site stats
बाह्रखरी :: Baahrakhari
खेल
पाकिस्तानसँग एसियाको बदला लिने अवसर 

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा आज पाकिस्तानविरुद्ध मैदान उत्रिँदा नेपाल एसिया कपमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।

यसअघि गत वर्षको अन्त्यमा आयोजित एसिया कपमा नेपालले पाकिस्तानसँग सात विकेटको हार बेहोरेको थियो । बुधबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा देव खनालको कप्तानीमा रहेको नेपाली टिम सो हारको बदला लिने अवसर सदुपयोग गर्ने लक्ष्यमा छ ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनको हार व्यहोर्दा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।

आइतबार दक्षिण अफ्रिकाका इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजदेखि सुरु हुनेछ ।

प्रतियोगिताको नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् । आजको खेलपछि नेपालले समूह चरणको अन्तिम खेलमा जनवरी २७ मा अफगानिस्तानविरुद्ध खेल्नेछ ।

यसअघि युवा विश्वकपमा यी दुई टिमबीच दुई पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये एक खेल नेपालले जित्दा अर्को एक खेल पाकिस्तानले आफ्नो पक्षमा पारेको छ ।

सन् २००० को संस्करणमा पनि नेपाल र पाकिस्तान एकै समूहमा थिए । तर, उक्त संस्करणमा यी दुई टिमबीचको खेल रद्ध भएको थियो । २००२ को संस्करणमा पुनः एकपटक नेपाल र पाकिस्तान एकै समूहमा परे । उक्त संस्करणमा नेपालले पाकिस्तानलाई ३० रनले हराएको थियो । 

सन् २०१६ को संस्करणमा पाँचौ स्थानका लागि भएको प्लेअफमा नेपाल पाकिस्तानसँग १२२ रनले पराजित भएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्