site stats
बाह्रखरी :: Baahrakhari
देश
टुँडिखेलका घाइतेमध्ये १५ जना ‘डिस्चार्ज’
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंको टुँडिखेलमा सोमबार दिउँसो माघी मनाउन गएकाहरूबीच भागदौडमा परेर घाइते भएका १६ मध्ये १५ जना उपचारपछि घर फर्किएका छन् । एकजनाको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

टुँडिखेलमा माघे सङ्क्रान्तिका अवसरमा मगर र थारू समुदायले आयोजना गरेको अलगअलग कार्यक्रममा सर्वसाधारणको अत्यधिक भीड रहेको थियो । भीडका कारण चेपिएर १६ जना घाइते हुन पुगेका र उपचारपछि १५ जना घर फर्किएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेल जानकारी दिए ।

Argakhachi Cement Island Ad

उनले भने, “सोमबार दिउँसो टुँडिखेलमा ठूलो संख्यामा थारू र मगर समुदाय भेला भएका थिए, अत्यधिक भीड हुँदा ठेलमठेलमा परेर १६ जना घाइते भएकामा र उचारपछि १५ जना ‘डिस्चार्ज’ भएका छन्, एकजना उदयपुर रौतामाई गाउँपालिका–८ घर भई हाल काठमाडौं मनमैजु बस्ने १४ वर्षीया करिश्मा मगरको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।” 

भागदौडमा घाइते हुनेमा १२ वर्षीया त्रिसना मगर, १२ वर्षीया अञ्जना तामाङ, १९ वर्षीया रेजिना घले, १६ वर्षीया निकिता मगर, ३० वर्षीया रेखा चौधरी र १६ वर्षीया अनिसा केसी छन् । यसैगरी, २५ वर्षीया कल्पना चौधरी, २२ वर्षीया मन्दिरा बस्नेत, ४० वर्षीया मीना थापा, १९ वर्षीया रिजा रेस्मी मगर, प्रहरी जवान पृथ्वी बुढामगर, २५ वर्षीया निशा राना थापा, २२ वर्षीया निर्मला श्रेष्ठ, २७ वर्षीया रश्मी नेपाल, ११ वर्षीया युनिका बराल र १४ वर्षीया करिश्मा मगर रहेको उनले बताए । महोत्सवमा पस्ने र निस्कनेबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएका थिए । रासस

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्