site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
गीतलाई पेसा होइन साधना बनाउने योगेश 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अग्रज गायक योगेश वैद्यको निधन भएको छ । गायक वैद्यको गएराति ७७ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि उनी मिर्गौला र मधुमेहको रोगबाट पीडित थिए ।

बाह्रखरीले ‘पुराना कुरा’ स्तम्भमा वैद्यसँग कुरा गरेर ०७५ चैत १४ मा प्रकाशन गरेको यो सामग्री । 

 

Prabhu Bank
Agni Group
NIC Asia

उनी गम्भीर भए । आफ्ना पुराना दिनहरुमा हराउन थाले । अनि स्कूलमा हुँदाको एउटा प्रसंग सम्झिए । उनको ओँठमा मन्द मुस्कान फैलियो । उनका अनुसार आज पनि स्कूललाई सम्झिने अनेकन बहानाहरु छ उनीसँग । त्यसैले स्कूल उनको स्मरणमा आज पनि घुमिरहेको छ, चलचित्रका दृश्यहरु झैं ।

उनले सानै उमेरदेखि गाउन सुरु गरे । उनको गायकी देखेर धेरै मानिस प्रभावित भए । त्यसमै पर्दथे उनको स्कूलका शिक्षक अष्टमंगल बज्राचार्य पनि । उनको गीत गायनमा रुची भएकोले उनलाई स्कूलले नै संगीत प्रविण नरराज ढकाल कहाँ संगीत सिक्न पठायो । गुरु अष्टमंगल सधै नरराज ढकाल कहाँ उनलाई लिएर जान्थे । यसरी गायकी कै कारण गुरुहरुको अथाह माया पाएका थिए उनले ।  उनको संगीतको ज्ञान वृद्धि हुँदै गयो । यसरी उनले शास्त्रीय संगीत शिक्षा पनि लिँदै गए । र, स्कूलमा पनि गीत गाउँदै गए । 

Global Ime bank

मंगलबार दिउँसो सहकर्मी सौरभ र यो पङतीकार वरिष्ठ गायक योगेश बैद्य (७३)को टेकुस्थित निवासमा पुग्दा उनले आफ्नो गायनसँग जोडिएका रमाइला सन्दर्भहरु सम्झिए । 

उनी हाँसे । लाग्यो उनी मरुस्थित शान्ति निकुञ्ज स्कूलकै परिसरमा पुगेका छन्, यतिबेला । उनी सुनाउँदै थिए, “हरेक वर्ष स्कूलमा वार्षिक परीक्षाफल आउने दिन मलाई बेन्चहरुको पिरामीड बनाएर माथि उभ्याईन्थ्यो । त्यहाँ मैले गीत गाइरहनु पर्दथ्यो । मेरो नतिजा के हुन्छ त्यता मैले सोच्नै पनि पाउँथिन् । खाली समय भयो कि गीत गाउन सुरु गरिहाल्नु पर्दथ्यो ।”

रिजल्ट आउने दिन हेडमास्टरले हरेक कक्षाका प्रथम, दोस्रो, तेस्रो हुने विद्यार्थीहरुको नाम लिन्थे । त्यस भन्दा अगाडि र बीचबीचमा खाली भएको समय योगेश बैद्यको हुन्थ्यो । खाली भयो की गीत गाउन सुरु । त्यस दिन उनले कुनै कन्सर्टमा भाग लिएभन्दा कम हुन्थेन । यस अर्थमा उनको काम नै सबैलाई मनोरञ्जन गराउने हुन्थ्यो ।

 

थापि मनमा नतिजाको त्रास रहन्थ्यो नै । आफू पास पो नहुने हो कि ? उनी हाँसे । तर, आज भने उनी त्यही क्षण सम्झिएर रोमान्चित हुन्छन् ।  स्कूलमा रहँदाकोे अर्को सम्झना उनले सुनाए । स्कूलमा एउटा प्रार्थना गीत बनाइएको थियो । पहिले दर्शन दासको संगीतमा प्रार्थना गीत तयार गरिएको थियो । त्यस गीतमा योगेशको मूल आवाज हुन्थ्यो । 

स्कूलको कक्षा कोठामा जानुपूर्व त्यो गीत उनले गाउँथे र सबै विद्यार्थीले उनको आवाजलाई पछ्याउँदै गीत गाउँथे । पछि सोही गीत नरराज ढकालको संगीतमा पुनः संगीतबद्ध गरियो । अनि मात्रै कक्षा कोठामा विद्यार्थीहरु जान्थे ।

योगेश भन्छन्, “यस कार्यमा स्कूलले लगाएकोमा म आफूलाई भाग्यमानी सम्झिन्छु ।”

वरिष्ठ कलाकार योगेशले अर्को एउटा प्रसंग उप्काए । २०१४ सालको कुरा हो । चीनका नेता चाउ एन लाइ नेपालको भ्रमणमा आएका थिए । त्यसै बेला नेता चाउ शान्ति निकुन्ज स्कूलको अबलोकनका लागि स्कूलमा आएका थिए ।  त्यतिबेला नेता चाउका लागि एउटा स्वागत गान तयार पारिएको थियो । यो समूह गान थियो । तर पनि मूल आवाज योगशले नै दिएका थिए । आज पनि त्यो क्षणले योगेशलाई आफू सम्मानित भएको महसुस हुन्छ ।

०००
वरिष्ठ गायक योगेश बैद्यको मूल थाँतथलो हो, पशुपति जयवागेश्वरी । पछि कोही जयवागेश्वरीमा नै बसे । योगेशको पिता पुर्खा जयवागेश्वरीबाट बसाई सरेर नरदेवी पुग्यो । ति मध्ये पनि कोही किलागल त कोही स्वयम्भू गएर बसे ।  उनको बाल्यकाल नरदेवीमै बित्यो । नरदेवीमा आज घर छैन । तर घर छैन भन्दैमा उनको मन मान्दैन । आज पनि नरदेवीको ओजले हमेसा तानीरहेको हुन्छ उनलाई । 

उनी भन्छन्, “जबसम्म हाम्रो स्मरणमा त्यो ताजा रहन्छ, तबसम्म नरदेवी जीवन्त रहन्छ भन्ने मलाई लाग्छ । तपाईलाई आश्चर्य लाग्ला म आज पनि नरदेवीकै घरको सपना देख्छु । जबकी ४० वर्ष बितिसक्यो म टेकुमा सरेको । तर पनि मेरो मनमष्तिष्कमा नरदेवी नै छ ।”

नरदेवी उनको मनमा नमेटिने गरी बसेको छ । मानिस भित्रको बुझ्न नसकिने भावना, समवेदना र सदभावले मानिसलाई जहिले पनि आफ्नो बाल्यकालिन अवस्थामा पुर्‍याई रहने योगेशको तर्क छ । योगेशका अनुसार बाल्यकालिन सम्झनाहरु जीवनलाई रसिलो बनाउने माध्यम भएको छ । उनलाई आज पनि बाल्यकालका कैयन घटना सम्झना आउँछ । उनको भनाई अनुसार उनको बाल्यकाल आज पनि उनीसंगै छ । तरोताजा छ । 

उनी फेरि पनि बाल्यकालका कुरा स्मरण गर्छन् । उनी भन्छन्, “भनिन्छ बाल्यकालका सन्दर्भ जसले बिस्र्यो, त्यसले आफ्नो अस्तित्वलाई बिर्सेको हुन्छ । म यसमा पुरापुर विश्वास गर्छु । त्यसैले मैले भनेको हुँ, मेरो बाल्यकाल मसँग टाँसिएको र गाँसिएको छ ।”
उनको ठूलो संयुक्त परिवार थियो नरदेवीमा । हजुरबुबा र हजुरआमाको सानिध्यमा उनको बाल्यकाल बित्यो । बुबाआमा काकाकाकी सबै एकै ठाउँमा थिए । करिब तीस जनाको परिवार थियो । 

उनलाई आज पनि सम्झना छ, बिहान १० बजेदेखि खाना खुवाउन बसेकी उनकी आमाले बिहानको भान्छा उठाउँदा दिउँसोको ४ बज्थ्यो । र पनि, आफ्नी आमाको अनुहारमा अलिकति पनि पीडाका रेखा उनले कहिल्यै फेला पारेनन् । उनीहरु दुईजना दाजुभाइ र छ जना दिदी बहिनी थिए । अर्थात् उनका पिता माताका आठ जना सन्तान थिए ।

उनको पढाई मरुटोल, भगवतीबहाल स्थित शान्ति निकुन्ज स्कूलबाट सुरुभयो ।  त्यो पहिलो सह–विद्यालय (को–एजुकेसन स्कूल) थियो । उनले त्यहीँबाट वि.सं. २०१६ सालमा एसएलसी पास गरे ।  प्रारम्भमा तीन कक्षामा भर्ना भएका योगेशले गीत गाउँदै, पढ्दै एसएलसी गरे । सुरुआत ताका उनले संस्कृत पनि पढे । संस्कृत पढाउँदा गुरुले बडो रमाईलो गरि पढाउँने गर्थे ।

०००

एसएलसी सकिएपछि उनी तत्कालिन पब्लिक साईन्स कलेजमा आइएससी पढ्न भर्ना भए । पछि त्यो कलेजको नाम अमृत साईन्स कलेज राखियो । त्यस कलेजको सारा व्यवस्थापकीय परिवर्तन अमृतप्रसादले गरेकोले पछि त्यसको नाम अमृत साइन्स कलेज राखिएको उनी बताउँछन् । 

कलेजमा भर्ना हुँदा बिहान मात्रै क्लास थियो । प्रथम वर्ष उनले बिहानको कक्षामा पढे । दोस्रो वर्ष उनी दिउँसोको क्लासमा परे । यसरी एक वर्ष विहान, एक वर्ष दिउँसो पढेर उनले आइएससी सक्याए ।  यसका साथै उनको गीत संगीतको कला प्रस्तुत गर्ने काम छँदै थियो । योगेशले आफ्नो संगीत कला साथीहरुका सामु जहिले पनि प्रस्तुत गरे । 

 

उनी भन्छन् “जहाँजहाँ गीत संगीतको गुन्जाईस थियो । त्यहाँत्यहाँ मेरो संगीतले विकास हुने मौका पायो । बीएससी गर्दा पनि मैले गायनलाई अगाडि बढाएको नै हुँ ।”

त्यसबेला नेपालकै पहिलो रेडियो स्टेसन “रेडियो नेपाल” उचाईमा थियो । आजको भाषामा बोल्ने हो भने “टीआरपी हाई” थियो भन्दा हुन्छ । धेरै जसो मानिस रेडियो नेपाल नै सुन्थे । नातिकाजी, शिवशंकरलगायतका संगीतकर्मी अधिकांश नेपालीका आइडल नै बनेका थिए ।

रेडियो नेपाल बाहेक अरु सुन्नु परे विविध भारती र रेडियो सिलोन सुन्थे स्रोताहरु ।

त्यही ताका उनी गायक भएर रेडियो नेपालमा भित्रिए । यो २०२२ सालको प्रसंग हो । उनले रेडियो नेपालमा स्वर परीक्षा दिए । पास भए । र एक दुईवटा गीत पनि गाए । 

योगेश बैद्यले पहिलो गीत नेपाल भाषामा गाए । रेडियो नेपालमा “जीवन दवु” नेपाल भाषाको कार्यक्रम थियो । त्यो कार्यक्रम पछि “ब्यान” भयो । राम्रो चलिरहेको रेडियो कार्यक्रम थियो त्यो । तर कसको जोरबलले हो,  कार्यक्रम बन्द गरियो । 

खासमा काठमाडौंका नेवारहरुका लागि तयार गरिएको कार्यक्रम थियो जीवन दवु । कार्यक्रम बन्द भएपछि रेकर्ड भएका नेपाल भाषाका सबै गीतहरु पनि हराए । योगेशले पनि करिब १२/१३ वटा गीत गाएका थिए । ती हराए । 

उनी भन्छन्, “त्यसको संरक्षण गर्नुपर्ने थियो सरोकारवालाहरुले । तर त्यो भएन । म यसलाई दुखद् घटना मान्छु ।” 

नेपाल भाषाको गीत सँगै उनको नेपाली भाषामा पनि एउटा गीत रेकर्ड भयो । 

कति प्यासी छ जिन्दगी, 
विधवाको सिउँदो जस्तो 

संगीत क्षेत्रका महारथी मानिने नातिकाजीले यस गीतमा उनले संगीत भरेका थिए । 

यो गीतले उनको चर्चा हुन थाल्यो । तर बीएससी सक्याएर एमएससी पढ्न सुरु गरेकोले उनले गीतभन्दा पढाईलाई महत्व दिए । केही वर्ष उनले विश्राम लिए । फलतः उनले दुई तीन वर्ष रेडियो नेपाल टेक्दै टेकेनन् । 

उनी भन्छन्, “एमएससी पास गरिसकेपछि मैले त्यही गीत फेरि रत्न रेकर्डिङ संस्थानबाट रि–रेकर्ड गराएँ ।”  एमएससी सकेपछि उनी सरकारी सेवामा प्रवेश गरे । केन्द्रिय खाद्य अनुसन्धानशालामा पोषण अधिकृतकारुपमा उनको जागिर सुरु भयो । 
जागिर खाद्य अनुसन्धानशालामा भए पनि उनको कार्यालय र रेडियो नेपाल सडक वारिपारि थिए । त्यसैले फूर्सद पायो कि उनी रेडियो नेपाल छिर्थे । र मौका मिल्ना साथ गीत गाउँथे । 

०००

गायक योगेश बैद्यका अनुसार कलाकारहरुको आवाज प्रसारण गर्ने एकमात्र माध्यम थियो रेडियो नेपाल । त्यसबेला आजको जस्तो आवाज विभाजित थिएन । एउटा मात्र रेडियो थियो । आज जस्तो सयौं एफएम स्टेशन थिएनन् । रेडियो नेपाल सबैको कानकानमा पुग्थ्यो ।
कलाकार बैद्य हाँसे । उनले भने, “त्यो बेला आवाज विभाजित थिएन । एकै ठाउँबाट गीत प्रसारण हुन्थ्यो । स्रोताले औधि गीत सुन्थे । त्यसैले पनि लोकप्रिय हुँदै गए हामीजस्ता कलाकारहरु । एउटा माध्यमबाट मात्रै जनतामा जाने भएकोले हामी कलाकारहरु जनताहरुको निकै नजिक थियौं ।”

योगेश बैद्यका अनुसार त्यसबेला सबै कलाकार मिल्थे । एकले अर्कालाई सहयोग गर्थे । सबैमा सहज र आत्मिय सम्वन्ध थियो । 

गीत गायन योगेशको रुचीको विषय रह्यो । उनले यसलाई कहिल्यै पेशा बनाएनन् । त्यसैले गीत गाउँदा उनले जहिले पनि गीतको शब्दमा ध्यान दिए । पेशा बनाएको भए जस्तो पायो उस्तै गीत गाउनु पथ्र्यो होला । तर, गीतमा उनी चुजी भए । गीत छान्दा विशेष ध्यान दिन्थे । फलतः उनको भागमा सँधै भावुक गीत पर्‍यो । उनलाई त्यस्तै गीत मन पर्दथ्यो पनि । पछि त्यो नै उनको पहिचान भयो । 

उनी भन्छन्, “त्यसबेला गीत राम्रो पाइन्थ्यो । त्यसबेलाका गीतकारमा काव्य चेत अत्यधिक थियो । गायकले पनि गीतको शब्द र त्यसको मर्मलाई गहिराईमा पुगेर बुझ्ने प्रयास गर्थे । संगीतकारले त झन त्यसको मर्म अनुरुप संगीत सिर्जना गर्थे । त्यसैले पनि गीत सर्बकालिक बन्थे । कालजयी बन्थे । मलाई लाग्छ गीतकारमा काव्य चेत हुनुपर्छ । अनिमात्रै गीत गीत बन्छ ।”

विस्तारै योगेश बैद्यको आफ्नै शैली बन्यो । उनको आवाज र उनले गाएको गीत जनताले मनपराउँदै गए । योगेशका अनुसार त्यसबेलाका कलाकारहरु मेहनती भएकोले पनि गीत मनपराईएको उनको तर्क छ ।
मेहनत गरेर खारिन्थे त्यसबेलाका कलाकार । तिनले गीत गाउँथेनन् । तिनले साधना गर्दथे । त्यही साधनाले कलाकारहरु सगरको उचाईमा पुग्थे । 

योगेशले मात्रै होइन्, हरेक कलाकारले साधना गर्दथे । एउटा गीतका लागि महिनौ अभ्यास गर्थे । गीती शब्दको गेडागेडामा अभिव्यक्त भावलाई केलाउँथे । त्यसको मर्म बुझ्थे । यसरी स्वर र सुरको साधनाले गीतलाई जीवन्त तुल्याउँथ्यो । 

उनले जति गीत गाए । सबै गीतमा उनी आफूले न्याय गरेको महसुस गर्छन् । २०४२ साल तिर रेकर्ड गरिएको उनको एउटा गीत “सपना भुलाई सारा” अति चर्चित भयो । तर महिनौ महिना गीतमा अभ्यास गर्ने योगेशले यो गीत दुई दिन भित्रै रेकर्ड गरे । यसका संगीतकार हुन नातिकाजी । 

यो गीतको कथा उनले सुनाए । उनी रेडियो नेपाल पुगे । संगीतका अथक साधक नातिकाजीको कोठामा पसे । उनी संगीतमा व्यस्त थिए । उनी त्यहीँ बसे । नातिकाजीको टेवलमा एउटा गीत लेखिएको कागजमा उनको आँखा पर्‍यो । त्यो गीत पढे । त्यसमा लेखिएको थियो, 

सपना भुलाई सारा आँशु पिएर जाउ,
मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाउ

यो गीतले उनलाई एकदमै छोयो । उनले अर्को कुनै गीतको संगीतमा व्यस्त नातिकाजीलाई भने “मलाई यो गीत मनपर्‍यो नातीदाइ । म गाउँछु ।”  नातिकाजीले पनि गीत पढे । गुनगुनाए । अलिअलि लय बनाउने प्रयास गरे ।  त्यस पछि नातिकाजीले योगेशलाई भोलिपल्ट आउन भने । अर्को दिन उनी जाँदा नातिकाजी रेकर्डिङ स्टूडियोमा थिए । नातिकाजीले उनलाई गीत तयार छ,  रिहर्सल गर्न भने । 

उनले पनि आठ दस पटक अभ्यास गरे । चार पाँच घण्टामा यो गीत बज्नलाई तयार थियो ।  उनी भन्छन्, “योे गीत मैले एकदमै चाँडै रेकर्ड गरेको गीत हो । कुनै कुनै गीत त मैले महिनौ अभ्यास गरेको छु । म गीत कन्ठस्थ पार्थे । सायद त्यसैले म गीतमा डुबेर त्यसको सारा भाव आवाजमा भर्न खोज्थेँ ।” 

यो गीत लेखेका थिए शिव अधिकारीले । तर गीत गाउने बेलामा गीतकारको नाम कागजमा थिएन । धेरै पछि मात्रै गीतकारको नाम थाहा पाइयो । योगेशले आफ्नो अति चर्चित गीतका गीतकारलाई धेरै पछि मात्रै भेट्ने मौका पाएका थिए । योगेश बैद्यले करिब साढे तीन सय भन्दा बढी गीत गाए । तर जति गाए सबैमा अथाह भावना भरिएको मात्रै गाउने प्रयास गरे । 

०००

उनको गायकी चल्दै गयो । उनको नाम र उनको गीतले पनि उँचाई लिँदै गयो । समय पायो की गीत गाउँथे ।  एक पटक उनले कवि ईश्वर बल्लभको गीत पनि गाए । शब्द थियो : 

धेरै भइसके की जीवनमा पीडा, 
फेरि आज के को खुशी याद आयो...

यो गीतका शब्दहरुले पनि उनलाई औधि छोयो । त्यसको मर्मले उनलाई गहिरोसंग हान्यो । उनले यो गीत गाउने कुरा गरेपछि नातीकाजीले पनि गीति भावको गहिराईसम्म पुगेर त्यसमा संगीत भरे । पीडाको गहिराईसम्मै संगीत पुगेको उनी महसुस गर्छन्, आज पनि । 

यो गीत रेकर्ड हुँदा उनको आँखाबाट बलीन्द्रधारा आँशु बगेर जाँदै थियो । उनी रोइरहेका थिए गीत गाउँदागाउँदै । र, गीत सकिँदा उनले शीतल भएको महसुस गरे । 

योगेश भन्छन्, “मेरो जीवनको, मेरो गायकीको क्षेत्रमा यो ठूलो अनुभूति हो । यो मलाई सँधै सम्झना भइरहन्छ । गीतको प्रभाव के हुन्छ भन्ने मलाई यही गीतको गायकीबाट आभाष भयो ।” 

उनी संगीतको गहिराईको पराकाष्ठामा पुगेका थिए । उनी ईश्वर बल्लभको गीतमा पुराका पुरा डुबेका थिए । यसरी उनी गीतमा डुबेनन् मात्रै होईन, आँशुले निथ्रुक्कै भिजे पनि । त्यसैले त्यो समयलाई, त्यो अवसरलाई उनी आफ्नो जीवनको सौभाग्यशाली समय मान्दछन् । 
०००
उनले कृषि मन्त्रालय अन्तरगतको खाद्य अनुसन्धानशालामा पोषण अधिकृतका रुपमा काम थालेपछि सरकारी सेवामा करिब ३३ वर्ष बिताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय