site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्दैन : बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने बताएका छन् । ताइवानको निर्वाचनमा स्वतन्त्रतावादी नेता राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनले यस्तो टिप्पणी गरेका हुन् ।

शनिबार विलियम लाइ ताइवानको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी सत्तारूढ डेमोर्क्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)का नेता हुन् । उनको जितसँगै डीपीपी ताइवानमा लगातार तेस्रो कार्यालयका निम्ति सत्तामा पुगेको हो ।

ताइवानको चुनावी नतिजाबारे प्रतिक्रिया दिँदै बाइडेनले शनिबार भने, “हामी (ताइवानको) स्वतन्त्रतालाई समर्थन गर्दैनौँ...।”

Argakhachi Cement Island Ad

अमेरिकाले सन् १९७९ मा ताइवानसँगको सम्बन्ध अन्त्य गर्दै चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो ।

अमेरिकाले ताइवानलाई स्वतन्त्र मुलुकका रूपमा समर्थन गर्दैन । तर, अमेरिकाले चीनविरुद्ध अडिग रहन समर्थन र ताइवानलाई रणनीतिक एवं सैन्य सहयोग उपलब्ध गराउँदै आएको छ ।

उता, बेइजिङले ताइवानसँगको पुनर्मिलनका निम्ति सैन्य बल समेत प्रयोग गर्ने जनाइसकेको छ ।

बाइडेनले यसअघि चीनले ताइवानमाथि आक्रमण गरे रक्षा गर्न अमेरिका अघि सर्ने बताएका थिए । तर, शनिबार उनले बेइजिङलाई आश्वस्त पार्ने किसिमको टिप्पणी गरेका हुन् ।

लाइ राष्ट्रपतिमा विजयी भएलगत्तै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बधाई दिएका थिए । प्रतिक्रियास्वरूप चीनले अमेरिकाले गल्ती गरेको टिप्पणी गरेको छ ।

सन् २०१६ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानकी राष्ट्रपति साई इङ वेनसँग फोनवार्ता गरेका थिए ।

१९७९ मा तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले ताइवानसित अन्त्य गर्दै चीनलाई कूटनीतिक मान्यता दिएका थिए । त्यसयता ताइवानका राष्ट्रपतिसँग कुरा गर्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति थिए । चीनले त्यसबारे कडा विरोध गरेको थियो । रोयटर्सबाट ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्