site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल–भारतका अधिकारीबीच सीमा सुरक्षाबारे छलफल
जमुनाह नाका । फाइल तस्बिर ।

बाँके । बाँके र बर्दियासँँग सिमाना जोडिएको भारतीय जिल्ला बहराइचका डिस्ट्रिक मजिस्ट्रेट मोनिका रानी (डीएम)को निमन्त्रणामा बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुखहरूको एकदिने समकक्षी बैठक भारतको बहराइचस्थित नान्पारामा सम्पन्न भएको छ ।

बहराइचका डिस्ट्रिक मजिस्ट्रेट रानीको नेतृत्वको भारतीय सुरक्षा अधिकारीसँगको संयुक्त सीमा बैठकमा नेपालका तर्फबाट बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलसहित सुरक्षा अधिकारीले भाग लिएका थिए । नेपाली पक्षबाट बर्दियाका सप्रजिअ मोहन अर्याल, बाँके र बर्दियाका प्रहरी उपरीक्षक क्रमशः सुवासचन्द्र बोहरा, सुधीर शाहीलगायत सहभागी थिए ।

Argakhachi Cement Island Ad

यही माघ ८ गते भारतको अयोध्यामा श्रीराम मन्दिरको प्राणप्रतिष्ठा कार्यक्रम र माघ १२ गते हुने गणतन्त्र दिवसका अवसरमा सुरक्षा एवं सुदृढ कानुनी व्यवस्था बनाउने विषयबारे संयुक्त सुरक्षा छलफल गरिएको बाँकेका प्रजिअ पोखरलेले बताए ।

प्रजिअ पोखरेलले सुदृढ सुरक्षा व्यवस्था बनाइराख्ने दिशामा सीमावर्ती दुवैतर्फका सुरक्षा अधिकारीले आपसी समन्वयका साथ काम गर्ने, सीमा क्षेत्रबाट हुन सक्ने अवैध घुसपैठ नियन्त्रण गर्ने, सीमा क्षेत्रमा विशेष निगरानी बढाउने, संयुक्त चेकजाँच र गस्ती बढाउनेजस्ता विषयमा छलफल भएको जानकारी दिए ।

शनिबार अपराह्न सुरु बैठकपछि दुवै पक्षका सुरक्षा अधिकारीले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ र जमुनाह नाका निरीक्षण गरेका थिए । रासस

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  २१:२४
प्रतिक्रिया दिनुहोस्