site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्री श्रेष्ठले भने– अपराध गर्नेलाई समात्दा दबाब आउने गरेको छ  

पोखरा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध गर्नेहरूलाई समात्दा दबाब आउने गरेको बताएका छन् । अपराध गर्ने नेतालाई समात्दा हाम्रो नेतालाई समात्न पाइँदैन, कर्मचारीलाई समात्दा कर्मचारीलाई यसो गर्न पाइँदैन भन्ने वक्तव्य आउने गरेको उनले बताए ।

बिहीबार मात्रै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी जग्गा हिनामिना प्रकरणमा अरुण चौधरी र अजितनारायणसिंह थापालाई पक्राउ गरेको थियो । त्यसै प्रसंगमा बोल्दै गृहमन्त्री श्रेष्ठले भने, “अपराध गर्ने नेतालाई समात्यो हाम्रो नेता हो भन्छन् । कर्मचारीलाई पक्रियो कर्मचारीले आवाज निकाल्न थाल्छन्, त्यसो गर्न भएननी भनेर । उद्योगी व्यवसायी पनि अपराध गर्छन् र कारबाही गर्न थाल्यो भने वक्तव्यबाजी सुरु हुन्छ, दबाब सुरु हुन्छ, उद्योग व्यवसायीलाई यसो गर्न भएननी हामीले कर तिरेका छौँ, अर्थतन्त्र धानेका छौँ भन्छन् । हामीले भनेकै छौँ त निजी क्षेत्रको सहयोगबिना नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजान सकिन्न । तर, कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्न ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पोखरामा सुरू गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै नेता, कर्मचारी उद्योगी जो भएपछि गल्ती गर्नेलाई सरकारले कारबाही गर्ने प्रतिबद्धता जनाए ।

उनले पहुँचको आधारमा राज्यलाई लुट्ने छुट कसैलाई नहुने बताए । वर्तमान सरकार सुशासनको पक्षमा रहेकाले कसैको दबाबमा नपर्ने उनको दाबी छ ।

उनले कर्मचारीलाई दृढताका साथ काम गर्न समेत निर्देशन दिए । श्रेष्ठले भने, “यस प्रकारको दबाब, हस्तक्षेपको प्रक्रिया भइरहने हो भने हाम्रो देशलाई फेर्न सकिन्न । राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका सबै साथीहरूलाई भन्न चाहन्छु तपाईंहरू दृढतापूर्व उभिनुस् संविधान, ऐन कार्यन्वयन गर्न, लोकतन्त्रको प्रत्याभूति दिन र आफ्नो कर्तव्य निर्वाह गर्न ।”

सहकारी प्रकरणमा जोडिएका कसैलाई नछाडिने उनले दाबी गरे ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्