पढाइ सकिनु लायक हुनु थियो । राम्रो जागिर हुनु झन् लायक हुनु थियो र लायक हुनु भनेको छोरीको लागि बिहा गर्न हतार हुनुको टिङटिङ घण्टी पनि थियो । लगातारको घण्टी !
अपरिहार्य झन्झट थियो बिहा । आमा र बाबा बेलाबेलामा घण्टी बजाइरहन्थे, “केटो हेरिसकियो, अर्कै विचार छ भने भन्, नत्र किन ढिला गर्नु ? सिध्याइदिऊँ ।”
एकोहोरो दबाब उसलाई कहिले झर्को लाग्थ्यो, कहिले बोझिलो ।
एउटै जवाफ दिन्थी, “पख्नुस् न, अलि पैसा कमाऊँ । एउटा गाडी किन्छु, केही पैसा जम्मा गर्छु, अनि गरूँला बिहा ।”
“बिहे गर्ने पैसा छ हामीसँग । कमाइ गर्ने, यो किन्ने त्यो किन्ने त पछि गर्दा पनि भैहाल्छ,” आमाबाबा दुवैतिरबाट दोहोरी खेल्थे ।
“पछि होइन, बिहेअगाडि नै कमाउनु छ,” उसको एउटै जवाफ हुन्थ्यो ।
एक साँझ ऊ नयाँ गाडीमा घर फर्किई, बाबाको हातमा गाडीको साँचो दिई, आमाको हातमा बैंकको मुद्दती खाताको कागज दिई र भनी, “हिँड्डुल गर्न गाडी र दैनिकी चलाउन मुद्दती खाता व्यवस्था भयो । तपाईंहरूको बन्दोबस्त नगरी कसरी आफ्नो बारेमा सोच्नु ? बल्ल तपाईंहरूको बुढेसकालप्रति ढुक्क भएँ । ल, अब बिहे गरौँ ।”
आमाबाबा मुखामुख गरे, “हरे, यसको लागि त पछि कमाए भैहाल्थ्यो !”
ऊ मुसुक्क मुस्कुराई र आँखैले बोली– तपाईंहरू जति सरल कहाँ छ र दुनियाँ, ...बिहेपछि कमाएको पैसामा त अरूले पनि र्याल चुहाइहाल्छन् नि !