site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हलमा ‘सुपर फ्ल्प’ सिनेमालाई युट्युबमा मिलियन भ्युज कसरी ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । वि.सं. २०७९ मा नेपाली चलचित्र उद्योगमा ५७ सिनेमा रिलिज गरिए । ५७ चलचित्र हेर्न सिनेमा हलमा २७ लाख १६ हजार २१७ टिकट बिक्री भए । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकानुसार २१ करोड ३८ लाख १३ हजार रुपैयाँ ग्रस कलेक्सन गर्दा ‘कबड्डी–४’ का सात लाख ६६ हजार ७०० टिकट बिक्री भएको थियो । तथ्यांकानुसार ‘कबड्डी–४’ वर्षकै सबैभन्दा धेरै कमाउने नेपाली सिनेमा बनेको थियो ।

वर्षकै सबैभन्दा धेरै हेरिने चलचित्रको सात साख ६६ हजार टिकट बिक्री भएको पाइयो । यो तथ्यांकले सिनेमाका दर्शक उलेख्य नरहेको स्पष्ट संकेत गर्छ । न्यून संख्यामा रहेका दर्शकले मात्र सिनेमा हेर्ने गरेको टिकट बिक्रीले पुष्टि गर्छ । 

हलमा रुचाइएका मात्रै होइन नराम्रा भनिएका सिनेमाको पनि युट्युबमा लोभलाग्दो भ्युज देखिन्छ । हलमा दर्शक कम जानुका पछाडि अनेक कारण रहेको चलचित्रकर्मीले बताएका छन् । ओटीटी प्लेटफर्मका प्रयोगकर्ता बढ्नु, सिनेम्याटिक फिल दिने चलचित्र कम बन्नु, उचित पब्लिसिटी डिजाइन नहुनु आदि हलमा दर्शक कम हुनुको कारण रहेको चलचित्रर्की प्रियंका कार्की, प्रदीप खड्का र प्रमोद अग्रहरिको तर्क छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

टिकट काटेर हलमा सिनेमा हेर्ने दर्शकको संख्या उल्लेख्य छैन । तर, युट्युबमा नेपाली सिनेमाको भ्युज प्रशस्तै छ । सात वर्षअगाडि युट्युबमा अपलोड गरिएको चलचित्र ‘प्रेम गीत’ हेर्ने दर्शकको संख्या निकै उच्च देखिन्छ । युट्युबमा ३१ मिलियन अर्थात् तीन करोड १० लाखपटक ‘प्रेम गीत’ हेरिएको छ ।

यो तथ्यांकले नेपाली सिनेमाका दर्शक कम नरहेको पुष्टि गर्छ । “नेपाली सिनेमा युट्युबमा अपलोड गर्नेबित्तिकै मिलियनमा भ्युज जान्छ । युट्युबमा सिनेमा हेर्ने दर्शक त नेपाली नै हुन्,” अभिनेता प्रमोद अग्रहरि भन्छन्, “यसले नेपाली सिनेमामा दर्शक छन्, तर केही मिलिरहेको छैन भन्ने पुष्टि गर्छ ।”

Royal Enfield Island Ad

३१ मिलियनको २५ प्रतिशतले मात्र हलमा चलचित्र हेरे अहिले नेपाली सिनेमाले वार्षिक रूपमा गर्ने कलेक्सनको तीन गुणाभन्दा बढी हुन्छ । तर, यति कलेक्सन गर्न करिब तीन वर्ष कुर्नुपर्ने अवस्था छ ।

“नेपाली सिनेमा रुचाउने दर्शक हुनुहुन्छ । समस्या हामीमै छ कि भन्ने लाग्छ । हामी आफ्नो कमजोरी स्वीकार्न तयार हुँदैनौँ,” प्रमोद भन्छन्, “प्रोडकको रूपमा जसरी सिनेमा बेच्नुपर्ने हो, आमजनतामा पुर्‍याउनुपर्ने हो, त्यो काम गरिरहेका छैनौँ ।”

चलचित्रको प्रचार जुन तरिकाले गरिनुपर्ने थियो, त्यो हुन नसकेको उनको भनाइ छ । नेपाली चलचित्र आफैँमा मेकिङमा कमजोर हुने र प्रचारप्रसार पनि राम्रो नहुने उनको अनुभव छ ।

“केही सहरलाई बिर्सिदिने हो भने बाँकी ठाउँमा नेपाली सिनेमा छ भन्ने नै थाहा छैन जस्तो लाग्छ । प्रोमोसन भयो भने काठमाडौं, पोखरा, विराटनगर, चितवनमा हुन्छ,” प्रमोद अगाडि थप्छन्, “बुटवल, नेपालगन्जमा नै प्रोमोसन हुँदैन । समाचारको भरमा मात्रै दर्शक हलमा जानु हुन्न ।” सिनेमा बनाइसकेपछि देशभरका दर्शकमाझ प्रचारप्रसार गर्नुपर्नेमा उनको जोड छ । यसमा प्रोडक्सन युनिट चुकिरहेको उनको ठम्याइ छ ।

पब्लिसिटीको नयाँ तौरतरिका आवश्यक रहेको उनी औँल्याउँछन् । हरेक सिनेमा फरक–फरक हुने र त्यहीअनुसारको पब्लिसिटी गर्नुपर्ने उनी बताउँछन् । “हरेक सिनेमाको मार्केटिङको स्टाटेजी आफ्नै हुनसक्छ । सबै फिल्म एउटै हुँदैन,” उनी भन्छन्, “मेरो सिनेमाले के बेच्ने भन्ने हुनुपर्छ । त्यहीअनुसारको रणनीति बनाएर पब्लिसिटी गर्नुपर्छ ।”

सिनेमा फ्लोरमा जानुअगाडि नै मार्केटिङको टिम बसेर पब्लिसिटीको रणनीति बनाउन आवश्यक रहेकामा उनको जोड छ । सिनेमाको लक्षित ग्रुप स्पष्ट गरेर अगाडि बढ्नुपर्ने उनको धारणा छ ।

नेपालमा निर्माता/लगानीकर्ताले नै सिनेमाको पब्लिसिटी गरिरहेको भन्दै उनी अगाडि थप्छन्, “हरेक निर्मातासँग मार्केटिङको ज्ञान हुन्छ भन्ने छैन । वास्तवमा पब्लिसिटी निर्माताको कार्यक्षेत्र पनि होइन ।”

सिनेमामा ‘गुदी’ नै नहुनु पनि दर्शक हलमा नआउनुको अर्को कारण भएको प्रमोदको बुझाइ छ । मेकर हलमा सिनेमा नआउन्जेल ठूलाठूला कुरा गर्ने तर चलचित्र हेर्न जाँदा त्यसमा ‘पावर’ नै नहुने उनको भनाइ छ ।

मेकरलाई सिनेमा ल्याउन हतार हुनु पनि दर्शक हलमा नजानुको अर्को कारण भएको उनको तर्क छ । जसले फुर्सदले आफ्नो चलचित्रमा काम गरिरहेका छन्, ती मेकरका सिनेमा चलिरहेको उनी सुनाउँछन् । 

“नेपाली सिनेमाको बजार करिब ३५ करोडको पुगेको देखिएको छ । तर, हामी मिहिनेत चार रुपैयाँको गरेर आठ रुपैयाँको प्रतिफल गरिरहेका छौँ, जुन सम्भव छैन,” प्रमोद भन्छन् ।

पहिलाको तुलनामा दर्शकको संख्या बढे पनि अपेक्षित विकास नभएको अभिनेता प्रदीप खड्का बताउँछन् । यसका पछाडि अनेक कारण रहेको उनको बुझाइ छ । हलमा जाने दर्शकको संख्या कम रहेको उनी सुनाउँछन् । मनोरञ्जनको विकल्प धेरै हुनु हलमा दर्शक कम जानुको कारण भएको प्रदीपको तर्क छ ।

“टेलिभिजन, इन्टरनेट, युट्युब नहुँदा मनोरञ्जनको विकल्प थिएन । अहिले अप्सन धेरै भए,” प्रदीप स्पष्ट पार्छन् ।

अहिले दर्शक सचेत पनि रहेको उनी बताउँछन् । टिजर र ट्रेलर हेरेरै कुन सिनेमा कस्तो होला भनेर दर्शकले अनुमान लगाउन सक्ने प्रदीप बताउँछन् । त्यसैले कुन सिनेमा हेर्ने र नहेर्ने पहिल्यै दर्शकले निर्णय गर्न थालेको उनको भनाइ छ ।

“जति हलमा गइरहनुभएको छ, आउट अफ इमोसन र सेम्पेथीका कारण गइरहनुभएको छ,” प्रदीप भन्छन् ।

नेपाली सिनेमामा दर्शक कम हुनुको कारण प्रतिस्पर्धा पनि अर्को पक्ष भएको उनको बुझाइ छ । सिनेमा कस्तो छ, त्यसले दर्शकको संख्या निर्धारण गर्ने उनी बताउँछन् ।

“प्रोडकको भ्यालु पनि हुन्छ । तीन सय रुपैयाँमा ‘मिसन इम्पोसिबल’ हेर्ने, बलिउड सिनेमा हेर्ने अथवा नेपाली सिनेमा हेर्ने भन्ने दर्शकलाई च्वाइस छ,” प्रदीप अगाडि थप्छन्, “मेरो तीन सय रुपैयाँको रिटर्न्स आयो कि आएन दर्शकले खोज्नुहुन्छ, स्वाभाविक पनि हो ।”

बलिउड र हलिउड सिनेमालाई लक्जरी प्रोडकमा राखेर त्यहीअनुसारको ट्याक्स लगाउन सकिने उनको धारणा छ । “त्यसो हो भने तीन करोडमा बनाएको सिनेमा तीन सयमा हेर्न सकियो । तीन सय करोडमा बनाएको सिनेमालाई हजार रुपैयाँ तिर्न सकिन्छ,” प्रदीप भन्छन्, “हामीले पोलेसीमा काम गर्न सकेका छैनौँ । हिन्दी सिनेमा हजार रुपैयाँ तिरेर हेर्नुको सट्टा तीन सय रुपैयाँमा नेपाली सिनेमा हेर्ने दर्शकको संख्या स्वतः धेरै हुन्छ ।”

अहिले विकल्प नै धेरै, त्यसमाथि हलमा पुग्दा पाँच सिनेमा एउटै मूल्यमा ‘च्वाइस’मा रहेको प्रदीप बताउँछन् । एउटै मूल्यको टिकटमा प्रोडक्सन भ्यालु बढी भएकै सिनेमा दर्शकको रोजाइमा पर्ने उनी बताउँछन् ।

अभिनेत्री प्रियंका कार्की सिनेम्याटिक फिल दिने सिनेमा नबन्नु हलमा दर्शकको संख्या अपेक्षित नबढ्नुको कारण भएको तर्क गर्छिन् । “सबैभन्दा पहिला त हलमै हेर्ने खालका सिनेमा बन्नुपर्छ । ‘पठान’, ‘जवान’जस्ता सिनेमाले किन आफ्नो देशबाहिरका हलमा पनि ५१औँ दिन मनाए भने ती सिनेम्याटिक फिल दिन सफल थिए,” प्रियंका भन्छिन्, “हलमा दर्शक लार्जर देन लाइफ सिनेमा नै हेर्न जाने हो, जुन हामीले आजसम्म कति बनाउन सकेका छौँ ?”

स्क्रिप्ट, कास्टिङ, एक्ज्युकेसनमै ठूलो समस्या हुने गरेको यथार्थ पनि हलमा उपस्थित हुने दर्शकको संख्यासँग जोडिने उनी बताउँछिन् ।

हलमा नचलेका चलचित्र युट्युबमा दिनमै १०औँ लाखले हेर्ने गरेको भन्दै उनी पब्लिसिटी पनि एउटा महत्त्वपूर्ण कारण भएको उल्लेख गर्छिन् । भारतका स्टार अभिनेताका सिनेमा पनि ठूलो स्केलमा पब्लिसिटी गर्ने गरिएको उनी स्मरण गर्छिन् ।

“शाहरुख खानले ३१ दिनको पब्लिसिटी प्लान गरेर प्रोमोसन गरेको समाचार मैले पढिरहेको थिएँ,” प्रियंका भन्छिन्, “त्यो लेवलका कलाकारलाई त्यस्तो पब्लिसिटी चाहिन्छ र ! जस्तो लाग्छ । तर, आवश्यक भएरै गरिएको हो ।” नेपालमा पब्लिसिटीमा खासै धेरै महत्त्व नदिने गरेको उनको अनुभव छ ।

राम्रा सबै सिनेमा हलमा नचलेको प्रियंका सुनाउँछिन् । राम्रा सिनेमालाई पब्लिसिटी आवश्यक नहुने बताउने गरिए पनि त्यसमा सत्यता नरहेको उनी खुलाउँछिन् । “भन्न त धेरैले राम्रो सिनेमा आफैँ चल्छ, किन पब्लिसिटी चाहियो भन्ने गरिन्छ, तर त्यो होइन,” प्रियंका अगाडि थप्छिन्, “पब्लिसिटीबिना राम्रा सिनेमा पनि हलमा चल्दैनन् । यस्ता थुप्रै उदाहरण हामी आफैँले देखे/भोगेका छौँ ।”

युट्युबमा राम्रा भनेर हेरिएका कतिपय सिनेमा पब्लिसिटी अभावकै कारण हलमा नचलेको उनको तर्क छ ।

नेपालमा सिनेमाको प्रोपर प्रोडुसर कमै रहेको उनको अनुभव छ । प्रोडुसर र इन्भेस्टरको जिम्मेवारी फरक हुने गरेको तर नेपालमा इन्भेस्टरलाई प्रोडुसर भन्ने गरिएको उनको भनाइ छ ।

अधिकांश इन्भेस्टर हुने गरेको र उनीहरूको पृष्ठभूमि सिनेमा नहुने प्रियंका बताउँछिन् । “केही पैसा कमाएपछि नामका लागि सिनेमामा लगानी गरौँ भन्ने चलन छ,” उनी भन्छिन्, “दुई/तीनजना मिलेर लगानी गर्‍यो । प्रिमियरमा कलाकारसँग भेट हुन्छ, नाम आउँछ भन्ने लोभ देखिन्छ । यो पृष्ठभूमिबाट आएकाहरूबाट प्रोडुसरको काम हुँदैन ।”

मौलाउँदै गएको डिजिटल प्लेटमर्फ पनि अर्को कारण रहेको उनको बुझाइ छ । अहिले धेरैले इन्टरनेसनल डिजिटल प्लेटफर्म प्रयोग गर्ने र त्यसमा सस्तोमा राम्रा सिनेमा हेर्न सकिने प्रियंका बताउँछिन् । “कोभिडपछि धेरैले आफ्नै घरमा सिनेमा हेर्ने सेटअप गर्नुभएको छ,” उनी भन्छिन्, “त्यसैले ठूलो पर्दामा हेर्ने लार्जर देन लाइफ सिनेमाको आवश्यक छ ।”

युट्युबमा करिबकरिब बिनाशुल्क सिनेमा हेर्न पाउने भएकाले पनि दर्शक हलमा नजाने गरेको उनी बताउँछिन् । हलमा हेर्न लालायित बनाउने खालको सिनेमा बनाउन आवश्यक रहेकामा प्रियंका जोड दिन्छिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  ०७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro