site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सिरियामा इराननिकट नेतालाई लक्षित गरी इजरायली आक्रमण, पाँचजनाको मृत्यु
तस्बिर : रोयटर्स ।

बेरुत । इजरायल र हमासबीचको युद्धलाई लिएर क्षेत्रीय तनाव बढिरहेका बेला शनिबार दमास्कसमा इजरायलले गरेको हवाई आक्रमणमा परी पाँचजनाको मृत्यु भएको युद्ध अनुगमनकर्ताले बताएका छन् ।

“इजरायली क्षेप्यास्त्र आक्रमणमा चारतले भवनलाई निसाना बनाइएको र पाँचजनाको मृत्यु भएको छ । इरानसमर्थित नेताहरूको बैठक भइरहेको सम्पूर्ण भवन ध्वस्त पारेको छ,” सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले भनेको छ ।

सिरियामा रहेका स्रोतको सञ्जालसँग सम्बन्धित बेलायती निगरानीकर्ताका अनुसार, लक्षित इलाका इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) र इरान समर्थक प्यालेस्टाइनी गुटका नेताहरूको उच्च सुरक्षा क्षेत्र मानिन्छ । अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले भने, “ती समूहका वरिष्ठ सदस्यहरूलाई लक्षित गरेर आक्रमण गरिएको थियो ।”

Argakhachi Cement Island Ad

सिरियाको सरकारी सञ्चारमाध्यमले पनि मध्यरातमा गरिएको आक्रमणका कारण आकाशमा धुवाँको मुस्लो उडेको जनाएको छ ।

सरकारी समाचार संस्था सानाका अनुसार, दमास्कसको माजेह इलाकामा रहेको एक आवासीय भवनलाई लक्षित गरी आक्रमण गरिएको थियो । उक्त समाचारमा हताहत भए/नभएको भने बताइएको छैन ।

घटनास्थलमा रहेका एएफपीका संवाददाताका अनुसार, क्षतिग्रस्त भवनलाई एम्बुलेन्स, अग्निनियन्त्रक र सिरियाली अरब रेड क्रिसेन्ट उद्धार टोलीले घेराबन्दी गरेका छन् ।

पूर्ण रूपमा भत्किएको भवनको भग्नावशेषमुनि रहेका व्यक्तिको खोजीमा नागरिक सुरक्षा निकाय जुटेको उनले बताए ।

माजेह क्षेत्रमा संयुक्त राष्ट्रसंघको मुख्यालय, दूतावास र रेस्टुरेन्टहरू पनि छन् । “मैले पश्चिमी माजेह क्षेत्रमा विस्फोटको स्पष्ट आवाज सुनेको थिएँ र धुवाँको ठूलो बादल देखेको थिएँ,” स्थानीय प्रत्यक्षदर्शीले एएफपीसँग बताए ।

उनले थपे, “यो आवाज क्षेप्यास्त्र विस्फोटसँग मिल्दोजुल्दो थियो र केही मिनेटपछि मैले एम्बुलेन्सको आवाज सुनेँ ।”

एक दशकभन्दा लामो गृहयुद्धका क्रममा इजरायलले सिरियामा सयौँ हवाई आक्रमण गरेको र त्यसमा मुख्यतया इरान समर्थित सेनाका साथै सिरियाली सेनाका स्थानहरूलाई लक्षित गरिएको छ ।

गत डिसेम्बरमा इजरायली हवाई आक्रमणमा इरानको रिभोल्युसनरी गार्ड्सका एक वरिष्ठ जनरलको मृत्यु भएको थियो । सन् २०२० जनवरी ३ मा बग्दादमा अमेरिकी ड्रोन आक्रमणमा सेनाका कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि रजी मौसवी इरानबाहिर मारिएका सबैभन्दा वरिष्ठ कमान्डर हुन् ।

सोही महिनामा पूर्वी सिरियामा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा २३ इरान समर्थक लडाकु मारिएको अब्जरभेटरीले जनाएको छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्