काठमाडौं । नेपाली चलचित्र उद्योगमा ठूलो मात्रामा ‘ब्ल्याक मनी’ लगानी भइरहेको स्वयं चलचित्रकर्मीले बताएका छन् । हरेक वर्ष सिनेमामा ब्ल्याक मनी लगानी भइरहेको उनीहरूको जिकिर छ । यहाँ वार्षिक सयभन्दा धेरै सिनेमा बनाइन्छ । तर, चार/पाँच चलचित्रले मात्र लगानी उठाउने गरेका उदाहरण छ । यस्तो अवस्था थाहा हुँदाहुँदै पनि लगानी नघट्नुले स्रोत नखुलेको पैसा आउने गरेको पुष्टि हुने चलचित्रकर्मीको भनाइ छ ।
अभिनेता, निर्देशक तथा निर्माता नीर शाह नेपाली सिनेमा उद्योगमा ब्ल्याक मनी लगानी भइरहेको बताउँछन् । स्रोत नखुलेको पैसा लगानी हुनु ब्ल्याक मनी भएको उनको तर्क छ । स्रोत नदेखाई गरिएको लगानीमा शंका गर्ने ठाउँ रहेको उनको भनाइ छ । बैंकिङ प्रणालीमार्फत लगानी प्रवाह नहुनुले यसलाई थप पुष्टि गर्ने नीर बताउँछन् ।
“स्रोत देखाएको पैसा मात्रै वैध हो । कसैले स्रोत देखाएर लगानी गर्दैन भने त्यो ब्ल्याक मनी नै हो,” नीर बाह्रखरीसँग भन्छन् ।
बैंक तथा वित्तीय संस्थाबाट सिनेमामा लगानी नभएसम्म यस्तो अवस्था रहिरहने उनको धारणा छ । सिनेमामा वैध लगानीका लागि वित्तीय संस्थाले लगानी गर्नुपर्नेमा उनको जोड छ । तर, हालसम्म यसतर्फ कसैको ध्यान नगएको उनको गुनासो छ ।
वित्तीय संस्थाबाट सिनेमामा लगानी हुन थालेपछि, ब्ल्याक मनी आउने क्रम बन्द हुने उनको विश्वास छ । “त्यसैले मैले चलचित्र विकास बोर्डको ठाउँमा फिल्म डेभलपमेन्ट बैंक स्थापना गरौँ भनेर भनेको हुँ, जसले चलचित्रमा लगानी गरोस्,” नीर भन्छन्, “यसले सिनेमा निर्माणका लागि लोन दियो भने लिगल सोर्सबाट पैसा आउँछ ।”
बैंकबाट लगानी नभएपछि वैध स्रोतबाट पैसा नआउने नीरको जिकिर छ । विदेशमा बस्ने नेपालीबाट सिनेमामा लगानी भइरहेको भन्ने गरिएको भन्दै उनी यो रेगुलर स्रोत नरहेको बताउँछन् ।
“रेगुलर सोर्सबाट नआएको पैसा ग्रे एरियाभित्र स्वतः पर्यो,” उनी भन्छन्, “बैंकले सिनेमा बनाउन पैसा नदिएपछि मिटरब्याजीबाट पैसा लिएर सिनेमाकर्मीले पैसा बनाइरहेका हुन सक्छन् । तोकिएको भन्दा बढी ब्याज तिरेर लिएको पैसा र लगानी पनि ग्रे एरियाभित्र पर्छ ।”
भारतमा पनि लामो समय सिनेमामा ब्ल्याक मनी लगानी भएको र यसलाई अहिले त्यहाँको सरकारले रोकेको उनी सुनाउँछन् । “भारतमा जुन समय अन्य उद्योगसरह चलचित्र उद्योगलाई मान्यता दिएको थिएन, त्यो समय भारतीय सिनेमा उद्योगमा ठूलो मात्रामा ब्ल्याक मनी लगानी भयो,” नीर भन्छन्, “ब्ल्याक मनी लगानी भएर समस्या भएपछि त्यहाँको सरकारले ब्ल्याक मनी लगानी हुन नदिन अन्य उद्योगसरह सिनेमा उद्योगलाई पनि मान्यता दियो । अहिले वैध बाटोबाट रेगुलर बैंकिङ प्रणालीबाट मात्रै लगानी भइरहेको छ ।”
सय सिनेमा बनाइँदा एकाधले मात्र लगानी उठाइरहेको जगजाहेर हुँदाहुँदै किन वार्षिक अरबौँ रुपैयाँ लगानी भइरहेको छ ? नीरको प्रश्न छ । ठगी तथा धम्क्याएर पैसा असुल गर्ने विभिन्न व्यक्तिबाट लगानी भइरहेको भए त्यो स्वतः ब्ल्याक मनी भएको भन्दै उनी यसलाई रोक्न सरकार गम्भीर भएर लाग्नुपर्नेमा जोड दिन्छन् । यो अर्थशास्त्रीले ध्यानपूर्वक हेर्ने विषय भएको उनको धारणा छ ।
नेपाली सिने उद्योगमा पारदर्शिता आवश्यक रहेको नीर औँल्याउँछन् । ब्ल्याक मनी अथवा ‘ग्रे एरिया’को पैसा लगानी भएकाले नै पारदर्शितामा समस्या हुने गरेको उनको भनाइ छ ।
“निर्माताहरूमा बेलाबेला हुने गरेका झगडा यही कारणले हो । हामी आफैँ बोर्डमा र निर्माता संघमा हुँदा यस्ता कैयौँ केस ह्यान्डल गरेका छौँ,” उनी भन्छन् । पैसाको स्रोत खुलाउन नसक्ने भएकाले नै त्यस्ता निर्मातामा पारदर्शिताको समस्या हुने उनको बुझाइ छ ।
वित्तीय व्यवस्थापन र बजार दिगो नभएसम्म सिनेमामा ब्ल्याक मनी आउने क्रम नरोकिने उनको धारणा छ । “बजार भनेको सिनेमा हल नै हो । सिनेमा हलको संख्या बढ्नुपर्छ । गाउँगाउँमा स–साना मिनिप्लेक्स बन्नुपर्छ,” नीर स्पष्ट पार्छन्, “वित्तीय व्यवस्थापन भनेको बैंकिङ प्रणालीबाट पैसा आउनुपर्छ भन्ने नै हो । यसका लागि राज्यले सिनेमा उद्योगलाई अन्य उद्योगसरह मान्यता दिनुपर्छ । सिनेमालाई प्रोजेक्ट मानेर लोन दिने व्यवस्था मिलाउनुपर्छ ।”
जबसम्म ब्ल्याक मनी लगानी हुन्छ र बैंकिङ प्रणालीबाट चलचित्रमा लगानी गरिँदैन, तबसम्म नेपाली सिने उद्योग माथि उठ्न नसक्ने उनको जिकिर छ ।
कलाकार तथा निर्माता दीपकराज गिरी नेपाली चलचित्र उद्योगमा ब्ल्याक मनी लगानी भइरहेको भन्ने भनाइलाई नकार्न नसकिने बताउँछन् । शतप्रतिशत लगानीकर्ताकै पैसा ब्ल्याक मनी हो भन्ने पक्षमा भने आफू नरहेको उनको भनाइ छ ।
“नेपाली सिनेमामा ब्ल्याक मनी लगानी भइरहेको छ भन्ने कुरा अर्धसत्य भने हो । रेगुलर सिनेमा निर्माणमा नरहने व्यक्तिबाट यस्तो पैसा लगानी भएको हुनसक्छ,” दीपक भन्छन् ।
सिनेमामा मात्र नभएर हरेक क्षेत्रमा ब्ल्याक मनी लगानी हुने गरेको उनी बताउँछन् । “हाम्रोमा लगानीको स्रोत खोज्ने चलन छैन । यदि, खोज्ने हो भने सिनेमामा मात्रै होइन, हरेक क्षेत्रमा स्रोत नखुलेको पैसा लगानी भएको भेटिन्छ,” दीपक भन्छन्, “शतप्रतिशत लगानी ब्ल्याक मनी नै हो भन्ने होइन । तर, स्रोत नखुलेको पैसा लगानी भएको हुनसक्छ ।”
सिनेमा ग्ल्यामरको क्षेत्र भएकाले नाम चलेकै व्यक्तिले पनि लगानी गर्ने गरेको उनी बताउँछन् । कतिपयले पैसा कमाएपछि नामका निम्ति र कतिले लाइमलाइटमा आउन मात्र भए पनि लगानी गर्ने गरेको दीपक सुनाउँछन् ।
“कतिले पसिनाको कमाइ लगानी गरिरहेका हुन्छन्, कतिले ब्ल्याक मनी ह्वाइट बनाउन लगानी गरिरहेका हुन्छन्,” उनी भन्छन्, “भारतमै पनि केही समयअगाडिसम्म ब्ल्याक मनी सिनेमामा लगानी भइरहेको छ भनिन्थ्यो । अन्डरवर्ल्डको पैसा चलचित्रमा लगानी गरिरहेको भन्ने हल्ला हुन्थ्यो । तर, पछि राज्यले यसलाई व्यवस्थित गर्यो । अहिले यो समस्या छैन ।”
नेपालमा भने तत्काल बैंकिङ प्रणालीबाट सिनेमामा लगानी आउने सम्भावना नरहेको दीपकको दाबी छ । आफैँ अस्तव्यस्त रहेको नेपाली अर्थव्यवस्थाले अरूलाई व्यवस्थित र नियमन गर्ने सम्भावना नै नरहेको उनको धारणा छ ।
“नेपाल आफैँमा अर्थव्यवस्था अस्तव्यस्त भएको देश हो । आर्थिक अनुशासन नभएको अर्थव्यवस्था भएको अवस्थामा चलचित्रजस्तो सानो उद्योगमा ध्यान खिचिने कुरा भएन,” उनी भन्छन्, “दश वर्षअगाडि ब्युरोक्रेसीमा छिरेको मान्छेले दश वर्षपछि अकुत सम्पत्ति कमाइसकेको हुन्छ । त्यस्ता आफैँ अनुशासनमा नबस्नेले अरूलाई अनुशासनमा राख्ने कुरा भएन ।”
‘चोर’लाई नै राज्यको ढुकुटीको चाबी दिएपछि त्यसको दुरुपयोग हुनु स्वाभाविक रहेको उनको टिप्पणी छ । आफैँलाई कस्ने वित्तीय अनुशासनको कानुन सरकारले ल्याउँछ भन्ने अपेक्षा गर्न नसक्ने दीपक बताउँछन् । “आफूलाई जे सहज हुन्छ, त्यस्तै गर्ने हो । स्रोत नखुल्ने आफ्नो पैसा कसरी जोगाउन सकिन्छ, त्यस्तै नियम ल्याउने हो,” उनी भन्छन् ।
चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का भने अपवादबाहेक सिनेमा निर्माणमा ब्ल्याक मनी लगानी नभएको जिकिर गर्छन् । “अपवाद हरेक क्षेत्रमा हुन्छ । सिनेमा क्षेत्रमा पनि होला । त्यसैले छैन नै भन्न म सक्तिनँ । केही व्यक्तिले ब्ल्याक मनी ह्वाइट बनाउन लगानी गरेका होलान्,” निर्माता तथा कलाकार समेत रहेका नवल भन्छन् ।
अधिकांश निर्माताले पसिनाको कमाइ लगानी गर्ने गरेको उनको दाबी छ । निर्माताले घरखेत बेचेर सिनेमामा लगानी गरिरहेको सत्य कसैबाट नछिपेको उनको भनाइ छ ।
“धेरैजसो निर्माताहरूले दुःख गरेर सिनेमा बनाइरहनुभएको छ । कति निर्माताले घरखेत बेचेर र बैंकमा राखेर चलचित्र बनाइरहनुभएको छ,” नवल स्पष्ट पार्छन् ।
नेपाली चलचित्र उद्योगमा ‘मुर्गा’ प्रवृत्ति भने रहेको उनी स्वीकार गर्छन् । सिनेमा क्षेत्रबारे शून्य नलेज भएका व्यक्तिलाई ठूलो नाफा निश्चित हुने भ्रममा पारेर लगानी गर्न उक्साउने प्रवृत्ति भने बाक्लै रहेको नवलको भनाइ छ । यसलाई ब्ल्याक मनी भन्न नमिल्ने उनी बताउँछन् ।
“हामीसँग कसले स्रोत खुलेको र कसले नखुलेको पैसा लगानी गरिरहेका छन् भन्ने तथ्यांक छैन । हामीसँग हुने कुरा पनि भएन,” नवल भन्छन्, “यो राज्यको काम हो । भए सीआईबीले तथ्यांक राखेको होला ।”