध्य र दक्षिणी, मधेस प्रदेशको पश्चिमी र कोसी प्रदेशको उत्तर–पश्चिमी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

कोसी प्रदेशको दक्षिणी र मधेस प्रदेशका मध्य तथा पूर्वी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागको पूर्वानुमान छ ।

मौसमविद् हुमागाईंले हिउँदे वर्षा पूर्वानुमानअनुसार नभएको बताए । “हामीले अहिलेसम्म के कारण पूर्वानुमानअनुसार हिउँदे वर्षा भएन भनेर समीक्षा गरेका छैनौँ,” उनले भने, “फेब्रुअरीको अन्तिममा समीक्षा गर्नेछौँ ।”

विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको अवस्था, जल तथा मौसम विज्ञान विभागको हावापानी आकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको पूर्वानुमानका आधारमा तापक्रम र वर्षाको अनुमान गर्ने गरिएको विभागले जनाएको छ ।

नेपालको हिउँदको समयमा जलवायुमा प्रभाव पार्ने पूर्वीप्रशान्त महासागरमा विकसित हुने एन्सो तथा हिन्द महासागरमा विकसित हुने दुईध्रुवीय प्रणाली (इन्डिया ओसन डाइपोल ‘आईओडी’)को हालको अवस्था तथा जलवायु प्रारूपको हिउँद अवधिको आकलन र अन्तरऋतु परिवर्तनशीलताका कारकलाई अध्ययन गरेर पूर्वानुमान गरिँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ०७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu