‘साहुजी, मेरो रेडियो बजेन, एकपल्ट हेरिदिनुस् न ।’
ललितपुरको दक्षिणी भेगका एक गाहकी रेडियो मर्मतका लागि मेरा साथीको इलेक्ट्रोनिक्स पसलमा आएका थिए । भर्खरभर्खर पुल्चोक क्याम्पसबाट ओभरसियरको पढाइ सकेर आएका साथी र म एउटै सत्र (ब्याच)का हौँ । मैले सिभिल, उसले इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढेका थियौँ ।
‘खै, रेडियो दिनुस् त ।’
साथीले रेडियो लिएपछि पछाडिको भाग खोल्यो र हेर्यो । मैले पनि हेरेँ ।
‘तपाईंको रेडियो बनाउन केही समय लाग्छ । तपाईंको अन्त कतै किनमेल छ भने सकेर आउनुस् । म एक घण्टाजतिमा बनाइदिन्छु ।’
‘हस् साहुजी, मंगलबजार पुगेर आउँछु ।’ गाहकी अब रेडियो बन्ने भयो भन्नेमा ढुक्क भयो । म भने एकछिन ट्वाल्ल परेँ ।
‘हैट्, यस्तो पनि गर्ने हो ! सोझो गाउँलेलाई ठग्ने हो ?’ मलाई नमजा लाग्यो त्यो साथीको ताल देखेर ।
‘बिचराले नजानेर ब्याट्री उल्टो राखेको रहेछ । खुरुक्क ब्याट्री सुल्टो पारेर पठाएको भए हुने । म भए सित्तैमा बनाइदिन्थेँ, एक मिनेटको काम थियो !’
‘नकरा ! सित्तैमा काम गर्न थालेँ भने यो पसलको बहाल कसले तिर्छ ?’
उस बेला त्यो एक कवलको सानो साँघुरो पसलको कति नै बहाल तिर्नुपर्थ्यो होला र ! सानो सोकेस, सोकेसभित्र केही ट्रान्जिस्टर रेडियो, क्यासेट प्लेयर आदि थियो । सँगै एउटा टेबल, टेबलमाथि सोल्जरिङ औजार अनि खोलेर राखेका दुईवटा क्यासेट प्लेयरहरू । पानी तताउने एउटा इलेक्ट्रिकल जार र एउटा मिक्सी पनि थियो ।
‘अति भयो यो त,’ फेरि थपेँ ।
‘के अति भयो ! भोलि तेरो जागिर सडक विभाग, सिँचाइ विभागमा भयो भने घुस खाँदैनस् ?’
‘म त्यता जागिर नै खान्नँ । त्यता जागिरै भयो भने पनि घुस खान्नँ ।’
‘हेरौँला म पनि,’ साथीले आफ्नै पारामा जवाफ दियो ।
यो किस्सा अलि पुरानो हो, त्यस्तै २०३५–३६ सालतिरको । पछि हाम्रो भेटघाट पातलिँदै गयो । अलिपछि उसले मालदार अफिसमा जागिर खायो भन्ने सुनियो । अनि त उसको उठबस र रहनसहन अर्कै हुने नै भयो ।
मेरो साथी नै भए पनि ऊ असल मानिस हैन, कमसल मान्छे हो ।
यस्ता कमसल मान्छे अमेरिका, अस्ट्रेलियादेखि अफ्रिकाको जुनसुकै कुनामा भेटिन्छन् । तर, असल मानिसहरूको खडेरी भने परेको छैन । असल मान्छेहरू पनि हरेक देशमा, भूगोलमा फेला पर्छन् ।
हालसालै घरनजिकैको किराना पसलमा तरकारी र अन्य घरायसी सामान किन्न गएको थिएँ ।
‘सत श्री अकालजी,’ पन्जाबी साहुजीले आफ्नै शैलीमा नमस्कार गरे ।
‘नमस्कार, हाउ आर यु ?’
त्यो पसलमा धेरै नेपाली सामान पाइन्छ । खासमा म त्यहाँ परबर किन्न गएको थिएँ । परबर–आलु कबाफ गजब हुन्छ । अमेरिकामा हत्तपत्त ताजा परबर नपाइने, पाइहाले पनि फ्रोजन मात्र पाइने ।
‘साहुजी, परबर छ ?’
‘परबल भन्नुभएको ?’
‘हो, ताजा परबर ।’
‘म हेर्छु है, एक मिनेट । नयाँ जुम्लाको सिमीदाल, नेपाली गहत र नेपाली रातो चिउरा पनि आएको छ । चाहिए भन्नुहोला ।’
साहुजीले ठूलो फ्रिजमा खोतले । परबर त थियो, तर अलि पहेँलोपहेँलो भइसकेको । छानेर एक पाउजति बनाउन सकिन्थ्यो ।
‘ए ! राम्रो रहेनछ, नलिनुस् । मंगलबार मंगलबार ताजा तरकारी आउँछ, त्यतिखेर लिनुहोला ।’
यिनी भए भलादमी र असल साहुजी । गाहकीलाई नराम्रो सामान नभिडाउने सज्जन मान्छे ।
सज्जन मान्छे भने धेरै भेटिँदैनन् होला, यो दुनियाँमा । नाम चलेको र ठूला तथाकथित प्रतिष्ठित पसलमा पक्कै असल मान्छे सजिलै भेटिन्छ भन्नुहोला, त्यस्तो पनि हैन ।
अस्तिको कुरा हो, ठूलो र विश्वप्रसिद्ध गाडी कम्पनीको मर्मत केन्द्रमा पुगेको थिएँ ।
‘मेरो गाडीको अगाडिको सिसा पुछ्ने वाइपर त चल्छ, तर स्वीच थिच्दा पानी निस्किँदैन ।’
‘वाइपरको ट्यांकीमा पानी सकियो होला, भरिदिऊँ !’
‘सामान्य पानी भर्नुहुन्छ ?’
‘हो, सामान्य पानी भर्ने हो ।’
सामान्य पानी हैन, विशेष रसायन मिसिएको पानी भर्नुपर्नेजस्तो लागेको थियो । तैपनि, केही भनिनँ ।
‘त्यति कुरा त अघि फोनमा कुरा हुँदा भन्नुभए पनि हुन्थ्यो । मलाई यहाँसम्म धाउनै पर्दैन थियो । आइसकेँ, अब भरिदिनुस् ।’
खासमा मैले मेरो गाडीको मर्मत सेवा करार पहिले नै किनेको थिएँ । त्यसैले गाडीको कुनै पनि मर्मत सेवा लिन पाउँछु, थप शुल्क तिर्न पर्दैन भन्ने मेरो बुझाइ थियो ।
साथै, यहाँ गाडी बनाउन आउँदा गाडी बनुन्जेल यहीँ बसेर चिया, कफी, बिस्कुट सित्तैमा खान पाउने र केही गरेर गाडी बनाउन समय लाग्ने भयो भने घर जान–आउन अर्को गाडी वा ट्याक्सीको बन्दोबस्तको सुविधा समेत भएकोले सजिलो थियो ।
सुटुक्क भन्छु, मलाई यहाँको मिठो कफी र बिस्कुटको पनि लोभ थियो है !
केही बेरपछि मर्मत केन्द्रका कर्मचारीले खबर गरे, ‘तपाईंको वाइपर ट्यांकी चुहिएको रहेछ । त्यसमा पानी अडेन ।’
‘अब के गर्नुपर्छ ?’
‘समस्याको विस्तृत जाँच (डाइग्नोसिस) गर्नुपर्छ । त्यसको ४,२१५ लाग्छ । अनि, कुनै सामान फेर्नुपरे सामानको मूल्य र सामान फिट गरेको ज्याला थप लाग्छ ।’
‘मसँग मर्मत करार छ, फेरि थप पैसा लाग्ने भए यो करारको के मतलब भयो ?’ थप पैसाको कुराले कम्ता रिस उठेन, ठूलो कम्पनीको सानो सोच !
‘माफ गर्नुहोला, यसमा हामी केही गर्न सक्दैनौँ ।’
‘माफ भयो’ भन्न मिलेन । झगडा, गाली गर्न त झनै मिलेन ।
यसो सोचेँ, पैसा तिर्नुपरे यस्तो महँगो ठाउँमा किन गाडी बनाउनु ! यिनीहरूले कम्तीमा पनि ४,५०० नत्र ४,००० को चुना लगाउने छाँट देखाए । बरु, घरपायक स्थानीय मर्मत ग्यारेजमैै लग्छु । सस्तो र भरपर्दो पनि छ । करार भएर पो यता आएको !
‘के छ हालखबर माइक ?’ स्थानीय ग्यारेजका म्यानेजरलाई अभिवादन गर्दै सोधेँ । फाट्टफुट्ट गइरहेकोले होला, माइकसँग परिचय बनिसकेको छ ।
‘गजब छ । तपाईंको नि ?’
‘मेरो के हुनु, यो गाडीले दुःख दिएको छ । ग्रहदशा अलि ठिक चलेको छैन अचेल !’
‘के भयो यसलाई ?’
‘वाइपर चलाउँदा पानी निकाल्न मिलेन । त्यसैले सिसा सफा गर्न सकिएन ।’
‘इन्जिनको ढक्कन खोल्नुस् त, पानी र वाइपर चलाउनुस् त,’ उनले भने ।
वाइपर चल्यो, तर पानी निस्केन । ‘म आएँ’ भन्दै ऊ अफिसभित्र पस्यो ।
के भएको रहेछ हेर्न इन्जिनतिर आँखा दौडाउन थालेँ ।
ए ! पानी छर्कने मसिनो नली चुँडिएको रहेछ । अब समस्या प्रस्ट बुझियो । पहिलेको मर्मत केन्द्रकाले भनेजस्तै पानी ट्यांकी र अन्य पार्टपुर्जाको समस्या नै हैन रहेछ । न त कुनै विस्तृत जाँचको आवश्यकता रहेछ ।
त्यो ठूलो मर्मत केन्द्रको कर्तुत घामजस्तै छर्लंगै भयो । तिनीहरू र मेरो रेडियो पसले साथी दुवै एकै ड्याङका रहेछन् ! फटाहा अनि कमसल मान्छे । तिलजत्रो समस्यालाई पहाड बनाएर गाहकी ठग्ने ।
माइक भित्रबाट आयो ।
‘सँगै पार्टपुर्जाको पसल छ नि, त्यहाँबाट एउटा सामान किनौँ ।’
पसलमा उसले सामान देखाइदियो । उसले नै सामान टिप्यो । मैले सामानको पैसा तिरेँ । उसले चुँडिएको पुरानो नली निकाल्यो, नयाँ लगाइदियो । पानी र वाइपर चलाएर हेर्यो । मसिनो धारिलो पानी निस्कियो ।
कस्तोकस्तो जटिल समस्याको त साधारण उपाय हुन्छ कहिलेकाहीँ, यो त सामान्य समस्या थियो, सजिलै सुल्झियो ।
‘कति पैसा भयो माइक ?’
‘पैसा पर्दैन । यति सानो कामको के पैसा लिनु तपाईंसँग, पर्दैन ।’
कति असल मान्छे यो माइक ! अनि, यस्तै असल मान्छे त्यो किराना पसले । उसलाई पनि सम्झिएँ । यिनीहरू अरूको भलो चाहने, सहयोगी मनहरू ।
‘सहयोगका लागि धेरैधेरै धन्यवाद माइक । तिम्रो दिन शुभ रहोस् ।’
पैसा पर्दैन भने पनि म कहाँ मान्थेँ र, उसलाई किन खाली हात छाड्थेँ र ! खल्तीबाट एउटा ठूलै नोट निकालेँ र माइकको हातमा राखिदिएँ । आखिर मलाई पनि त माइकजस्तै असल बन्नु छ, सहयोगी बन्नु छ नि !